स्वास्थ्य बीमाः अमेरिका र नेपालको तुलना



भगवती तिमल्सिना
स्वास्थ्य बीमाका कुरा सुनीरहदा नेपाली जनतालाई लाग्न सक्छ, सरकारले निःशुल्क दिने भनेको औषधि जस्तै होला आवश्यक पर्दा नपाउने प्रचार गरेर नेता र मन्त्री नथाक्ने। वास्तवमै स्वास्थ्य बीमा जसरी स्वास्थ्य मन्त्री गगन कुमार थापाले हलुका रूपमा सोचिरहनु भएकोछ र प्रचारमा ल्याईरहनुभएको छ व्यवहारिक रूपमा त्यति सजिलो छैन, निकै कठीन छ। गरे के हुन्न अवश्य सकिन्छ तर यसको लागि सबै दल, नेता, नागरिक समाज, व्यापारी ,व्यवसायी, अस्पताल संचालक, स्वास्थ्यकर्मी, चिकित्सक, बीमा कम्पनी र आम जनताको प्रतिवद्धता हुनुपर्छ। यसका लागि निकै तयारी गर्नुपर्ने हुन्छ जुन अहिलेको तयारीमा गरिएको प्रचारले अन्धविश्वास पैदा गर्ने या नेता र पँहुचवाला सिमित व्यक्तिले मात्र लाभ लिने हुन सक्छ। यसले झन दुविधा सृजना गर्छ। कुनै पनि योजना वा कार्यक्रम ल्याउँदा पहिला लक्षित वर्गमा ज्ञान हुनुपर्छ र आवश्यक तयारी पुरा गरेर मात्र सार्वजनिक गर्नुपर्छ। तर हाम्रा नेता तथा मन्त्रीहरू पहिला कार्यक्रम ल्याउने अनि व्यवस्था गरौला, कानून बनाउँला भनेर लागेकै कारण मुलुक सधै पछाडि धकेलिँदै गएको छ।

विश्वव्यापी रूपमा मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर हरेक चीजको बिकास गरिनुपर्छ। कुनै बाटो बनाउनु पर्यो भने पहिला बालबालिका, बुढाबुढी, बिकलांग,पौढ, युवा, युवती त्यसपछि मात्र यातायातका साधनलाई ध्यान दिइन्छ। यातायातका साधन मात्र भित्र्याएर हुन्न त्यसलाई आवश्यक पार्किड०को पनि व्यवस्था हुनुपर्छ। पैदल यात्री कहाँबाट हिड्ने, जनस्वास्थ्यमा असर पार्ने खालका धुवा, धुलो, प्रदुषण युक्त कल कारखाना तथा उद्योग धन्दालाई कसरी व्यवस्थित गर्ने, त्यहा कार्यरत कामदार, सेवाग्राही, उपभोक्ताको स्वास्थ्य चुस्त दुरुस्त कसरी राख्ने भन्ने बिषयमा आवश्यक व्यवस्था मिलाउने दायित्व राज्य र नेताहरूले तय गरेको नीतिमा उल्लेख गरिएको हुनुपर्छ। नीतिको पालना गर्ने दायित्व हरेक नागरिकको समान हुनुपर्छ। कुन नेता, कुन मन्त्री, कुन सर्वसाधारण, कुन उद्योगपति, कुन व्यापारी, व्यवसायी, को चालक, को परिचालक सबै नागरिकको जनस्वास्थ्यको बिषयमा सही मार्ग निर्देश गर्ने काम राज्यको हुन आउँछ। जब सम्म राज्य संचालनको जिम्मेवारी बोकेका नेतागणहरू अर्काको मुख ताकेर निर्णय गर्न र कार्यान्वयन गर्न खुट्टा कमाउँछन् तबसम्म नेपाल र नेपाली जनताका लागि स्वस्थ जीवन जीउन पाउने नैसर्गिक अधिकारका कुरा संविधानको पानामा मात्र सिमित हुनेछ। नेताहरूले आफु र आफ्नो परिवार बिरामी हुँदा जसरी राज्यको खाँचो पर्छ सर्वसाधारणलाई पनि त्यति नै खाँचो पर्ने कुरा बुझ्नु जरुरी छ।

अमेरिका विश्वकै निकै ठुलो र बिकसित मुलुक हो यो मुलुकका जनता पनि सबै धनी छैनन्। यहाँ पनि गरिबी छ तर यहाँका जनतामा स्वास्थ्य, शिक्षा र सरसफाई आफैले ध्यान दिनुपर्छ, राज्यले बनाएको कानून मान्नुपर्छ भन्ने ज्ञान छ र पालना गरेकै छन्। यहाँका जनतालाई काम गरेपछि कर तिर्नुपर्छ, स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने बारेमा अरुले सिकाउनु पर्दैन्। राज्यले पनि कती आम्दानी गर्ने व्यक्तिबाट कती कर लिने र के के सुविधा दिने भन्ने बारेमा स्पष्ट पारेकै कारण यहाँका धेरै जनता राज्यलाई कर तिर्न पाउँदा गर्व गर्छन्। हरेक मान्छे नीति नियममा बाधिएका छन्। अमेरिकामा पनि स्वास्थ्य बीमाको पहुँचमा पुग्न नसक्ने करोडौ जनता सहज स्वास्थ्य सेवा लिनबाट बन्चित भएकै कारण सन् २०१० मा स्वास्थ्य बीमा सम्बन्धी नीति नै बन्यो। जनताले स्वास्थ्य सेवा लिँदा पकेटबाट ठूलो रकम तिर्न नसक्ने देखि अमेरिकाका तत्कालिन राष्ट््रपति बाराक ओबामाले आर्थिक अवस्था कमजोर भएका जनताको पक्षमा नीति लागु गर्न दोस्रो कार्यकाल अर्थात् सन् २०१४ जनवरी १ देखि ओबामा हेल्थ केयर ( युनाइटेड हेल्थ) को नाममा सर्वसाधारण जनताको बीमा कार्यक्रम लागु भयो।

सेवा शुरु गरेको पहिलो बर्षमै बीमाको पहुँचमा आउन नसकेका २ करोड जनताले सेवा प्राप्त गरि ओबामालाई निकै स्यावासी दिएका थिए। ओबामा केयरको मूल उदेश्य नै आर्थिक अवस्था कमजोर भएका जनतालाई बीमा नीतीमा ल्याई सहज, सुलभ र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने रहेको थियो। बीमा गर्ने ग्राहकले बीमाले सिफारिस गरेको स्वास्थ्य संस्था अर्थात चिकित्सककोमा गएर मात्र बीमा सेवा लिन पाउने व्यवस्था गरेको थियो। यो सेवा अत्यन्तै प्रभावकारी हुनुका साथै आम जनमानसको पहुँचमा पुग्ने भएकै कारण प्रत्येक बर्ष करोडौ जनता यो सेवामा सामेल भए। ओबामा केयरमा सदस्य बन्न मासिक १६ डलर बुझाएर बिरामीको नाम दर्ता गराउँदा ४० डलर बुझायो भने परिवारका ३ सदस्य बिमित हुने व्यवस्था रहेको थियो। थोरै शुल्कमा ३ सदस्यले सेवा लिन पाउने भएकै कारण न्यून आयस्रोत भएका व्यक्तिहरू पनि यो बीमा योजनाप्रति आकर्सित भएका थिए। यतिमात्र नभै बालबालिका तथा २४ बर्ष सम्मका युवायुवतीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गथ्र्यो। जसले स्वास्थ्य सेवा लिँदा बीमाको शुल्कबाट पुग्दैन ती जनताको लागि सरकारले तिरिदिने र सक्नेसँग शुल्क लिने व्यवस्था गरेको थियो।

यो व्यवस्थालाई अहिलेका राष्ट्र्पति डोनाल्ड ट्र्म्पले खारेज गर्ने तयारी गरिरहदा सन् २०१७ जनवरी देखि यो सेवा ब्लूक्रस ब्लुसेल मार्फत प्रदान गर्दै आएको छ। ब्लूक्रसलाई पनि मासिक ४० डलर बुझाउँनुका साथै दर्ता शुल्क बढी तिर्नुपर्ने भएको छ। यो कम्पनीले २४ बर्ष मुनिकालाई पनि शुल्क लिने भएको छ। ट्र्म्पले ओबामा केयर खारेज गरे लगत्तै अर्को व्यवस्था गर्ने भनेको भए पनि अहिले सम्म योजना नै बनिनसकेको गुनासो सर्वसाधारणबाट आईरहेको छ। यो व्यवस्था खारेज भए लगत्तै यहाँ आर्थिक अवस्था कमजोर भएका जनता फेरि बीमा सेवाबाट बाहिरिन बाध्य हुनेछन्। कारण आर्थिक भार नै हो। त्यसपछि स्वास्थ्य बीमा व्यवस्था अनुसार मासिक रूपमा मोटो रकम तिर्नुपर्ने र त्यति ठूलो रकम मासिक रूपमा तिर्न सक्ने अवस्था ओबामा केयर बीमा सेवामा समेटिएका मानिसको नभएको आकलन निकालिएको छ।

ओबामा केयरले साना देखि ठूला, गरिब देखि धनी सम्मको स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रवाह गर्दै आएको थियो। ओबामा केयरले क्यास्टोपिक केयरले आर्थिक अवस्था कमजोर भएका, ३० बर्ष मुनिका दुर्घटनामा परेर निकै ठूलो चोट लागेका, सिकिस्त बिरामीलाई बिशेष प्राथमिकतामा राखी निःशुल्क सेवा प्रवाह गर्ने नीति लागु गरेको थियो। यसका साथै ३० बर्ष माथिका घरबार विहिन, द्धन्द्धमा परेका, घरपरिवारका सदस्य गुमाएर विक्षिप्त भएका,अशक्त, विकलांग, आर्थिक अभाव भएकालाई नियमित रूपमा निःशुल्क सेवा प्रवाह गर्दै आएको थियो। यसकै कारण सन् २०१४ मा नै २ करोड जनताले सेवा लिएका थिए। त्यसैगरि पछिल्लो तथ्यांक अनुसार सन् २०१६ मा पनि १ करोड १४ लाख जनताले सेवा लिएको तथ्यांकमा उल्लेख गरिएको छ। यो सेवा लिने अघिकांस आर्थिक अवस्था कमजोर भएका र बीमा सेवाबाट बाहिर रहेका व्यक्ति रहेको पनि उल्लेख गरिएको छ। ओबामा केयरको मुल उदेश्य नै जनताको सुरक्षा र आर्थिक अवस्था कमजोर भएकाले सेवा लिन पाउन भन्ने थियो। साथै करोडौ बीमा सेवा बाहिर रहेका जनतालाई बीमा सेवामा समेटेर पब्लिक र प्राइभेट हेल्थ इन्सुरेन्स सेवामा समेटेर स्वास्थ्य सेवालाई सहज बनाउने नै भएको उल्लेख गरिएको छ। राज्यको नीति अनुसार अमेरिकामा बर्षौ देखि स्वास्थ्य बीमा सेवा प्रवाह गर्दै आएका टप १० मा परेका बीमा कम्पनीहरूः

१) वेलकेयर हेल्थ प्लानः यो अमेरिकी सरकारले सपोर्ट गरेको बीमा योजना हो। यो बीमा सेवा अन्र्तगत स्वास्थ्य परिक्षण, औषधि लगायतको सुविधा सपरिवारले लिन सक्छन्। यो बीमा योजनामा जेष्ठ नागरिकहरूका लागि र अन्य सदस्यका लागि आवश्यकता अनुसारको घरमै चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, औषधि लगायतको स्वास्थ्य सेवा प्रवाह गर्छ।
२) हाइमार्कः यो कम्पनीले आँखा सेवा लगायतका अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने अमेरिकाको ठूलो बीमा कम्पनी हो।
३) अमेरिकी रिपव्लिका इन्सुरेन्स कम्पनीः यो बीमा कम्पनी व्यक्तिगता वा पारिवारिकका साथै साना व्यवसायी र ग्राहकको बीमामा केन्द्रीत छ।
४) होमल्याण्ड हेल्थ केयरः विगत ८० बर्षदेखि बीमा सेवा प्रवाह गर्दै आएको यो कमपनीले अमेरिकाको ४० वटा स्टेटमा सेवा संचालन गर्नुका साथै विगत १५ बर्ष देखि सर्वसाधारणका माझमा पनि सेवा प्रवाह गर्दै आएको जनाएकोछ।
५) काइसियर परमानेन्टः ९० लाख ग्राहक रहेको यो इन्सुरेन्स कम्पनीको मातहतमा भने १७ हजार स्वास्थ्यकर्मी तथा चिकित्सक समेत रहेका छन्। यो कम्पनीले ग्राहकको सेवा र सुविधाका लागि आफ्नो रोग समस्या अनुसारको चिकित्सक छान्न समेत सक्ने व्यवस्था गरेको छ।
६) हुमन राइट्स स्रोतः यो कम्पनीले बिरामीको लागि नभै नहुने औषधि लगायत आवश्यक सामग्री अनलाईन अर्डरका आधारमा अस्पताल या घरमै मगाउन सम्ने व्यवस्था गरेको छ।
७) सिग्ना हेल्थ इन्सुरेन्सः यो कम्पनीले स्वास्थ्य बीमा मात्र गर्दैन बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी चिकित्सक पनि साथमै राखेको छ। यो कम्पनीमा ३५ हजार स्वास्थ्यकर्मी तथा चिकित्सक रहेका छन् भने ७० करोड ५० लाख ग्राहक बटुलेर निकै अग्र स्थानमा रहेको छ। २ सय बर्ष देखि बीमा सेवा प्रवाह गर्दै आएको यो कम्पनीले नेपालको छिमेकी मुलुक भारत र चीन लगायत ३० वटा मुलुकमा शाखा संचालनमा ल्याएको छ।
८) सिग्नाटेल ड्र्ग इन्सुरेन्सः अनलाईन अर्थात इमेल मार्फत चिकित्सकको सिफारिस अनुसारका औषधि आवश्यक परेको स्थानमा माग गरे अनुसार पुर्याउने काम गर्छ। यस्तो कम्पनीमा औषधिको माग गर्दा कम्तीमा एक साताको समय दिनुपर्ने कम्पनीले जनाएको छ।
९) ब्लुक्रस अफ न्यूजर्सीः न्यूयोर्कमा मुख्य कार्यालय रहेको यो बीमा कम्पनी पनि अमेरिकाको ठूलो कम्पनी हो। यस कम्पनीको सेवा भित्र ३७ लाख ग्राहक रहेको उल्लेख गरेको छ। कम्पनीले नाफारहित सेवा गर्ने कम्पतीका रूपमा ब्लुक्रस रहेको जनाएको छ।

१०) गोल्डेन रुलः यस कम्पनीले पनि आफ्ना सेवा सहज दिन र सस्तोमा सुलभ र भरपर्दो बनाउन चिकित्सककको सिफारिसका आधारमा काम गर्दै आएको जनाएको छ। यो कम्पनी युनाइटड हेल्थ कम्पनीका नाममा सन १९४६ मा स्थापना भएको बीमा कमपनी रहेको जनाएको छ। अमेरिकामा सर्यौ बीमा कमपनी रहेका छन्।

अमेरिकामा स्वास्थ्य बीमा गर्ने र नगर्ने दुबै प्रकारका मानिसहरू बसोबास गर्ने गर्दछन्। कुनै बीरामीको बीमाले उपचार खर्च पुरा कभर गर्न नसक्ने भयो भने सरकार र अस्पतालले समेत सपोर्ट गर्ने र बीरामीलाई बचाउनु मुल उदेश्य हो भन्ने गर्दछन्। यति मात्र नभै अस्पतालले सेवा प्रवाह गरिसकेपछि चुपचाप बस्ने र बीरामीले मेरो समस्या यस्तो छ भन्न आएपछि मात्र बिरामीको परिक्षण गर्ने नभै बिरामीलाई बारम्बार घच्घच्याउने, उपचार कस्तो लाग्यो, डाक्टरको व्यवहार कस्तो रहयो, तपाईलाई उपचार गर्नुपूर्व चित्त बुझ्दो गरि सबै कुरा बुझाईयो कि बुझाइएन, अस्पतालको बसाई कस्तो रहयो ? डिस्चार्ज गर्ने बेलामा टाइम मै गरेकी ढिला सुस्ति भो ? तपाईलाई सेवा कस्तो लाग्यो कुनै सुझाव छ भने भरेर पठाउँनुस भनेर घरमै सर्वे फर्म पठाउने देखि पटक पटक बिरामीको अवस्थाको बारेमा फोनमार्फन जानकारी लिने गर्दछन्। साथै डाक्टरकोमा महिनौ पहिला लिएको समय विर्सिने हो कि भन्ने चिन्ता पनि लिनु पर्दैन उनीहरूले नै टेलिफोन र म्यासेज मार्फत ४ दिन अघि देखि नै जानकारी गराउन शुरु गर्छन्।

नेपालमा जस्तो बिरामीलाई घण्टौ लाइन बसाएर फर्काउने नभै आकस्मिक बाहेकका सेवा लिन पहिला नै आफुले नाम दर्ता गराउने, डाक्टरको समय लिने र समयमा पुग्ने दायित्व बिरामीको हुन आउँछ।

अब अमेरिकामा बीमा नहुनेले के बिरामी भएर पनि उपचारबाट बन्चित भएर ज्यान नै जाने अवस्थामा पुग्नुपर्ने हो त ? यो निकै जटिल कुरा हो। तर पनि मानविय संवेदना बोकेका केही व्यक्ति र अस्पतालहरूले यस्ता व्यक्तिहरूका लागि पनि कम्युनिटी केयर सेन्टर मार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गर्दै आएका छन्। सेवालाई विशेष प्राथमिकता र मानव स्वास्थ्यप्रति संवेदनशील अग्रज चिकित्सकहरूको संयुक्त टोलीको प्रयासमा नर्थ क्यारोलिनामा पनि कम्युनिटी केयर सेन्टर खोलिएको त्यहा कार्यरत चिकित्सक ग्रेसले जानकारी गराउनुभयो। उक्त सेन्टरमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी सबै स्वयमसेवी भएको पनि उहाँले जानकारी गराउँनुभयो। सुन्दा सानो लाग्ने तर नेपालको ठूलो अस्पतालको जस्तो सेवा प्रवाह गर्ने यो सेन्टरमा ग्रेस जस्ता सयौ स्वास्थ्यकर्मीले आफ्नो अवकास पछिको जीवन पनि सकृय बनाउँदै मानव सेवामा नै प्रयोग गरेका छन्। वास्तविक मानविय सेवा भनेकै यहि हो हामी यसैमा रम्छौ र जीवन रहेसम्म सेवा गर्छौ भन्ने उनीहरूको प्रतिबद्धताले नेपाल र नेपाली जनताको स्वास्थ्य अवस्था, स्वास्थ्यकर्मीको बाध्यता तर्फ सोच्न बाध्य बनायो।

यहि सन्दर्भमा लेख्दै थिए नेपालबाट एउटा म्यासेज भाइबरमा आयो जनकपुर मेडिकल कलेजका चिकित्सकहरू ३ बर्ष अघि देखिको काम गरेको पारिश्रमिक नपाएर सरकारलाई गुहार्दै सडक आन्दोलनमा उत्रन बाध्य भए। यो अवस्था आउँनै नदिनका लागि सरकारको नीति बलियो हुनुपर्छ र कार्यान्वयन गराउँन सक्नुपर्ने रहेछ भन्ने लाग्यो। तर पनि चिकित्सकहरूको पनि त बाध्यता छ नि काम गरेर पढ्नलाई लिएको ऋण तिर्ने, घर चलाउने लगायतका जिम्मेवारी माथि मेडिकल कलेज संचालकहरूले गरेको गैरजिम्मेवार पनको जवाफदेहि सरकार हुनुपर्छ र चिकित्सकको तलब असुल उपर गरि भुक्तानी गरिदिनुपर्छ। कलेज संचालनका नाममा विद्यार्थी ठग्ने, चिकित्सक ठग्ने, बिरामीको उपचार माथी खेलबाड गर्ने कार्यलाई सरकारले खुलेआम छोड्ने हो भने कहिले पुरा हुन्छ जनताको स्वस्थ रहन पाउने नैसर्गिक अधिकार ?

नेपालको संविधान २०७२ ले भने प्रत्येक नागरिकका लागि अति आवश्यकीय स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गर्ने उल्लेख गरेको छ। स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्न राष्ट्रिय रणनीति २०१६ देखि २०३० जारी गरेको छ। यसको पूर्णरूपमा कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालय मात्र नभै आम नागरिकलाई समेट्ने खालको प्रतिबद्ध नीतिको खाँचो छ। स्वास्थ्य मन्त्री गगन कुमार थापा जनताको स्वास्थ्य सुद्धिढ गर्न स्वास्थ्य बीमाका कुरामा रटान दिईरहनुभएको छ। तर के हो स्वास्थ्य बीमा भन्ने बारेमा उपभोक्ता अर्थात आम जनमानसलाई थाहै छैन। कसरी गर्ने स्वास्थ्य बीमा त्यसका लागि के के गर्नुपर्छ ? बीमा लिएपछि कहाँ गएर कुन कुन उपचार पाइन्छ। उपचार परिवारका कस्कस्ले के के समस्या हुँदा पाउँने ? बीमा कति प्रकारका हुन्छन् र उपभोक्ताको भूमिका के हुन्छ ? के सक्ने र नसक्ने दुबैले बीमा सुविधा लिन पाइन्छ कि पाइन्न ? यी सारा प्रश्न जनमासको मानसपटलमा घुम्नु स्वभाविकै हो।

यस बारेमा नीति निमार्ण तहमै स्पष्ट भएको पाइन्न्। नेपाली जनताको स्वास्थ्य बीमाका लागि कतिवटा बीमा कम्पनी तयार छन् र ती कम्पनीले अहिले सम्म कति मुलुकका कति जनतालाई सेवा दिएका छन् ? ती बीमा कम्पनी मातहतमा कति स्वास्थ्यकर्मी चिकित्सक कार्यरत छन्? यसको कुनै आकलन छैन। स्वास्थ्य मन्त्रालय एक्लैको प्रयासले मात्र स्वास्थ्य बीमा सर्वसाधारणको पहुँचमा सर्वसुलभ रूपमा तत्काल पुर्याउनु त्यति सजिलो बिषय पनि होइन। जनस्वास्थ्यलाई निकै उच्च स्थानमा राख्ने मुलुक अमेरिका, युरोप जस्ता स्थानमा त करोडौ जनताले बीमा सेवा लिन सकेका छैनन् भने नेपाल जस्तो मुलुकले सबैका लागि स्वास्थ्य बीमा अनिवार्य गर्ने र राज्यले त्यसको सोधभर्ना गर्ने भन्नु अहिलेको सन्दर्भमा सस्तो लोकप्रियता मात्र हुन्छ। वास्तवमै स्वास्थ्य बीमा गर्ने र जनस्वास्थ्यमा सुधार ल्याउने हो भने सबै राजनैतिक दल, सार्वजनिक तथा नीजि क्षेत्रबाट संचालित स्वास्थ्य संस्था, विश्वविद्यालयहरू, बीमा कम्पनीहरू, व्यापारी, व्यवसायी र सर्वसाधारणको माझ सार्वजनिक बहसनै हुनु आवश्यक छ। सन् २०१० मै जनस्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य बीमाको छुट्टै कानून पारित गरेको मुलुक अमेरिकाले त राज्यका आम जनता माझ स्वास्थ्य बीमा पँहुचमा पुर्याउन निकै मेहनत गर्नुपरेको देखिन्छ। अमेरिका जस्तो मुलुकमा त बाराक ओबामा दोस्रोपटक राष्ट्र्पति भएपछि सन् २०१४ जनवरी १ देखि सर्वसाधारणलाई समेत स्वास्थ्य बीमामा समेट्नुपर्छ अनिमात्र मुलुकको बिकासमा टेवा पुग्छ भनी घनीभूत छलफलबाट कार्यान्वयनमा गएको देखिन्छ।

वास्तवमै भन्ने हो भने अमेरिकामा स्वास्थ्य सेवा अत्यन्तै महगो र लिनै नसकिने छ। सर्वसाधारणको पँहुचमा नभएको सेवा र नेपालमा जस्तो बिरामी भैरहने हो भने धेरै मानिस उपचार नपाएर अकालमा मर्थे होलान्। यहाँ सबैभन्दा पहिला मान्छे धेरै बिरामी नै हुँदैनन्। कारण राज्य त्यति संवेदनशील छ कही कतै फोहोर मैला, खाना, वसोबास लगायतका क्षेत्रमा अत्यन्तै ध्यान दिएको छ। विशेष गरि सरसफाई र खानाको गुणस्तरियतामा बच्चा देखि प्रौढ सम्मलाई व्यवस्थित गरिएको छ। यहाँका हरेक मानिस सधै सक्रिय छन्। बच्चाहरूलाई पनि सानै देखि सक्रिय राखिन्छ र बुढाबुढिहरू पनि सक्रिय रहिरहने कारण रोगव्याधि हत्तपत्त लाग्दैन। त्यसैले पनि धेरै अस्पताल र उपचारको समस्या कमै हुन्छ। समस्या जहाँ हुन्छ त्यहाँ व्यवस्थित सेवा प्रवाह हुन्छ। कोही कसैले बिरामी पर्दा पहिला पैसा खोज्न थाल्नु पर्दैन्। उपचार गरेको एक महिना पछि बल्ला बील आउन थाल्छ। त्यो पनि तिर्न नसक्ने आधार पेश गरेमा अस्पताल स्वयमले मिनाहा गरिदिन्छ। जस्ले सक्छ उस्ले यस्तो गर्दैनन र नहुनेले छैन भन्न पनि लजाउनुपर्ने अवस्था हुँदैन। सबैलाई सम्मान गर्छन र पैसा छैन भन्दा पनि आधार हेरेर चित्त बुझेपछि धन्यवाद भनेर फर्काउँछन्। कुनै किसीमको लज्जाबोध भएर फर्कनु पर्दैन।

नेपालमा लागु गर्ने भनिएको बीमा अभियानमा सयौको संख्यामा सदस्य बन्न सकेका छैनन भने सेवा कसरी प्रवाह गर्ने कुनै टुंगो छैन। बिरामीलाई यति रोग यहाँ उपचार गर थप अञ्चलमा र त्यस भन्दा माथी केन्द्रमा जाउँ भन्नुले सेवा दिन लागिएको हो कि दुःख ? यहाँनेर मन्त्री थापाकै अभिव्यक्तिलाई सापटी लिए नसर्ने रोग तथा दीर्घ रोगको सिकार गरिब जनता तथा गरिबीले उठ्नै नसक्ने अवस्थामा पुगेको परिवारलाई नै आक्रान्त पारेको छ र अझ गरिब बन्दै छन्। मन्त्रीज्यू अब तपाईले उठाउँदै आउँनुभएको निःशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य बीमा कताबाट शुरु गर्दै हुनुहुन्छ ? र कहिले पुरा हुन्छ ?

प्रतिक्रिया दिनुहोस्