पाठेघर खसेका महिलाको शिविरमा घुइँचो



SONY DSC

विमल विष्ट, डोटी
जिल्ला अस्पताल डोटीमा सञ्चालित पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया शिविरमा घुइँचो लागेको छ। फागनु २१ गतेबाट शुरू भएको उक्त शिविर ६ दिनका लागि सञ्चालन गरिएको थियो तर शिविरमा बिरामीको चाप अत्यधिक बढेपछि निर्धारित समयभन्दा ३ दिनका लागि थप गरिएको नेपालगन्ज मेडिकल कलेजका सामुदायिक फिल्ड संयोजक रामबहादुर मल्लले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘तयारी गर्दा डोटीमा ४० जनासम्म बिरामी आउन सक्छन् भन्ने अनुमान थियो, तर यहाँ त अपेक्षाभन्दा तेब्बर बढीको संख्यामा बिरामीहरू दर्ता हुन आए।’ बुधबारसम्म १ सय १८ भन्दा बढी बिरामी महिला शल्यक्रियाका लागि दर्ता हुन आएका छन्। अझै १६ जना दर्ता हुने क्रममा रहेको फिल्ड संयोजक मल्लले बताउनुभयो। हालसम्म २६ जना महिलाको सफल शल्यक्रिया पछि डिस्चार्ज गरिएको छ।
शिविरमा आएका ११ जना गम्भीर समस्या देखिएका बिरामीलाई भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको छ। फिल्ड संयोजक मल्लले भन्नुभयो– ‘रक्तचाप तथा अन्य प्राविधिक समस्या हुने भएकाले उहाँहरूलाई उतै बोलाएका छौं।’ क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा शिविर चलिरहेको छ। जसको प्राविधिक सहयोग नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले गरिरहेको छ। यसअघि क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलकै आयोजना तथा नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा बाजुरा तथा अछाममा पनि पाठेघर खसेका महिलाको शल्यक्रिया शिविर चलाइसकिएको छ। जसअन्तर्गत बाजुरामा ३२ जना र अछाममा ४२ जनाको सफल शल्यक्रिया गरिएको पनि मल्लले बताउनु भयो।

बाजुरा र अछामको तुलनामा डोटीमा जनचेतनाको स्तर बढी रहेकाले पीडित महिलाहरू शल्यक्रिया गर्न खुलेर आएको हुन सक्ने फिल्ड संयोजक मल्लले बताउनुभयो। पाठेघर खस्ने समस्या सुदूरपश्चिमका महिलामा पुरानो तथा गम्भीर समस्या हो। बिशेष गरी गभावस्था तथा सुत्केरी अवस्थामा कडा काम गर्ने, सानै उमेरमा विवाहमा सन्तान पाउने, पोषणको कमी तथा धूम्रपान जस्ता कारणले यहाँका महिलामा यो समस्या रहँदै आएको छ। डोटी जिल्लामा शल्यक्रिया गर्ने महिलाको संख्या १ सय ५० भन्दा बढी पुग्न सक्ने अस्पताल स्रोतले जनाएको छ। डोटीमा समस्या लुकाएर बसेका महिला खुल्न थालेको संकेत हो सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक सुशीलनाथ प्याकुरेलले भन्नुभयो– ‘अछाम बाजुरा जिल्लामा झनै धेरै पाठेघर खस्ने समस्या भए पनि खुलेर उपचार गराउने आउने महिलाको कमी छ।’

प्रतिक्रिया दिनुहोस्