एसईईका लागि मकवानपुरमा २४ केन्द्र



हेटौंडा,(नेस)÷चैत ३ गतेबाट सञ्चालन हुने विद्यालय शिक्षा परीक्षा (एसईई) का लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरले २४ वटा केन्द्र निर्धारण गरेको छ । एसईईमा ६ हजार ७ सय ७४ विद्यार्थी सहभागी हुन योग्य रहेको जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी हुमनाथ शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार नियमिततर्फ ६ हजार ३ सय १३ विद्यार्थी एसईईमा सहभागी हुन पाउनेछन् । ६ हजार ७ सय ७४ विद्यार्थीमध्ये ६ हजार ३ सय १३ विद्यार्थी नियमित रहेको उहाँले जानकारी दिनुभयो । एसईईमा ४२ जना प्राविधिक विषयका विद्यार्थी सहभागी हुँदैछन् । २ सय ६१ विद्यार्थी एसईईमा सहभागी हुन अयोग्य रहेको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ ।

विद्यालयमा विद्यार्थीको उपस्थिति, अुनशासन, आन्तरिक परीक्षामा सहभागिता लगायत आधारमा विद्यार्थीलाई अयोग्य ठानिएको कार्यालयले उल्लेख गरेको छ । विद्यालयले नै विद्यार्थी अयोग्य छानेर पठाउने व्यवस्था रहेको बताइएको छ । सहायक जिल्ला शिक्षा अधिकारी शर्माले भन्नुभयो–गत वर्ष भन्दा यस वर्ष फरक तरिकाबाट परीक्षा हुन्छ । गत वर्षहरुमा नियमित र आंशिकरुपमा परीक्षा सञ्चालन हुन्थ्यो । यस वर्षबाट नियमित, एक्जाम्प्टेड र आंशिक गरी ३ प्रकारका परीक्षा हुन्छ ।

अघिल्लो वर्षका विद्यार्थीहरु यस वर्ष एसईई परीक्षाका सबै विषयको परीक्षा दिने विद्यार्थीलाई एक्जाम्प्टेड र ग्रेड वृद्धिका लागि थोरै मात्र विषयको परीक्षा दिने विद्यार्थीलाई आंशिक परीक्षार्थीको रुपमा राखिएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । उहाँले आंशिक परीक्षामा सहभागी हुने भनेको ग्रेड वृद्धिको लागि भएको बतायनुभयो । एक्जाम्प्टेड परीक्षामा सबै विषयको परीक्षा दिनुपर्छ । यस वर्ष एक्जाम्प्टेडतर्फ १ सय ४ विद्यार्थी र अँंशिकतर्फ ३ सय ५७ विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।

साधारणतर्फको परीक्षा चैत ३ गतेबाट सुरु भएर चैत ११ गते सकिन्छ । प्राविधिकतर्फको परीक्षा चैत १४ गते सकिने कार्यालयले जनाएको छ । चैत १३ गतेबाट कक्षा ८ को परीक्षा सञ्चालन हुने मकवानपुरले जनाएको छ । कक्षा ८ को परीक्षा सम्बन्धित विद्यालयमा सञ्चालन गरिने सहायक जिशिअ शर्माले जानकारी दिनुभयो ।

यसवर्षको कक्षा ८ को परीक्षा २ सय १२ वटा विद्यालयले सञ्चालन गर्ने उहाँले बताउनुभयो । कक्षा ८ को परीक्षा चैत २२ गते सकिने छ । एसईई परीक्षा र कक्षा ८ को परीक्षाको सम्पूर्ण तयारी सकिएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्