बस खस्दा २४ को मृत्यु घाइते ४१ को उपचार हुँदै



दीपेन्द्र शर्मा, जाजरकोट
जरकोटको सदरमुकाम खलंगाको बोहरागाउँनजिकैको भीरबाट यात्रुवाहक बस खस्दा २४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये २८ जना यात्रुको अवस्था चिन्ताजनक रहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिममा पर्ने खारा बजारतर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको यात्रु बस छिन्चु–जाजरकोट सडक खण्डको भेरीमालिका नगरपालिका–४ बोहरागाउँ तल्लो मोडबाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो। खलंगाबाट बेलुकी ४ बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातायात व्यवसायी समितिको उक्त बसमा ५ दर्जनभन्दा बढी यात्रु सवार भएको प्रहरीले अनुमान गरेको छ।

घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलो मिटरको दूरीमा रहेको छ। घटनास्थलबाट १७ जनाको शव निकालेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो। घटनामा दुर्घटनामा परी मृत्यु हुनेमा लहँ–४ का रामबहादुर बस्नेत, भेरीमालिका–४, बोहरागाउँका नवीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, शर्मिला सुनार, १० का सन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ हिउसा गिरी, साल्मा–५ का नन्दलाल जैसी, सीमा ९ का मदन पुन, मजकोट–७ का दले तिरुवा, दशेरा–२ का मनीराम जैसी, १ का दिलबहादुर बुढा, चौरीजहारी–४, रुकुमका कृष्ण गिरी, सुइकोट सल्यानका उदय बुढाको मात्र सनाखत भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी रिमालले जानकारी दिनुभयो। मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेका छन्। बस दुर्घटनास्थलमा १७ जनाको र ७ जनाको जाजरकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेका २८ जना गम्भीर घाइतेको थप उपचारका लागि रुकुमको चौरजहारी विमास्थलबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालगन्जतर्फ पठाइएको रिमालले बताउनुभयो। सामान्य घाइते भएका ९ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्