न्यु डायमन्डलाई दिदीबहिनी कप



दुर्गाप्रसाद शर्मा, पर्वत

पर्वतमा आयोजना भएको प्रथम दिदिबहिनी कप महिला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड एकेडेमीले जितेको छ।

कुस्मा बजारमा आइतबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा निरास पार्दै न्यु डायमन्डले उपाधिमाथि कब्जा जमाएको हो। यसका साथै न्यु डायमन्डले यस वर्ष चौथोपटक महिला भलिबलको उपाधि हात पार्न सफल पनि भएको छ।

जसमा तीन पटक एपीएफ र एक पटक नेपाल पुलिसलाई स्तब्ध बनाएको थियो। उपाधि भिडन्तमा विभागीय टोली एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो बनाउँदै न्यु डायमन्डमाथि दबाब सिर्जना गर्यो। तथापि न्यु डायमन्डले बलियो प्रदर्शन गर्दै एपीएफको चुनौती सहज परास्त गर्ने क्रममा लगातार तीन सेट मा आफूलाई विजयी बनाउन सफल भयो। न्यु डायमन्डले दोस्रो २५–२२, तेस्रो २५–२० र चौथो सेटमा २५–२० ले जित हात पारेको थियो। न्यु डायमन्डले सावित्री कञ्चन जंगा अगरबत्ती उद्योगले प्रायोजन गरेको प्रथम पुरस्कार १ लाख नगद र ट्रफी हात पार्यो। उपविजेतामा सीमित भएको एपीएफले ६० हजार नगद र ट्रफी हात पार्यो। दोस्रोको नगद पुरस्कार नेपाल सामान ढुवानी व्यवसायी संघले प्रायोजन गरेको थियो।

न्यु डायमन्डकी कप्तान ललिता नाथले टिम स्पिरिटका कारण खेल सहजै जित्न सफल भएको बताइन्। एपीएफकी कप्तान विनीता बुढाथोकीले आफ्नो एक महत्त्वपूर्ण खेलाडी अभाव रहँदा टिम सेट नहुनु नै हारको कारण बनेको प्रतिक्रिया दिइन्। प्रतियोगितामा एपीएफकी खेलाडी सरस्वती चौधरी र न्यु डायमन्डकी प्रतिमा मालीको खेल उत्कृष्ट थियो। खेलमा प्रतिमा माली एक्लैले आफ्नो टिमलाई कप दिलाएको भन्दा कुनै फरक पर्ने दर्शकको प्रतिक्रिया देखिन्थ्यो। ठूलो संख्यामा उपस्थित भएका दर्शकको साथ न्यु डायमन्डले पाएको थियो भने विभागीय टोलीलाई सशस्त्रका जवानहरूले हौसला दिइरहेका थिए।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। पुलिसले आर्मीलाई २५–१७, २६–२४ र २५–१९ ले हरायो। तेस्रो भएको पुलिसले नगद ३० हजार रुपियाँ र ट्रफी हात पार्यो। तेस्रो नगद पुरस्कार पर्वत क्लब हङकङले प्रायोजन गरेको छ। शनिबार पहिलो सेट पुलिसले जितेपछि दोस्रो सेटसमेत प्रहरीले जित नजिक पुगे पनि वर्षाका कारण रोकिएको छ।

प्रतियोगितामा न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी चुनिइन्। प्रतिभाले नगद ५ हजार र ट्रफी जितिन्। विधागत उत्कृष्टमा न्यु डायमन्डकै ललिता नाथले बेस्ट क्विइकर, एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर, एपीएफकै रेश्मा भण्डारी बेस्ट सर्भर, पुलिसकी कोपिला उप्रेती बेस्ट ब्लकर, पुलिसकै कमला पुन बेस्ट डिफेन्स र आर्मीकी जानकी भण्डारी बेस्ट लिफ्टर घोषित भइन्। विधागत उत्कष्ट सबैले नगद ३ हजार पुरस्कार र ट्रफी जिते। न्यु डायमन्डका प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए।

प्रतियोगिताको विजेता खेलाडीलाई रेडियो दिदिबहिनीकी अध्यक्ष एवं सांसद कल्पना चापागार्इं, नेपाल तरुण दलका केन्द्रीय सदस्य विद्वान गुरुङ, नेपाल भलिबल संघका उपाध्यक्ष यम हादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठ, प्रथम पुरस्कार प्रायोजक सावित्री कञ्चनजंगा अगरबत्ती उद्योगका म्यानेजर पुष्कर केसी, खगेश्वरी इन्टर प्राइजेजका प्रोप्राइटर नारायण शर्मा, प्रतियोगिता संयोजक अरूण श्रेष्ठले पुरस्कृत गरे। दर्शकको निकै भीडका साथ होली पर्वको अवसरमा भएको समापनमा महिला भलिबल खेलाडीले होली मनाएका थिए।

प्रतिक्रिया दिनुहोस्