नजोतेकै बारीमा भर्भराउँदो गहुँ



नरेन्द्र केसी, दाङ

स्थानीय कर्मटुवाका तुलसीराम अधिकारीले सधैं एक बालीमात्रै लगाउनुहुन्थ्यो। धान काटेपछि पनि लामो समयसम्म खेतमा पानी जम्ने र सुख्खा याम लागेपछि जमीन फाटेर चिराचिरा हुने भएकाले प्रायः गहुँ बाली लगाउनु हुन्नथ्यो। तर, यो वर्ष भने सधैं बाँझो रहने खेतमा गहुँबाली पहेँंलपुर भएको देख्दा अधिकारी आफैं दंग पर्नु भएको छ।

‘धान काटेपछि लामो समयसम्म खेतमा पानी जम्ने कारणले खेत जोत्न नै सकिदैन्थ्यो, कसरी गहँु छर्नु– उहाँले भन्नुभयो– ‘तर यो वर्ष भने अचम्मै भयो, नजोतेरै छरेको गहुँबाली अन्य व्यक्तिले जोतेर छरेको भन्दा धेरै राम्रो भएको छ। नजोतेरै बारीमा छर्ने प्रणालीबाट ‘घुसुवा गहुँ खेती गरेपछि उहाँसहित धेरै किसानमा नयाँ विश्वास पलाएको छ– ‘बारी नजोतेरै पनि गहुँ खेती सम्भव हुँदो रहेछ, यसले खनजोत गर्ने समय र यसमा हुने लगानी वचत गर्ने छ।

कर्मटुवाका अधिकारीजस्तै धनौरी–२ का किसान खिमबहादुर भण्डारीले पनि यो पद्धतिअनुसार खेती गर्दा समयमै बाली लाग्ने तथा श्रम र लगानी बच्ने बताउनुभयो। ‘हामीले पनि परीक्षणका रूपमा धान खेतमा नजोतेरै गहुँ गरेका थियौं, यहाँ पनि जोतेरै छरेको ठाउँमा जस्तै राम्रो छ– उहाँले भन्नुभयो–‘पहिलोपटक गरिएको यो परीक्षण सफल भएकाले आगामी दिनमा अरूले पनि यस्तै काम गर्नसक्नेछन्। धान काट्नुभन्दा केही दिनअघि नै खेतमा गहुँ छर्ने गर्नाले चाँडो बाली लाग्ने र समयमै पाक्ने हुँदा किसानलाई फाइदा हुने पनि उहाँले बताउनुभयो।

धनौरी–५ का किसान इन्द्रबहादुर रेउलेले पनि केही पहिले पनि कृषि प्राविधिकबाट नजोतेरै गहुँ छर्न सकिन्छ भन्ने सुनेको भए पनि यसपटक व्यवहारमै पुष्टि भएकाले यो विधि अंगाल्ने बताउनुभयो। ‘काम गर्ने मान्छे नभएकाले धेरैका बारी बाँझा हुन थालेका छन्– उहाँले भन्नुभयो– ‘अब मसुरोजस्तै गहुँ पनि नजोतेरै छर्न सकिने भएपछि धेरै बारीमा बाली लाग्न शुरू गर्ने छ, म पनि आगामी वर्ष १० बिघा जति बारी ठेक्कामा लिएर गहुँ छर्ने सोचमा पुगेको छु।

अमेरिकी सहयोग निकायको सहयोगमा अन्तर्राष्ट्रिय मकै तथा गहुँ बाली सुधार केन्द्र (सिमिट) ले दक्षिण एसियामा अन्नबाली पद्धति परियोजनाले कर्मठुवालगायतका विभिन्न स्थानमा घुसुवा गहुँ खेतीको परीक्षण शुरू गरेपछि किसानहरूले जोत्नै नमिल्ने ठाउँमा पनि गहुँ खेती गर्न सकिँदो रहेछ भन्ने विकल्प फेला पारेका हुन्। यो पद्धति परीक्षणका लागि प्राविधिक सहयोग गरिरहेको दक्षिण एसियामा अन्नबाली पद्धति परियोजना क्षेत्रीय संयोजक हिमालय सुवेदीले दाङमा घुसुवा गहुँ खेतीको सफल परीक्षण भएकाले अब यसलाई बढावा दिनुपर्ने बताउनुभयो।‘हामीले परीक्षणको रूपमा कर्मटुवा र धनौरीमा खेती गरेका थियौं, दुवै ठाउँमा सफल भएको छ– उहाँले भन्नुभयो। परीक्षणका क्रममा ढिकपुरमा ५० बिघा र हेकुलीमा १५ बिघामा पनि यसको सम्भावना देखिएको उल्लेख गर्दै उहाँले अहिले कर्मटुवा र धनौरीमा किसानहरूले १⁄१ बिघा जमीनमा परीक्षण खेती गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्