मोर्चाले दिएको म्याद आज सकिँदै प्रगति लगभग शून्य



बीपी साह, काठमाडौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको एकहप्ते अल्टिमेटम विनानिष्कर्ष आज सकिँदै छ। यो एकसाता सत्तारुढ दलले मधेसी मोर्चालाई मनाउनमा समय खर्चेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गर्नुभएको छ।

मधेसी मोर्चाको समर्थन कायम राख्न सरकारले घनिभूत प्रयास गरिरहेको कानुनमन्त्री अजयशंकर नायकले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुराकानी गर्दै मन्त्री नायकले भन्नुभयो– ‘मधेसी मोर्चाको माग पूरा गराउनकै लागि सरकार विस्तार गरिएको छ। कमल जी (कमल थापा) सरकारमा सहभागी भइसक्नुभएको छ। हाम्रा केही साथीले मन्त्रालय छोडेपछि विजय गच्छदारजी पनि सहभागी हुनुहुनेछ। प्रधानमन्त्रीले अन्य साना दलहरूसँग पनि कुराकानी गरिराख्नुभएको छ।’

तर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारका तर्फबाट मधेसी मोर्चाको माग सम्बोधन नभएको भन्दै समर्थन फिर्ता हुने बताउनुभयो। नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारले के गर्यो, के गरेन, त्यो हाम्रो सरोकारको विषय होइन। हाम्रो सरोकारको विषय हाम्रो माग हो। परिमार्जनसहित संविधान संशोधन, निर्वाचन स्थगन र तीनबुँदे सहमति कार्यान्वयन।’

मन्त्री नायकले मधेसी मोर्चाले हठ गरेर समर्थन फिर्ता लिए प्रतिपक्षीलाई बल पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी फेरि पनि आग्रह गर्दछौं, समर्थन फिर्ता नलिनुस्।’

संविधान संशोधन पारित हुने वातावरण नबनेसम्म संसद्मा पेस गर्न कठिन भएको मन्त्री नायकले बताउनुभयो। उहाँले संशोधन पारित हुने वातावरण बनेपछि मात्र संशोधन अगाडि बढ्ने बताउनुहुँदै फेल भए सरकारमाथि आँच आउनसक्ने बताउनुभयो। निर्वाचन स्थगनका विषयमा कुनै छलफल हुन नसकेको उहाँले जानकारी गराउनुभयो।

मधेसी मोर्चाले दिएको अल्टिमेटमको समयावधि थप्न सत्तारूढ कांग्रेसले प्रयास गरेको छ। सोमबार मधेसी मोर्चाका नेता एवं तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र गृहमन्त्री विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा र ठाकुरबीच भेटवार्ता भएको थियो।
बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा निधि र ठाकुरबीच भएको भेटमा निधिले समर्थन फिर्ता नलिन आग्रह गर्नुभएको थियो। दुई जना मात्र सहभागी भेटमा संविधान संशोधन र निर्वाचनका विषयमा छलफल भएको ठाकुरको निजी सचिवालयले जनाएको छ। भारत जानुअघि निधिले ठाकुरलाई भेट्नुभएको हो। सरकारलाई दिएको अल्टिमेटम आज सकिने भएकोले आजै मधेसी मोर्चाको सचिवालय बैठक बस्दै छ। अल्टिमेटम सकिएपछि के गर्ने भन्ने विषयमा सचिवालय बैठकमा छलफल हुनेछ।

सचिवालय बैठकपछि बुधबार मधेसी मोर्चाको बैठक बस्नेछ। रामसपाका महासचिव केशव झाका अनुसार बुधबार बस्ने मोर्चाको बैठकले आन्दोलनका बारे छिनोफानो गर्नेछ। उहाँका अनुसार मधेसी मोर्चाका आगामी रणनीतिका बारे र सरकारकोतर्फबाट भइरहेको प्रयासका बारे बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्