पुनर्निर्माणमा विश्व बैंकले थप सहयोग गर्ने



काठमाडौं, (नेस)
भूकम्पपछिको पुनर्निर्माणका लागि विश्व बैंकले नेपाललाई थप सहयोग गर्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्र्राडा गोविन्दराज पोखरेल र नेपालमा भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक एन्डिन ह्याडियान्तोबीच सोमबार भएको भेटवार्तामा विश्व बैंकले थप सहयोगको प्रतिबद्धता जनाएको हो।

भेटमा कार्यकारी निर्देशक ह्याडियान्तोले असल विकास साझेदार संस्थाका रूपमा विश्व बैंक नेपालको विकासमा निकट सहयोगीका रूपमा काम गर्दै आएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताउनुभयो। उहाँले पुनर्निर्माणमा देखिएका चुनौतीबारे जिज्ञासा राख्दै विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी सयन्त्रबीच थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो। सो क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा पोखरेलले पुनर्निर्माणमा देखिएका चुनौतीलाई सामना गर्न विकास साझेदार संस्थाको पनि महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। पोखरेलले भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासँग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो। ह्याडियान्तोले अन्य केही मुलुकको उदाहरण दिँदै नेपालमा सञ्चालन हुने गरेका विकास परियोजनाको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो।

‘उहाँले पुनर्निर्माणको कुन क्षेत्रमा बढी सहयोग आवश्यक छ भन्ने जिज्ञासा राख्नुभयो भने मैले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव र पुनर्निर्माणपछि जनताको जीविकोपार्जन र आर्थिक समृद्धिका लागि सिप विकास र क्षमता विस्तार गर्ने कुरालाई जोड दिए प्रमुख कार्यकारी अधिकृत पोखरेलले भन्नुभयो। पोखरेलले सरकारी संयन्त्रमा हुने गरेका विभिन्न प्रक्रियागत कठिनाईले पुनर्निर्माणको काममा पनि ढिलाई भएकोप्रति समेत उहाँले चासो राखेको बताउनुभयो। कार्यकारी निर्देशक ह्याडियान्तोले पुनर्निर्माण कोष कार्यान्वयनमा भइरहेको ढिलाईप्रति समेत चासो राख्नुभएको थियो।

त्यस्तै एन्डिन हडियान्तोले देशको आर्थिक स्थिति, लगानीयोग्य क्षेत्रको पहिचान, लगानी सुरक्षा चुनौतीलगायत विषयमा राष्ट्रिय योजना आयोगको भूमिकाको विषय चाँसो देखाउनुभएको छ। सोमबार नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसंँग भएका भेटघाटका क्रममा निर्देशक हडियान्ताले उक्त विषयमा चासो देखाउनुभएको थियो।

भेटघाटका क्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको आर्थिक अवस्था, विभिन्न ठूला योजनाको वर्तमान स्थिति, दीर्घकालीन परियोजनालगायत पूर्वाधार निर्माणमा विश्व बैंकले गरेको सहयोग र लगानीलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ।

भेटघाटका क्रममा उपाध्यक्ष डा. श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, सन् २०२२ सम्ममा विकासोन्मुखबाट विकासशील मुलुकमा लैजाने लक्ष्य रहेको, निजी क्षेत्रले उत्साहपूर्वक लगानी गरिरहेको बताउनभुयो। स्थानीय चुनावपछि राजनीतिक सुधार र आर्थिक विकासमा पनि सकारात्मक सुधार हुने जानकारी गराउनुभएको थियो। उपाध्यक्ष श्रेष्ठले चौधौं योजना कार्यान्वयनका क्रममा रहेको र सन् २०३० सम्मका लागि दीर्घकालीन योजना आफूसँग रहेकोले विश्व बैंकलगायतका विकासका साझेदार संस्थाबाट लगानीको अपेक्षा गरेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्