महिलालाई स्वरोजगार बनाउन १२ करोड



हेटौंडा,(नेस)÷ मकवानपुरका महिलालाई स्वरोजगार बनाउन स्वरोजगार लघुवित्त विकास बैंकले छ वर्षमा करिब १२ करोड रुपियाँ लगानी गरेको छ । बैंकको हेटौंडामा भएको छैठौं वार्षिक केन्द्र भेलामा शाखा कार्यालय हेटौंडाका प्रमुख प्रदीप थापामगरले विभिन्न शीर्षकमा हालसम्म मकवानपुरका महिलालाई स्वरोजगार बनाउन ११ करोड ७० लाख २९ हजार रुपियाँ लगानी भएको जानकारी दिए ।

उनका अनुसार साधारणतर्फ ९२ लाख ९७ हजार, व्यवसाय बृद्धि गर्न ६ करोड ६३ लाख नौ हजार, लघु उद्यममा चार करोड १२ लाख २१ हजार, वैकल्पिक ऊर्जामा ५० हजार र दैवीप्रकोप उद्धारका लागि एक लाख ५१ हजार रुपियाँ लगानी गरिएको हो ।

बैंकले आफूसँग आबद्ध रहेर कारोबार गरिरहेका जिल्लाका तीन हजार दुईसय ३६ जना सदस्यमध्ये दुई हजार ३६ जनालाई ऋण लगानी गरेको शाखा प्रमुख थापामगरले जानकारी दिए । छ सय ५० वटा समूह बनाएर महिलालाई आयमूलक तालिम दिएर लगानी गरेर काम गर्न विनाधितो दुई लाख रुपियाँसम्म र धितो राखेर सात लाख रुपियाँसम्म कर्जा उपलब्ध गराउँदै आएको थापामगरले जानकारी दिए ।

बैंकले आबद्ध सदस्य महिलाको मृत्यु हुँदा तीन हजार रुपियाँ किरिया खर्च दिनुका साथै मृतक सदस्यको ३० हजार रुपियाँभन्दा बढी ऋण भए भुक्तानी गरेकोबाहेक ऋण मिनाहा दिँदै आएको उनले जानकारी दिए ।

बैंकले चालु आर्थिक वर्षमा सुत्केरी भत्ता एकसय ३९ जनालाई उपलब्ध गराएको, सदस्य मृत्यु भएवापत विभिन्न व्यक्तिको गरी दुई लाख ७० हजार नौसय ९८ रुपियाँ मिनाहा तथा भुक्तानी गरेको, पतिको मृत्यु भएका सदस्यलाई पाँच हजार रुपियाँका दरले कुल ४० हजार रुपियाँ, आगलागीबाट क्षति पुगेका चार सदस्यलाई कुल १२ हजार रुपियाँ उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंक हेटौंडा शाखाले हेटौंडा उपमहानगरपालिकासहित भैंसे, आमभञ्ज्याङ, मकवानपुरगढी, हाँडीखोला र बाराको अमलेखगञ्ज क्षेत्रका महिलालाई सेवा पुर्याउँदै आएको प्रमुख थापामगरले जानकारी दिए ।

बैंकका अनुगमन अधिकृत मधुसूदन पन्तको सभाध्यक्षता तथा वरिष्ठ प्रवन्धक मनोजकृष्ण उप्रेतीको प्रमुख आतिथ्यतामा भएको भेलामा सहभागी करिब पाँच सय महिलाले आगामी दिनमा बैंकले भर्ना खुल्ने समयमा शिक्षाकर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले ब्याजदर घटाउनुपर्ने, बैंकमा शेयर दिनुपर्नेलगायत सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्