बैंकको लाइनमा जन्मेका खजान्ची नाथको लोकप्रियता



नयाँदिल्ली, (एजेन्सी)
भारतमा नगदको समस्या भइरहेका बेला बैंकबाट नगद झिक्न लाइनमा उभिरहँदा रहँदै बच्चा जन्माउन बाध्य एक महिलाले भारतकै सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्यको चुनावको माहोल नै परिवर्तन गरेकी छिन्। बीबीसीका पत्रकार गीता पाण्डे खजान्ची नाथ नामाकरण गरिएका ती दुई महिना एघार दिनका बालकको सरदारपुर गाउँमा रहेको घरमा पुगेकी छिन्।

गीताले सो बच्चा धेरै सुत्ने र रुने गरेको र भोक लागेपछि मात्र बिउँझिने उनले आफूलाई संधै बोकिरहोस् भन्ने चाहेको बताएकी छिन्। खजान्ची मुख्यमन्त्री अखिलेश यादवको चुनाव प्रचारको प्रमुख आकर्षण बनेका छन्।

गत नोभेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको भारतीय रुपियाँ १ हजार र ५ सयको नोटमाथि प्रतिबन्ध लगाउने निर्णयका कारण सबैभन्दा बढी गरिब जनता मर्माहत भएको भन्दै सो प्रतिबन्धको आलोचना गर्ने क्रममा यादवले चुनाव प्रचारका लागि जाने गरेका हरेक स्थानमा खजान्चीको नाम लिने गरेको बताइएको छ।

उत्तर प्रदेश राज्यको झिन्झक शहरस्थित एउटा बैंकमा लाइनमा उभिने क्रममै गत २ डिसेम्बरमा सर्वेसा देवीले खजान्चीलाई जन्म दिएकी थिइन्। पाँच सन्तानका आमा तथा गर्भवती ३५ वर्षीया सर्वेसा देवी आफ्नी सासू शशिदेवी दश वर्षीया छोरी प्रीतिसंग तीन किमि हिंडेर सो बैंकमा पुगेकी थिइन्।

अत्यन्तै गरिब बाइगा आदिवासी परिवारकी उनका सपेरा पतिको गत अगस्टमा क्षयरोगका कारण मृत्यु भएको थियो। केही समयअघि सर्वेसा देवीले सरकारी कार्यक्रमअन्तर्गत गरिबहरूलाई घर बनाउन दिइने विशेष सहयोगस्वरूप पाएको २० हजार रुपियाँ निकाल्ने बैंक पुगेकी थिइन्।

तर खजान्चीको चुनावप्रचारमा भरपुर प्रयोग गरिए पनि उत्तर प्रदेशको विधान सभाको चुनावमा मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीलाई भारी सफलता हासिल भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्