स्थानीय तह भएसँगै नागरिकता वितरण रोकियो



रविन भट्टराई, ताप्लेजुङ
नीय निकायलाई स्थानीय तहमा रूपान्तरण गरेसँगै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रदान गर्दै आएको नागरिकता प्रमाणपत्र वितरण प्रभावित बनेको छ।

नागरिकता प्रदानका लागि सिफारिस गर्ने स्थानीय निकाय स्थानीय तहमा परिणत भएको कारण लेटर प्याड, छाप र कार्यालय व्यवस्थापनमा लाग्दा नागरिकता वितरण प्रभावित भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताउनुभयो।

नागरिकताका लागि गाउँगाउँबाट सदरमुकाम आएका स्थानीय नागरिक सोमबार सिफारिसविना प्रशासन कार्यालयबाट काम नहुँदा मर्कामा परेका छन्। प्रमुख जिल्ला अधिकारी खड्काले स्थानीय तहको व्यवस्थापन भएपछि मात्र प्रशासनबाट नागरिकता वितरणको काम पनि शुरू हुने बताउनुभयो।

यता पहिलेका गाविस गाउँपालिका र नगरपालिकामा परिणत हुँदा नागरिकता प्रिन्ट गर्ने सफ्टवेरको व्यवस्थापनमा पनि गृह मन्त्रालय लागेकाले सोमबार र मंगलबारमा सो व्यवस्थापन भए सम्भवतः बुधबारबाट नागरिकता प्रदान गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ।
ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिका कायम गरिएको छ। राजपत्रमा सूचना जारी गरेकै दिन शुक्रबार जिल्ला विकास समितिमा बैठक बसी नगरपालिका र गाउँपालिकामा पठाउने प्रमुखहरूको नाम तय गरी सोमबारबाट कर्मचारीलाई काममा पठाइएको जिल्ला समन्वय समितिको कार्यालय ताप्लेजुङका प्रमुख नरहरि भण्डारीले बताउनुभयो।

छोरीको नागरिकता बनाउन खोक्लिङ गाविसबाट जिल्ला प्रशासन पुगेका स्थानीय,
नागरिकता नबनेपछि प्रमुख जिल्ला अधिकारीसँग जिज्ञासा राख्दै।

प्रतिक्रिया दिनुहोस्