एकै दिन पाँच जनाको निधन



नेपाल समाचारपत्र
काभ्रे
निबार मध्यरातसम्म काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भवितव्य, कर्तव्य र आत्महत्याबाट बनेपा, पनौती र धुलिखेलमा पाँच जनाको निधन भएको हो।

पनौती नगरपालिका–१ चौकोटमा रहेको भालेश्वर क्रसर उद्योगमा काम गर्ने मजदुरहरूबीच कुटाकुट हुँदा एकको उपचारका क्रममा मृत्यु भएको छ। साविक गोकुले गाविस वडा नम्बर ४ हालको महाभारत गाउँपालिका घर भएका २३ वर्षीय सोमबहादुर घलानको कुटपिटका कारण निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले जानकारी दिएका छन्। दाङ जिल्लाको पुरुवा गाविस वडा नम्बर २ जितपुर बस्ने वर्ष २७ को सुमन चौधरी, दाङ जिल्लाकै तिरिपुर नपा वडा नम्बर ११ घर भएका २४ वर्षीय सन्तोष चौधरी, सोही ठेगानाका ३० वर्षीय दीपक चौधरी, ३४ वर्षीय वीरबहादुर चौधरी, वर्ष २९ का कमल चौधरी र २२ का ठाकुर चौधरीले घलानलाई कुटपिट गरेको प्रारम्भिक बयानबाट खुलेको छ।

एक महिनाअघि जिल्ला अनुगमन समितिले मापदण्ड नपुगेको भन्दै बन्द गरेको क्रसर मापदण्ड नपुर्याई पुनः खुलेको थियो। सोही क्रसरमा काम गर्ने मजदुरहरूले घर निर्माणको क्षेत्रमा काम गर्ने मजदुर घलानलाई आफ्नै कोठामा बोलाएर सँगै तास खेलाएका थिए। तास र रक्सीसँगै प्रयोग गरेका मजदुरहरूबीच मध्यरातमा भनाभन भएपछि रडले प्रहार गर्दा घलानको निधन भएको हो।

उपचारका लागि तत्काल उनलाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो। अस्पतालले मध्यपुर ठिमी अस्पताल रिफर गरे पनि घलानको निधन भइसकेको थियो। प्रहरीले राति नै दुई जनालाई पक्राउ गरेको थियो। दुई जना बस चढेर भाग्न लाग्दा बनेपाबाट पक्राउ गरेको छ भने साँझ अबेरसम्म दुई जना फरार छन्।

त्यस्तै लगातार परेको अविरल पानीबाट बढेको चिसोका कारण आफ्नै घर अगाडि बाटोमा हिँड्दै गर्दा धुलिखेल नगरपालिका–६ का ४० वर्षीय बलबहादुर थापाको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी नवीनराज राईले जानकारी दिएका छन्। चिसोले वृद्ध र बालबालिकाहरूसमेत कठ्याङ्ग्रिन पुगेका छन्।

त्यस्तै शनिबार साँझ बनेपा बुडोलमा गाडीको ग्यारेजमा काम गर्ने बारा जिल्ला झुलही बखलिया गाविस–७ बस्ने १७ वर्षीय जितेन्द्रदास तत्माको बनेपाको चारदोबाटोमा हिँड्दा हिँड्दै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले जानकारी दिएका छन्।

शनिबार नै पनौती–८ कपालकोटमा मल्पीमा स्कुल बिदा भएका कारण साथीहरूको समूह लिएर बल खेल्न गएका पनौती–८ मल्पीका १६ वर्षीय सन्तोष थापाको हाइभोल्टेज तारमा अल्झँदा निधन भएको छ। प्रहरीका अनुसार साथीहरूसँग बल खेल्न गएका सन्तोष बल गुडेर लिन जाँदा घरको छतबाट तारमा अल्झन पुगेका कारण निधन भएको हो। पनौती–८ मा रहेको तेजगंगा क्याम्पसको घरको छतबाट हाइभोल्टेज तार लगिएको थियो। छतबाट बल टिप्न गएका थापाको ११ हजार भोल्टको करेन्ट लागेर निधन भएको प्रहरीले बताएको छ।
त्यस्तै शनिबार राति उग्रचण्डी नाला–९ घर भएका ५५ वर्षीय चूडामणि दाहालको चिलाउनेको रुखमा पासो लगाई निधन भएको छ।

प्रतिक्रिया दिनुहोस्