‘संविधान संशोधन र स्थानीय निकाय निवार्चनको कुनै साइनो छैन



नेपाल समाचारपत्र
रुकुम
पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले संविधान संशोधन र स्थानीय तहको निर्वाचनको कुनै साइनो सम्बन्ध नभएको बताउनुभएको छ।

मधेसी दलहरूले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन हुनुपर्ने अडान राखिरहेका बेला प्रमुख प्रतिपक्ष नेकपा एमालेका प्रभावशाली नेता पाण्डेले संविधान संशोधनको औचित्य नभएको र यसले स्थानीय तह निर्वाचनसँग कुनै सम्बन्ध नराख्ने भएकाले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ।

नेकपा एमाले रुकुमको फागुन ३० गते रुकुमकोटमा हुने कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न रुकुम पुग्नुभएको नेता पाण्डेले आइतबार मुसिकोटमा प्रेस चौतारी रुकुमले गरेको पत्रकार सम्मेलनमा सो भनाइ राख्नुभएको हो। अहिले संविधान संशोधन गर्ने बेला नभएको र सबै मिलेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको उहाँको धारणा छ। संविधान संशोधन प्रस्ताव पारित हुने सम्भावना पनि अत्यन्तै कम भएको उहाँले स्पष्ट पार्नुभयो। सत्तारूढ दलकै नेताहरू यो प्रस्तावको विपक्षमा भएकाले पारित हुन नसक्ने पूर्वमन्त्री पाण्डेले दाबी गर्नुभयो। लोकतन्त्रको मर्म भनेकै निर्वाचन भएकाले स्थानीय तहको निर्वाचन अहिलेको अपरिहार्य आवश्यकता भएको उहाँको धारणा छ।

नेकपा एमालेको मेची–महाकाली अभियानले जनतामा उत्साह छाएको नेता पाण्डेले दाबी गर्नुभयो। लोकतन्त्रमा कुनै पनि दललाई कहींकतै पनि पस्न दिदैनौं भन्ने भन्नु अत्यन्तै गलत भएको बताउँदै नेता पाण्डेले मधेसी दलहरूले हिटलरको जस्तै व्यवहार गरेको बताउनुभयो। आफ्नो विपक्षलाई सिध्याउने हिलटरको जस्तै व्यवहार मधेसी केही दलका नेताले गरेको उहाँको आरोप छ। आफ्ना कुराहरू कुनै पनि दलले नेपालको जुनसुकै कुनामा गएर गर्न पाउनुपर्ने नेता पाण्डेको भनाइ छ।

मधेसमा भएको घटनाबाट आफ्नो पार्टी अत्यन्तै दुःखी भएको उहाँले बताउनुभयो। पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्का र शेरबहादुर केसी, नेकपा एमाले रुकुमका अध्यक्ष विमलकुमार पुन, पूर्वसांसद एवं एमाले नेतृ तीर्था गौतम, प्रचार विभाग प्रमुख धनराज खड्कालगायतको आथित्यता रहेको थियो। नेकपा एमाले रुकुमको सोमबार रुकुमकोटमा बृहत् कार्यकर्ता प्रशिक्षण हुँदै छ।

प्रतिक्रिया दिनुहोस्