मकवानपुर सर्पगन्धाको पकेट क्षेत्र



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरलाई सर्पगन्धा जडिबुटी खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारीस्वरूप पश्चिमी गाविस मनहरिमा खेतीको तयारी थालिएको छ।

जिल्ला वनस्पति कार्यालय मकवानपुरले मनहरी–३ स्थित पशुपति सामुदायिक वन क्षेत्रको हाइटेन्सन लाइनमुनिका क्षेत्रमा सर्पगन्धा खेती तयारी थालेको हो।

प्रारम्भिक चरणमा सामुदायिक वनसँगको सम्झौतामा करिब दुई हेक्टर क्षेत्रफल छनोट गरी माटो तयारीको काम थालिएको कार्यालय प्रमुख नरहरि चापागाईंले जानकारी दिए।

पशुपति सावउस अध्यक्ष रघुनाथ लामाका अनुसार बन समूहमा रहेका उपभोक्तामध्ये २३⁄२३ जनाको सात वटा समूह निर्माण गरेर सबै समूहमा गरी हाल ५० हजार बिरुवा रोप्ने काम थालनी भएको छ। उक्त रक्तचाप र सर्पले डसेको निको पार्ने औषधिका रूपमा प्रयोग हुने सर्पगन्धाको अन्य थुप्रै औषधीय गुण हुने प्रमुख चापागाईंले बताए।

घाँस खेतीभित्र मिश्रितरूपमा लगाउन सकिने र पूर्वपश्चिम राजमार्गनजिक रहेकाले देशभरि बिरुवा र उत्पादित जडिबुटी पुर्याउन सहज हुने हुँदा पशुपति सामुदायिक वनमा नमुनाका रूपमा खेती शुरू गरिएको चापागाईंले बताए। ‘मकवानपुरको हावापानीअनुसार सर्पगन्धा खेती अत्यन्त उपयोगी छ, त्यसैले सर्पगन्धा खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ’ –वनस्पति कार्यालयका प्रमुख चापागाईंले रोपिएको दुई वर्षभित्र उत्पादन लिन सकिने हुँदा विपन्न समुदायहरूको बाहुल्य रहेको सामुदायिक वनबाट उपभोक्ताले राम्रो आयआर्जन गर्न सक्ने बताए।

पशुपति सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष लामाले आफ्नो सामुदायिक वन क्षेत्रबाट विद्युत्का हाइटेन्सन लाइन धेरै गएकाले सोही लाइनमुनि मात्र रोप्दा पनि वनको आयआर्जन वृद्धि हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्