एक सयभन्दा बढीको पाठेघरको अप्रेसन



नेपाल समाचारपत्र
डोटी
जिल्लामा १ सय १० जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरिएको छ। यही फागुन तेस्रो साताबाट जिल्ला अस्पताल डोटीमा शुरू भएको स्वास्थ्य शिविरमा महिलाहरूको निःशुल्क स्वास्थ्य परिक्षणसँगै अप्रेसन गरिएको हो।

२१ जना महिलालाई अप्रेसनकाका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। रगत गु्रप नेगेटिभ भएका तथा हेपाटाइटिसको संक्रमण देखिएका अधिकांश महिलालाई बाँके रिफर गरिएको सो अस्ततालका मेडिकल कलेजका कार्यक्रम संयोजक रामबहादुर मल्लले जानकारी दिनुभयो। डोटी लगायतका सुदूरपश्चिममा पाठेघर खसेका महिलाको संख्या धेरै भए पनि खुलेर आउन नमानेकाले समस्या हुने गरेको उहाँले बताउनुभयो।

महिलाहरूमा पाठेघर खस्ने समस्या सामान्य भएको र अप्रेसनपश्चात् निको हुने भएकाले कुनै संकोच नमानी उपचार गर्न उहाँको सुझाव छ। यस्तै, यसअघि बाजुरामा ४२ जना र अछाममा ३५ जना पाठेघर खसेका महिलाको निःशुल्क अपे्रसन गरिएको थियो। ती जिल्लामा यस्ता समस्या भएका महिलाहरू डोटीको भन्दा बढी भए पनि उपचार गर्न कमै मात्र आउने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक डा. सुशील प्याकुरेलले बताउनुभयो। क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको आयोजना तथा कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोगमा डोटीमा शिविर सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्