शास्त्रीय दृष्टिमा फागुपर्व



देवेन्द्र अर्याल ‘आँसु’
फाल्गुण शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित हनुमानढो दरबारअगाडि विभिन्न ध्वजापताकाले निर्मित चीर ठड्याएपछि विधिवत् रुपमा फागूपर्व शुरु हुन्छ भने फाल्गुण शुक्ल पूर्णिमाका दिन उक्त चीर ढालेर जलाएपछि फागूपर्व समाप्त हुन्छ।
असत्यमाथि सत्यको जीतको उत्सवका रुपमा मनाउन थालिएको यो पर्वलाई रंगको उत्सव पनि भनिन्छ। एकआपसमा रंग छ्यापेर शुभकामना आदानप्रदान गरी उल्लासमय वातावरणमा फागूपर्व मनाउने प्रचलन आजको होइन।

फागूपर्वको उत्पत्ति र नामकरणका सम्बन्धमा विभिन्न शास्त्रहरुमा विभिन्न कथन वा मतमतान्तर पाइन्छन्। कृष्णचरित्रमा उल्लेख भएअनुसार द्वापर युगमा बालक श्रीकृष्णलाई मार्न कंसले पुतना नामकी राक्षसीलाई पठाएको थियो। पुतनाले कृष्णलाई मार्नका लागि विषयुक्त दूध खुवाउँदा पुतना सफल नभएको र उसको मृत्यु तत्कालै भएकोले सम्पूर्ण व्रजवासीले पुतनाको मृत्युपछि उसलाई जलाई फागूको उत्सव मनाएको पाइन्छ।

त्यस्तै, अर्को धार्मिक कथनानुसार प्राचीन समयमा हिरण्यकशिपु नामका दैत्यराजले आफ्नो छोरा प्रह्लादलाई मार्न अनेकौँ प्रयास गर्दा पनि सफल नभएपछि बहिनी होलिकालाई लगाएर मार्न लगाएका थिए। होलिकाले आगोले नजलाउने वरदान पाएकी थिई। तर होलिकाको पापवृत्तिका कारण स्वयम् होलिका जलेर भष्म भई। प्रह्लादलाई भने केही पनि भएन। त्यसैले पापवृत्तिको प्रतीकस्वरुप होलिका नष्ट भएकोले त्यस दिनदेखि नै फागूको उत्सव मनाउन थालिएको हो। आफ्नो पाप जलाउन चीरलाई दहन गर्ने र दुष्ट राक्षसीको मृत्यु भएकोमा खुशी मनाउन परापूर्वकालदेखि नै फागूपर्व मनाउन थालिएको हो।

भविष्योत्तर पुराणमा उल्लेख भएअनुसार भगवान् श्रीकृष्णले राजा युधिष्ठिरलाई होली पर्वको बारेमा बताउनुभएको थियो। त्रेतायुगमा भगवान् रामका जिजुबुबा रघुका राज्यकालमा ढोण्डा नामकी एउटी राक्षसी थिई। उसले भगवान् शिवबाट कहिल्यै नमर्ने वरदान पाएकी थिई। त्यसैले ऊ त्यति बेला गाउँघरका बालबच्चालाई दुःख दिने गर्थी। त्यसलाई कसैले पनि मार्न सकेका थिएनन्। एकदिन सबै मिलेर राजा रघुसामु विन्ती गरे। तत्कालै प्रजाको दुःख हरण गर्न उनले मूलगुरु ज्योतिषलाई भेला गरेर छलफल गरे। गुरु पुरोहितको सल्लाहअनुसार उनले शहर–गाउँ सबैतिर दिनमा अबिर तथा रंग छर्ने र रातमा आगो तापेर जाग्राम बस्ने अनि रक्षाका लागि मन्त्र जप्ने आदेश दिए। राजाको आदेश भउपछि सबैले त्यसै गरे। नभन्दै फागूपूर्णिमाको दिन उक्त ढोण्डा राक्षसीको निधन भयो। त्यसै दिनदेखि रंगहरु दली धुनी जगाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ।

यसै गरी जैमिनीसूक्त र काठक गुह्यसूत्रमा पनि यस पर्वको उल्लेख गरिएको पाइन्छ। सोअनुसार, प्राचीनकालमा वसन्त ऋतुको आगमनसँगै होलका नामको पर्व मनाइन्थ्यो। सो अवसरमा वसन्त ऋतुको स्वागत गरी एक–आपसमा रंग दलेर रमाइलो गरिन्थ्यो। त्यसै बेलादेखि नै होलीको प्रचलन भएको हो।

अर्को पौराणिक कथनअनुसार सत्ययुगमा एकपटक राजा पृथुको समयमा बालबच्चाहरु मार्ने एक ठौठा नामको राक्षस थियो। उसले भगवान् महादेवबाट वरदान पाएको थियो। उसले देशमा ठूलो उत्पात मच्चाएको थियो। सम्भावित खतरालाई टार्न गुरु वशिष्ठले राजा पृथुलाई फागू पूर्णिमाको दिन सबैलाई जम्मा गरी नाचगान गर्न आदेश दिए। त्यसपछि त्यो राक्षस डराएर भाग्यो। त्यसै दिनदेखि नाचगान गरी हर्षपूर्वक फागू मनाउन थालिएको भनिन्छ।

त्यस्तै, वसन्तका मित्र कामदेवलाई शिवले भष्म गरेको सन्दर्भमा कामदहनोत्सवका रुपमा पनि यस पर्वको चर्चा भएको पाइन्छ। श्रीकृष्णले गोपिनीहरुसँग रासलीलाका साथै रंग खेलेर उत्सव मनाएको प्रसंग पनि श्रीकृष्णचरित्रमा उललेख छ। त्यसैले यस अवसरमा कृष्ण भुवनमा जान पाऊँ भन्ने कामना गर्दै अबिरसहित श्रीकृष्णको पूजाअर्चना गरिन्छ। सो कामना गर्दै फाल्गुण शुक्ल अष्टमीका दिन गाडिएको चीरलाई पूर्णिमाका दिन जलाउनाले वर्षभरिका सारा खराबी चीरसँगै जलेर नष्ट हुन्छन् भन्ने शास्त्रीय धारणा रहेको छ। श्रीहर्षको रत्नावली नाटकमा पनि होलीको चित्रण र वर्णन भएको पाइन्छ।

फागूपर्व रंगहरुको उत्सव हो। यसको आफ्नै महत्व र गौरव रहेको छ। आपसी सद्भाव, खुशी, उमङ्गका रुपमा मनाइने यो पर्व सबै धर्म–सम्प्रदायको साझा पर्व हो। त्यसैले एक–आपसमा हर्षले रमेर खुुशीयाली साटासाट गरी फागूपर्व मनाउँदा एकताको गाँठो बलियो पार्नसमेत मद्दत मिल्छ।

पृष्ठ संयोजक ः वरिष्ठ साहित्यकार मोहन दुवाल

प्रतिक्रिया दिनुहोस्