आज रत्नपार्कमा वायु प्रदूषण यन्त्रको उद्घाटन राजधानीका चार स्थानमा राखिने



ईश्वरराज ढकाल,
काठमाडौं
राजधानीमा वायु प्रदूषणको मात्रा बढ्न थालेपछि सरकारले राजधानीको चार स्थानमा वायु प्रदूषण यन्त्र जडान गर्ने भएको छ।

मंगलबार रत्नपार्कमा वायु प्रदूषण यन्त्रको उद्घाटन हुने भएको छ। सो स्थानमा गत सेप्टेम्बरमा यन्त्र जडान गरिएको थियो। यन्त्रले राजधानीको वायु प्रदूषणको गुणस्तर चाप मापन गर्नेछ। वातावरण विभागका सिनियर डिभिजनल केमिस्ट शंकर पौडेलले राजधानीको चार स्थानमा यस्ता यन्त्र जडान गरेपछि वायुको गुणस्तर पत्ता लगाउन सहज हुने जानकारी दिँदै भन्नुभयो– ‘हामीले यो आर्थिक वर्षभित्र चार स्थानमा यन्त्र जडान गर्नेछौं, त्यसपछि राजधानीको वायुको गुणस्तरका बारेमा सजिलै जानकारी पाउन सक्नेछौं।’ यसअघि काठमाडौं विश्वविद्यालय र पुल्चोक इन्जिजियरङ क्याम्पसमा नयाँ यन्त्र जडान गरिसकेको छ।

यन्त्र जडान गरेपछि दैनिकरूपमा वायुको गुणस्तरका बारेमा जानकारी लिन सक्ने उहाँको भनाइ थियो। राजधानीमा वायु प्रदूषणको अवस्थाबारे हावादारीरूपमा व्याख्या गर्न थालेपछि विभागले कामपाको सहयोगमा यन्त्र जडान गर्न लागेको हो।

उपत्यकाको वायुको गुणस्तर मापन गर्न सन् २००२ मा ६ स्थानमा वायुमापन यन्त्र जडान गरेको थियो। ती यन्त्रले काम गर्नै छाडेपछि नयाँ जडान गरिएको हो। यसअघि भक्तपुर, पाटन अस्पताल, पुतलीसडक, मच्छेगाउँ, कीर्तिपुर र न्युरोडमा यन्त्र जडान गरेको थियो। इसिमोडको सहयोगमा यन्त्र जडान गरिएको हो। कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले कामपाले स्थान खोजेपछि विभागले अन्य स्थानमा यन्त्र जडान गर्न लागेको हो।

विभागले अबको ३ महिनाभित्र राजधानीलगायत मुलुकको प्रमुख शहरमा यन्त्र जडान गर्न लागिएको विभागका केमिस्ट पौडेलले जानकारी दिनुभयो। कामपाले टेकु, फोहरा दरबार नजिकलगायतका क्षेत्रमा यन्त्र राख्ने तयारी भइरहेको जनाएको छ। यी यन्त्र जडान भएपछि राजधानीबासीले राजधानीको वायुको गुणस्तरका बारेमा दैनिकरूपमा जानकारी हासिल गर्न सक्नेछन्।

काठमाडौं महानगरपालिका, वातावरण विभागका प्रमुख श्रेष्ठले विभिन्न संघ–संस्थाहरूले हचुवाको भरमा मापन गरेको भरमा राजधानीको वायु प्रदूषण यति भयो र उति भयो भन्ने गरेको कारण वातावरण विभागले नयाँ यन्त्र जडान गर्न लागेको हो।

रत्नपार्कमा जडान गरिएको यन्त्रले त्यस वरपरका वायुको गुणस्तरका बारेमा जानकारी हासिल गर्न सकिनेछ। धुँवा र धुलोका कारण राजधानीको वातावरण दैनिकरूपमा बढ्न थालेपछि वातावरण विभाग र काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा यन्त्र जडान गर्न लागेको हो। यन्त्र जडान भएपछि कुन क्षेत्रमा वायुको गुणस्तर कति छ भन्ने विषयमा जानकारी हासिल गर्न सकिने दुवै निकायको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्