कुलो निर्माणपछि २९ हेक्टर जमिनमा सिँचाइ



नेपाल समाचारपत्र
सिन्धुली

ठाडो कुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतियोग्य जमिन सिञ्चित भएको छ। नेपाल सरकार, स्वीस सरकार विकासको सहयोग र स्थानीयको जनसहभागिता कुलो निर्माण भएपछि खेतीयोग्य जमिन सिञ्चित भएको हो।

ग्वाङखोलामा कुलोको मुहान बनाई १ हजार ६ सय ७९ मिटर लामो कुलो निर्माण सम्पन्न भएको ठाडोकुलो फाँट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो। कुलो निर्माण गर्न स्थानीय सामग्री र त्यसको ढुवानीका लागि स्थानीय जनसहभागिताबाट ३ लाख १७ हजार १ सय ४३ रुपियाँ, नेपाल सरकारको ५ लाख ७९ हजार २९ रुपियाँ, स्वीस सरकारको विकास सहयोग ८ लाख ६८ हजार ५ सय ४४ रुपियाँ खर्च भएको थियो।

यस्तै बा≈य सामग्री र त्यसको ढुवानीमा नेपाल सरकारको ७ लाख १४ हजार ९४ रुपियाँ र स्वीस सरकारको विकास सहयोग १० लाख ७१ हजार १ सय ४२ रुपियाँ, कामदारका लागि नेपाल सरकारको ३ लाख ९२ हजार २ सय ६८ रुपियाँ र स्वीस सरकारको विकास ५ लाख ८८ हजार ४ सय ३ रुपियाँ, उपभोक्ता समितिको व्यवस्थापन खर्चअन्तर्गत नेपाल सरकारको तर्फबाट ३६ हजार २ सय ४५ रुपियाँ र स्वीस सरकारको ५४ हजार ३ सय ६७ रुपियाँ खर्च भएको बताइएको छ।
स्थानीयको श्रमदानबापत ३ लाख १७ हजार १ सय ४३, नेपाल सरकारको १७ लाख २१ हजार ६ सय ३८ रुपियाँ र स्वीस सरकारको २५ लाख ८२ हजार ४ सय ५७ रुपियाँ गरी कुल ४६ लाख २१ हजार २ सय ३९ रुपियाँको लागतमा कुलो निर्माण गरिएको हो। साना सिँचाइ परियोजनाबाट १ हजार ६ सय ७९ मिटर लामो सिँचाइ कुलो निर्माण भएपछि सिन्धुली फाँट नै बाह्रै महिना सिञ्चित भएको छ।

यस्तै सिँचाइ गर्न नसक्दा त्यस क्षेत्रका किसानले हिउँदे बाली तथा मकैसमेत लगाउन पाएका थिएनन्। कुलोबाट पानी चुहावट हुँदा खेतमा पानी पुग्न बिहानभर लाग्ने गरेकोमा अहिले कुलो निर्माण गरेपछि बाँधबाट खेतमा पानी १० मिनेटमा नै पुगेको कृषक बताउँछन्। सिँचाइ कुलो निर्माण भएपछि सबभन्दा बढी महिलालाई सजिलो भएको छ। जिल्ला विकास समितिको कार्यालयअन्तर्गत साना सिँचाइ कार्यक्रमबाट कुलो निर्माण सम्पन्न भएपछि खुसी हुँदै स्थानीय इन्दिरा फुयाँलले भन्नुभयो– ‘पुरुषहरू विदेश जाने र हामी महिलाले घरको काम गर्नुपर्ने भएकाले पहिले बलियो सिँचाइ कुलो नहँुदा मुहानमा पानी भए पनि सिँचाइ गर्न सकिएको थिएन, सिँचाइ गर्न नसक्दा तरकारी, अन्नबाली तथा नगदेबाली उत्पादनमा कमी हुने गरेको थियो।’ सिँचाइ कुलो निर्माणले अब अन्नबाली र तरकारी उत्पादनम अवश्य वृद्धि हुने उहाँको भनाइ छ।

महिलाले घरयासि काम गर्नुपर्ने, वर्षा याममा खोलामा बाँध र कुलो बनाउन अनिवार्य जानुपर्ने बाध्यता हटेपछि महिलाहरू बढी हर्षित भएको स्थानीय मनमाया थापाले बताउनुभयो। ‘बालबच्चालाई बिहानको खाना बनाए विद्यालय पठाउनुपर्ने, दिउँसो घरायसी काम गर्नुपर्ने कुलो बनाउन अनिवार्य सोत्तर काट्नदेखि ढुङ्गा बोक्न पनि जानुपर्ने बाध्यता अहिले हटेको छ’ –उहाँले भन्नुभयो।

दैनिक कुलो तथा बाँध बनाउनुपर्दा आकाशे पानीको भर पर्नुपर्ने बाध्यतामा रहेका त्यहाँका कृषकलाई कुलो सञ्चालनमा आएपछि राहत भएको छ। कुलो सञ्चालनमा आएपछि कृषकमा हिउँदे बाली लगाउने जोसजाँगरसमेत देखिएको छ। सिँचाइ गर्न पाउने भएपछि किसानले तरकारी, फलफूलजस्ता बाली लगाउने योजनासमेत बनाइसकेको अर्का कृषक केशव दाहालले बताउनुभयो।

सिँचाइको अभावमा सधैं हैरानी भोग्दै आइरहेका स्थानीयबासी किसान यति बेला अत्यन्त उत्साही देखिन्छन्। सुख्खा जमिनमा पानीको सुविधा पुगेपछि उनीहरू निकै हौसिएका हुन्।

प्रतिक्रिया दिनुहोस्