‘सरकार एमालेले चलाउँछ



नेपाल समाचारपत्र
बुटवल
एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकारलाई जनताप्रति भन्दा पनि अन्त नै लगाव रहेकाले जनतासँग कुनै मतलब नरहेको आरोप लगाउनुभएको छ।

एमालेले शुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आइतबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘जनतासँग यो सरकारलाई कुनै सरोकार छैन उसलाई मतलव छ भने प्रभु कै छ।
अध्यक्ष ओलीले मधेसका नाममा राजनीति गर्न चाहनेहरू त्यहाँका जनतालाई मर्न र मार्न जान उत्साहित गर्ने गरेको बताउनुभयो।

‘भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरूमाथि गोली हान्दा सरकार चुक्कसमेत बोल्दैन भारतले केही भन्ला कि भनेर थर्कमान भएर बसेको छ। बोलेको छैन, नेपालभित्र पसेर एसएसबीले गोली हान्यो, ओलीले भन्नुभयो– ‘मुलुकमा भने आफ्ना प्रहरीमाथि आक्रमण गर्नेहरूमाथि कारबाही गर्नुको सट्टा प्रहरी अधिकारीमाथि नै कारबाही गरियो।

‘काम गर्ने हिम्मत छैन भने सरकारमा किन बस्ने देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हित गर्न सक्दैन भन्दै जनताको यो उपस्थितिले देखाउँछ, सरकार अब हामी चलाउँछौं –उहाँले भन्नुभयो।

यो सरकार नेपाल र नेपालीको होइन। विधिवत् रूपमा त संसद्बाट बनाए जस्तो देखिन्छ पनि यसको रिमोट कन्ट्रोल अन्त नै छ भन्नुहुँदै नेता ओलीले भन्नुभयो– ‘चारतिर फर्केकाहरूलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ।
सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो– ‘अहिले संविधान असफल पार्न खोजिएको छ। समयमा संविधान कार्यान्वयन हुन नदिने योजना बनेको हामीले थाहा पाएका छौं।

प्रतिक्रिया दिनुहोस्