शिक्षा कार्यालयमा अनिश्चित्कालीन तालाबन्दी



ललित सिंह, बझाङ
जिल्ला शिक्षा कार्यालयमा अनिश्चित्कालीन तालाबन्दी गरिँदा मुखमै आएको एसएलसी परीक्षा प्रभावित हुनुका साथै कार्यालयको दैनिक हुने कामकाज बन्द भएको छ।

शिक्षा कार्यालयबाट वितरण गरिने ब्लक भनवमा राजनीतिक चलखेलसँगै पैसाको लिनदेन भएको कारण विद्यालयले पाएका ब्लक भवन कटौती गरेको भन्दै ब्लक भवन संघर्ष समितिले जिल्ला शिक्षा कार्यालय बझाङमा माग पूरा नभएसम्मका लागि अनिश्चित्कालीन तालाबन्दी गरेको हो। तालाबन्दीले कार्यालयको दैनिक कामकाज रोकिएको छ भने मुखमै आएको एसएलसी प्रभावित भएको छ।

‘शिक्षा कार्यालय बझाङको ७३ असोज १४ गतेको बसेको बैठकले विद्यालयमा २ कोठे ब्लक भवन दिएको थियो। अहिलेका जिल्ला शिक्षा अधिकारीले कटौती गरेका रहेछन्। थाहा नै भएन विद्यालय भवनको सम्झौता गर्न आउनु भने र स्थानीय एफएमबाट सूचना सुनेर आएँ कार्यालयमा पुग्दा कटौती भएको थाहा पाएँ’ –कैलाश मावि लोतुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज धामीले बताए। भवन कटौतीले निकै समस्या परेको धामीको भनाइ थियो।

‘विद्यालयमा निजी रूपमा राखिएको शिक्षको तलब दिन पाएको छैन कृषि विकास बैंकमा विद्यालयको खाता खोल तलब दिने भनेर सिफारिस लिन कार्यालयमा आएँ कार्यालयमा तालाबन्दी गरेको देखेपछि कामै नगरेर फिर्ता हुनु परेकामा दुःख लाग्यो’ –कालुखेती उमाविका शिक्षक धन गिरीले बताए। विद्यालयमा शिक्षकले तलब माग्दा तालाबन्दीले गर्दा दिन नपाएको उनले बताए।

चैत्र १३ गतेबाट हुने कक्षा आठको वार्षिक परीक्षा जिल्लास्तरीय हुने भएकाले शिक्षा कार्यालयमा प्रश्नपत्र लिन आउँदा कार्यालयमा तालाबन्दी भएकाले रित्तो हात घर फर्कनुपरेको कुलमष्टा जन उमाविका शिक्षक खेम जोशीले बताए।
‘गाउँमा अहिलेसम्म शिक्षा कार्यालयबाट एकपटक पनि भवन निर्माणका लागि रकम गएको छैन। ४५ सालमा गाउँलेले श्रमदान गरी ४ कोठे भवन निर्माण गरेका छन् त्यसैमा २८ वर्षदेखि विद्यालय सञ्चालन गर्दै आएको छ। गएको वर्षमा पनि पहिले दुईकोठे ब्लक दिएको शिक्षा कार्यालबाट पत्र पठाएको र रकम माग्दा आफूले नदिएपछि कटौती भएको र यस वर्ष पनि ६ महिनाअघि विद्यालयलाई दुईकोठे ब्लक भवन वितरण गरेको पत्र पाएको भए पनि सम्झौता गर्न कार्यालयमा पुगेपछि कटौती भएको जानकारी पाएको नमादेउ प्रावि ग्वालेका प्रधानाध्यापक सुरेन्द्र बोहराले बताए।

शिक्षा कार्यालयले विद्यालयको अवस्थालाई ध्यानमा राखी यसअघि असोज १४ जिल्लाका विभिन्न मावि, निमावि र प्राविका ४९ वटा २ कोठे र १० वटा ४ कोठे भवन वितरण गरेको भए पनि तत्कालीन जिल्ला शिक्षा अधिकारी मदन थापाको सरुवा भएपछि अहिलेका जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंह र क्षेत्रीय डाइरेक्टरको मिलेमतोमा शिक्षामा पहुँच भएका विद्यालयलाई विद्यालयका भवन पुनः दिएको खड्क बोहराले बताए।

जिल्लाका ५९ विद्यालयलाई निकै अन्याय भएको छ ६ महिनाअघि विद्यालयले ब्लक भवन पाएको भन्दै शिक्षा कार्यालयले भवनको सूचना बाहिर टाँस गरे, विद्यालयलाई पत्र पठाए, अहिले ६ महिनापछि रद्ध गरेर अरू विद्यालयमा वितरण गरेपछि शिक्षा कार्यालयको नियतका विरुद्ध आफूले कार्यालयमा तालाबन्दी गरेको संघर्ष समितिका सदस्य खड्क बोहराले बताए। कार्यालयको यसमा कुनै दोष छैन गएको जिशिअले नियम विपरीत भवन बाँडेर गएको रहेछन् विवाद भएपछि क्षेत्रीय कार्यालय दिपायले आवश्यकताअनुसार भवन वितरण गरेको जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्