जिविस अब समन्वय समिति



हेटौंडा,(नेस)÷जिल्ला विकास समिति मकवानपुरको काम सोमबाराट समन्वय समितिमा सीमित भएको छ । पहिले जिल्लाभरको विकास योजनाका काम गर्दै आएको जिविसले ब्यवहारिक रुपमा समन्वय समितिको काम सुरु गरेको हो ।

कार्यालयले आफ्नो बोर्ड, लेटरप्याड, छापसमेत परिवर्तन गरेर समन्वय समिति लेखेको जिल्ला समन्वय समिति मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बताए । बोर्डमा जिल्ला समन्वय समिति मकवानपुर–२०७३ लेखिएको छ । स्थानीय विकास मन्त्रालयले आफ्नो संरचना परिवर्तन गरेर संघीयतामा जाने कार्यक्रमअनुसार जिविस कार्यालयले बोर्ड परिवर्तन गरेर समन्वय समिति लेखेसँगै उसका धेरै कामकारबाही परिवर्तन भएका छन् ।

चालु आर्थिक वर्षमा गर्ने विकास निर्माण कामहरु समन्वय समितिबाट गरिने र आउँदा वर्षका काम भने नगरपालिका र गाउँपालिकाबाट हुनेछन् ।

स्थानीय तह पुनर्संरचना आयोगको निर्णयअनुसार गत २६ गते स्थानीय तह विघटन गरी शनिबार र होलीको बिदा परेकाले नाम परिवर्तन गरिएको जिल्ला सम्नवय समिति मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले बताए । जिविससँगै गाउँपालिकाको नाम पनि परिवर्तन गर्न सर्कुलर गरिएको स्थानीय विकास अधिकारी मैनालीले बताए ।

जिल्ला विकास समितिको नाम परिवर्तनसँगै स्थानीय तह पुनर्संरचना आयोगले हेटौंडा उपमहानगरपालिकामा १९ वडा कायम गरेको छ । २९ वडालाई एकीकरण गरेर नयाँ संरचनाअनुसार १९ वडा बनाइएको हो । हेटौंडा उपमहानगरमा १९ र थाहा नगरमा १२ वडा कायम गरिएको छ ।

हेटांैडा उपमहानगरमा साविक हेटौंडा नगरपालिका, बसामाडी, पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडी गाविस समावेश छन् । जसको जनसंख्या १ लाख ५२ हजार ८ सय ७५ छ भने क्षेत्रफल २६१.५९ वर्ग किलामिटर छ । हेटौडा उपमहानगरपालिकामा २५ मावि र क्याम्पस, १५ स्वास्थ्य संस्था, २ कृषि सेवा केन्द्र, ४ पशुसेवा केन्द्र रहेको योजना अधिकृत न्यौपानेले जानकारी दिए ।

थाहा नगरमा थाहा नगरपालिका, आग्रा, चित्लाङ र टिष्टुङ गाविस समावेश गरिएको छ । जसको जनसंख्या ४१ हजार ६ सय २३ छ भने क्षेत्रफल १९१.१२ वर्ग किलामिटर छ । थाहानगरमा १२ मावि र क्याम्पस, ४ स्वास्थ्य संस्था, १ कृषि सेवा केन्द्र, २ पशुसेवा केन्द्र छन् । आयोगले मकवानपुरमा ८ गाँउँपालिका बनाएको छ ।

नयाँ गाउँपालिकामा कैलाश, बकैया, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ, इन्द्रसरोवर र बाग्मती छन् । जसमा ज्येष्ठताका आधारमा अधिकृत तोकिसकिएको जिल्ला समन्वय समिति मकवानपुरका योजना अधिकृत न्यौपानेले बताए ।

मकवानपुरको आठवटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर नियुक्ति दिइएको छ । ८ गाउँपालिकामा सोमबार नियुक्ति दिइएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।

आठ गाउँपालिका निमित्त प्रमुखमा बाग्मतीमा शुकराम राई, बकैयामा ताराप्रसाद आचार्य, भीमफेदीमा विश्वराज लामा, मकवानपुरगढीमा युवराज पौड्याल, मनहरीमा मीनराज कोइराला, राक्सिराङमा चुननारायण श्रेष्ठ, कैलाशमा मनोज लामिछाने र इन्द्रसरोवर गाउँपालिकामा राजकुमार सुवेदीलाई जिम्मेवारी दिइएको छ । निमित्त कार्यकारी अधिकृतहरु आफ्नो कार्यक्षेत्रतर्फ लागेका छन् ।

तत्काल सरकारले कर्मचारी नपठाउन्जेल सम्मका लागि तत्कालीन गाबिस कार्यालयलाई संयुक्त वडा कार्यालय एउटै बनाएर काम गर्ने र भएका कर्मचारीले काम गर्ने तयारी भएको मैनालीले बताउनुभयो । हाल जिल्ला समन्वय समितिमा काम गरेका कर्मचारीलाई काजमा गाउँपालिकामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्