ट्रम्प नीतिले नेपाली गार्मेन्ट व्यवसायी उत्साहित



रोविन पौडेल, काठमाडौं

नेपाली गार्मेन्ट उत्पादनको युरोपपछिको प्रमुख बजार संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएलगतै उनले ल्याएको आयात नीतिका कारण नेपाली गार्मेन्ट व्यवसायीहरू उत्साहित भएका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकामा ठूलो मात्रामा निर्यात हुने देशका हकमा २५ प्रतिशतसम्म भन्सार बढाउने घोषणा गरेसँगै नेपाली उत्पादनले अमेरिकी बजारमा स्थान पाउने आशा गार्मेन्ट व्यवसायीले गरेका छन्।

गार्मेन्ट एसोसिएसन अफ नेपालका अध्यक्ष चण्डीप्रसाद अर्यालले डोनाल्ड ट्रम्पको योजनाअनुसार ठूला देशबाट आयात हुने वस्तुमा भन्सार बढाउँदा ती वस्तु नेपाली उत्पादनको तुलनामा महँगो पर्न जाने र नेपाली उत्पादनले सस्तो भएको फाइदा लिई बजार विस्तार गर्न सजिलो हुने बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गदै अर्यालले भन्नुभयो–‘हामी ती देशका उत्पादनको तुलनामा केही महँगा छौं। मेक्सिको, चीनलगायत देशबाट अमेरिका भित्रिने गार्मेन्ट उत्पादनमा भन्सार बढे ती नेपाली उत्पादनभन्दा महंँगो हुन जान्छ। त्यसको फाइदा हामी लिन सक्छौं।

उहाँका अनुसार सन् २००० यता तयारी पोशाक अमेरिका निर्यात हुने क्रममा गिरावट आएको छ। सन् २००२ मा सबैभन्दा धेरै १२ अर्ब रुपियाँबराबरको तयारी पोशाक अमेरिका निर्यात भएकोमा त्यसपछिका वर्षमा निकासीमा क्रमशः ह्रास आई सन् २०१५⁄१६ मा ५ अर्ब रुपियाँमा सीमित हुन पुगेको छ। ‘हाम्रा उत्पादन ती देशको तुलनामा १५ प्रतिशतसम्म महँगा छन्। उनीहरूको मागअनुसार यहाँबाट उत्पादन पठाउन नसकेकाले पनि निर्यातमा कमी आएको हो। अर्यालले भन्नुभयो।

दक्ष जनशक्ति, नवीन प्रविधि प्रयोग गरी उत्पादन गर्न सके नेपाली व्यवसायी अहिलेको भन्दा दोब्बर उत्पादन गर्न सक्षम रहेको उहाँको तर्क छ। राजनीतिक स्थिरता भए र निजीस्तर तथा सरकारबाट उल्लेख्य लगानी हुन सके नेपाली उत्पादनको निर्यात त्यही परिमाणमा बढ्ने उहाँको भनाइ थियो।

यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा ऊनी, कपास तथा फ्याब्रिक उत्पादन लगायत ६६ नेपाली तयारी पोशाकलाई भन्सार छुट दिएसँगै नेपाली व्यवसायी हौसिएका थिए। ओबामाले नेपाली व्यवसायीलाई उत्साहित गर्दै गत फेब्रुअरीमा १० वर्षे ट्रेड फेसिलिटेसन बिलमा हस्ताक्षर गरेका थिए। त्यसयता नवनिर्वाचित राष्ट्रपतिले मेक्सिको, चीन लगायतका मुलुकबाट हुने आयातमा कम्तिमा पनि २५ प्रतिशतसम्म महशुल लगाउने नीतिसँगै नेपाली गार्मेन्ट उत्पादनको बजार पुनरुत्थानमा योगदान पुग्ने थप आशा उनीहरूले गरेका हुन। यद्यपि, उनीहरू पूर्णरूपमा ढुक्क भने छैनन्।
अमेरिकी डलरको विनिमय दर ५५–६० रुपियाँ हुँदा १२ अर्ब रुपियाँबराबरको निर्यात रहेको अवस्थामा अहिले विनिमय दर १ सय ८ रुपियाँ हुँदा पनि निर्यात खस्किएर जानुमा हाम्रै कमजोरी रहेको अर्यालको भनाइ छ।‘त्यही गतिमा जाँदा पनि अहिले २६⁄२७ अर्ब रुपियाँ बराबरको निर्यात हुनुपर्ने हो। तर, अहिले त्यस्तो अवस्था छैन, अर्यालले भन्नुभयो। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओबामाले हस्ताक्षर गरेका १० वर्षे ट्रेड फेसिलिटेसन बिल रद्द नगरे नेपाली उत्पादन अमेरिका भित्रिन अब गाह्रो नपर्ने अर्यालको विश्वास छ। साथै उक्त बिल कार्यान्वयन गराउन उपर्युक्त वातावरण सिर्जना नेपाल सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो।

अहिलेसम्मको स्थितिलाई हेर्दा ओबामाले हस्ताक्षर गरेको बिललाई निरन्तरता दिने संकेत देखिएकाले साना तथा घरेलु उद्योग व्यवसायमा पनि लगानी प्रवद्र्धन गर्न सकिने घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायको भनाइ छ। ‘साना व्यवसायीले उत्पादन गर्ने मफलर, टोपी, हाते ब्याग, पछ्यौरालगायतका उत्पादनको अमेरिका राम्रो बजार भएकाले उनीहरूलाई तालिमलगायतका अभिमुखीकरण दिन सकिन्छ। यसले न्यून आर्थिक स्थिति भएकाको अवस्था उकास्न पनि मद्दत पुग्नेछ। उहाँले भन्नुभयो।

ठूला उद्योगले कच्चा पदार्थ र उत्पादनको गुणस्तर अनुगमन र तीनको उत्पादनमा प्रोत्साहन गर्न सकेमा तोकिएको वस्तुमात्रै नभएर अन्य गार्मेन्ट उत्पादनको निर्यात उल्लेख्य मात्रामा बढाउन सकिने सरकारी अधिकारीको भनाइ छ।

व्यवसायी अझै पनि कुन वस्तुमा भन्सार छुट दिइएको हो बारेमा स्पष्ट नभएको गार्मेन्ट व्यवसायी हरि तामाङले बताउनुभयो।‘हामीले ठूलो परिमाणमा निर्यात गर्दैनौं। तसर्थ सरकारले यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सके हाम्रो निर्यात बढ्ने थियो। हामीले सस्तोमा अमेरिका निर्यात गर्नसके बजार पनि राम्रै छ।

अमेरिकाले चीन, मेक्सिकोको उत्पादनलाई आयातमा कडाई गरे हाम्रो बजार अझै विस्तार हुन्छ, तामाङले भन्नुभयो। पछिल्लो समयमा युरोप नेपाली तयारी पोसाकको सबैभन्दा ठूलो आयातकर्ता हुन थालेको छ। अहिले यूरोपमा हुने तयारी पोसाकको निर्यातले नेपालको कुल गार्मेन्ट निर्यातको ४६ प्रतिशत हिस्सा ओगट्छ। कुनै समय अमेरिका नेपाली गार्मेन्ट उत्पादनको सबैभन्दा ठूलो बजार थियो। सन २००० को सेरोफेरोमा कुल गार्मेन्ट निर्यातको ७० प्रतिशत निर्यात अमेरिका हुने गरेता पनि अहिले आएर त्यो घटेर ३० प्रतिशतमा आईपुगेको छ। त्यसयता ५ सय गार्मेन्ट उद्योग बन्द भइसकेका छन् भने १ लाखभन्दा बढीले रोजगारी गुमाई सकेको अनुमान छ।
अमेरिकाले गत वर्ष ती ६६ वटा वस्तुमा मात्रै ४० अर्ब डलर बराबरको आयात गरेको थियो। त्यसमा नेपाली उत्पादको योगदान शून्य दशमलब शून्य ६ प्रतिशतमात्रै छ। नेपाली विभिन्न उत्पादनले अमेरिकासहित यूरोपियन युनियनका २८ मुलुक, अस्ट्रेलिया, क्यानडा, चीन तथा भारतमा पनि भन्सार छुट पाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्