‘जंगबहादुर’ माग्दै सडकमा पूजा



हेटौंडा,(नेस)
हेटौंडाको बुद्धचोकमा स्वतन्त्र नेपाली नागरिक राकेशकुमार शर्माले राष्ट्रवादी नयाँ शक्तिका लागि पाञ्चायन पूजा गरेका छन् । पण्डित दामनाथ लामिछानेले शुक्रबार विहान हेटौंडाको मुख्य बजारको सडकमा पूजा गराएका थिए ।
उनी बीरगञ्जमासंविधानको श्राद्ध गर्दा साउन २० गते प्रहरीबाट पक्राउ परेका थिए । उनले रौतहटको चन्द्रपुरमा भदौ ६ गते र हेटांैडामा भदौ ९ गते संविधानको श्राद्ध गरेका थिए ।

नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, स्वाधीनता, प्रजातन्त्रको रक्षा, पाँच प्रदेश, हिन्दु राष्ट्र कायम गर्न, राज्यकोष ढुकुटी दुरुपयोग, भ्रष्टाचार र दण्डहिनता अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि जस्ता विकृति हटाउन तथा मुलुकको हित र रक्षाका लागि पृथ्वीनारायण शाह, महेन्द्र, जंगबहादुर राणा र सैनिक शासन जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेको उनले बताए ।

२०६२÷०६३ पछि राजनीतिक दलका नेताहरुका कारण थुप्रै नागरिक मारिएको, मुलुकमा राजनीतिक दलहरुको नेताका कारण मुलुकको अखण्डता र स्वाधीनता धरापमा पर्दै गएको तथा परिस्थिति र समस्याहरु असहज बन्दै गएको उनले बताए ।

‘प्रधानमन्त्रीसमेत मन्त्रीमण्डल, सांसद् र राजनीतिक दलका नेताहरुका कारण मुलुकको स्वाधीनता धरापमा परेको छ,’ उनले भने– नेपालमा संविधान निर्माण गर्ने सभासद्हरु, सांसद्हरु र नेताहरुले संविधान–२०७२ लाई नमानेको र पालना नगरेको अवस्था छ । यसकारण नेपालमा संविधानसभाबाट २०७२ असोज ३ गते जारी संविधान मरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्