नेपालले जित्नै पर्ने खेल



नेपाल समाचारपत्र
काठमाडौं

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज नेपालले केन्याविरुद्ध पहिलो खेल खेल्नेछ। यो पाँचौ चरणको खेल हो। आगामी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप छनोटमा स्थान सुरक्षित गर्नका लागि नेपालले यो खेल जित्नैपर्छ।
नेपालसँग चार चरणबाट (८ खेल खेलिएको) ६ अंक रहेको छ। त्यस्तै केन्याको पनि उति नै चरणबाट ८ अंक साथमा छ। यसैले पनि नेपालले केन्यालाई पछाडि पारेर जान त्रिभुवन अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा दुई अंक जोड्नुपर्नेछ। त्यसो त केन्याका लागि पनि अवसर छ आगामी विश्वकप छनोट चरणमा सहभागिता जनाउन।

नेपाली कप्तान पारस खड्काले बाँकी तीनै चरणका खेल जित्नुपर्ने दबाब रहेको बताएका छन्। उनले भने– ‘हरेक अंक अन्तिम अंक तालिकाका लागि महत्वपूर्ण हुनेछ। हामीसँग मात्र ६ खेल बाँकी छ।’

आठ टोली सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चार स्थान रहने टोलीले एकदिवसीय विश्वकप छनोटका लागि छनोट हुन पाउने प्रावधान छ। उक्त छनोटमा आईसीसी एकदिवसीय अन्तर्राष्ट्रियअन्तर्गत वरियताको तल्लो स्थानमा रहने चार टोली र डिभिजन टु बाट बढुवा हुने दुई टोली सहभागिता हुनेछन्। अहिले नेपालले खेलिरहेको च्याम्पियनसिपको अंकतालिकामा नेदरल्यान्डस् १० खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा छ। डच टोलीले दुई चरणका चार खेल खेल्न बाँकी छ। त्यस्तै पपुवा न्युगिनीले ८ खेलबाट १२ अंक जोडेको छ भने टोलीले नेपालले झै ६ खेल खेल्न बाँकी छ। हङकङ १० खेलबाट र स्कटल्यान्ड ८ खेलबाट समान ११÷११ अंक साथमा छ।

त्यसैले पनि नेपालले केन्यालाई दुबै खेलमा हराउन आवश्यक छ। नेपालले यदि आफनै घरेलु मैदानबाट पुरै ४ अंक जोड्यो भने १० अंकसहित पाँचौंस्थानमा रहनेछ। बाँकी दुई चरणको खेलमा नेपालले युएई र हङकङसँग खेल्नेछ। तर नेपालले आज हुने खेलमा एउटै मात्र बाधा हुन सक्ने अवस्था भनेको मौसम हो। शुक्रबार पानी परेर मैदानलाई असर गरेकै छ भने यदि शनिबार पनि पानी परेमा खेल हुन सक्ने अवस्था हुनेछैन।

उता काठमाडौं पुगिसकेको नेपालको विपक्षी टोली केन्याका कप्तान राकेप पटेलले जित्ने प्रयास गर्ने बताए। उनले भने– ‘नेपालसँगको दुई खेल हाम्रा लागि धेरै महत्वपूर्ण हुनेछ यदि शीर्ष चारमा पर्ने हो भने। हाम्रो मुख्य लक्ष्य भनेको जित नै हुनेछ।’

नेपाली टोली
पारस खड्का –कप्तान), दीपेन्द्रसिंह ऐरी, मेहबुब आलम, विनोद भण्डारी, सुनील धमला, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, सागर पुन, वसन्त रेग्मी, आरिफ शेख, सरद भेषवाकर।
पारस द्विविधामा र करण बाहिरिए

नेपालले आज केन्याविरुद्ध खेल्दा कप्तान पारस खड्का खेल्ने नखेल्ने द्विविधामा रहेको छ। तीन साताअघि एपेन्डिक्सको शल्यक्रिया गराएर आराम लिइरहेका पारस खेल्ने तय आज हुने पनि बताइएको छ। यदि नखेलेमा नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने सक्नेछन्।

त्यस्तै उदीयमान खेलाडी करण केसी भने टोलीबाट बाहिरिएका छन्। शुक्रबार करणलाई पेट दुखाइ र वान्ता भएको हुँदा बल्खुस्थित वयोधा अस्पतालमा भर्ना गरिएको छ। नेपाली क्रिकेट टोलीका प्राविधिक विशेषज्ञ रमण शिवाकोटीले जनाएअनुसार उनले केन्याविरुद्ध खेल्न सक्नेछैनन्। शिवाकोटीका अनुसार करणलाई एपेन्डिक्स भएको र शल्यक्रिया गर्नुपर्नेछ। करणको स्थानमा आईसीसीले छनोट गर्नेछ। जसमा अविनास कर्ण वा भुवन कार्कीले मौका पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्