स्थानीय तहको संरचना गलत एवम् अव्यावहारिक, यादव



राजविराज(सप्तरी), २९ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोरी ठानेर प्रहरी दमन गरेमा त्यसको जवाफ जनताले दिने बताउनुभएको छ ।

सङ्घीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सप्तरी घटना राज्यको नश्लवादी चिन्तनको उपज भएको आरोप पनि लगाउनुभयो ।

स्थानीय तहको संरचना गलत एवम् अव्यावहारिक भएको तथा मधेस, पहाड र हिमालमा बस्ने जनतामा विभेद भएको बताउँदै संविधानमा देखिएको त्रुटिपूर्ण एवम् कमजोरी पक्ष अविलम्ब संशोधन गर्नुपर्नेमा अध्यक्ष यादवले जोड दिनुभयो ।

सङ्घीय प्रणालीमा देश गइसकेको अवस्थामा चुनावको कुनै औचित्य नरहेको बताउँदै उहाँले जबर्जस्ती चुनाव गराउन खोजिए सङ्घीय गठबन्धन र मधेसी मोर्चाले त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

कञ्चनपुर घटनाका बारे सरकारले सत्यतथ्य जवाफ दिनुपर्ने र त्यसको निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

“परिमार्जनसहितको प्रस्ताव ल्याएर पेस नगरेसम्म मधेसी, आदिवासी, जनजाति एवम् विभेदमा पारिएको समुदायको अधिकारको सुनिश्चितता हुँदैन” उहाँले भन्नुभयो ।

सात दिनभित्र माग पूरा नभए सात दिनपछि स्वतः सरकारलाई दिइएको समर्थन फिर्ता हुने जानकारी पनि उहाँले दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्