पाठेघर खसेका महिलाहरुको शिबिरमा घुईचो



जिल्ला अस्पताल डोटीमा संचालित निशुल्क शल्यक्रिया शिबिरमा सेवा लिन आएका महिलाहरु । तस्विर, विमल विष्ट

विमल विष्ट,डोटी
जिल्ला अस्पताल डोटीमा संचालित पाठेघर खसेका महिलाहरुको निशुल्क शल्यक्रिया शिबिरमा सेवा लिनेको घुँईचो लागेको छ । फागनु २१ गते बाट सुरु भएको उक्त शिबिर ६ दिनका लागि संचालन गरिएको थियो तर शिबिरमा बिरामीको चाप अत्याधिक बढेपछि निर्धारित समय भन्दा ३ दिनका लागि थप गरिएको नेपालगंञ्ज मेडिकल कलेजका सामुदायिक फिल्ड संयोजक राम बहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नु भयो ‘तयारी गर्दा डोटीमा ४० जनासम्म बिरामी आउन सक्छन् भन्ने अनुमान थियो, तर यहाँ त अपेक्षा भन्दा तेब्बर बढीको संख्यामा बिरामीहरु दर्ता हुन आए ।’ बुधबार सम्म एक सय १८ भन्दा बढी बिरामी महिलाहरु शल्यक्रियाका लागि दर्ता हुन आएका छन् । अझै १६ जना दर्ता हुने क्रममा रहेको फिल्ड संयोजक मल्लले बताउनुभयो । हालसम्म २६ जना महिलाको सफल शल्यक्रिया पछि डिस्चार्ज गरिएको छ ।

शिबिरमा आएका ११ जना गम्भीर समस्या देखिएका बिरामीहरुलाई भने नेपालगंज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको छ । फिल्ड संयोजक मल्लले थप भन्नु भयो ‘रक्तचाप तथा अन्य प्राबिधिक समस्या हुने भएकाले उहाँ हरुलाई उतै बोलाएका छौ ।’

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा शिबिर चलिरहेको छ । जसको प्राबिधिक सहयोग नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले गरिरहेको छ । यसअघि क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपयलकै आयोजना तथा नेपालगञ्ज मेडिकल कलेजको प्राबिधिक सहयोगमा बाजुरा तथा अछाममा पनि पाठेघर खसेका महिलाहरुको शल्यक्रिया शिबिर चलाई सकिएको छ । जसअन्तर्गत बाजुरामा ३२ जना र अछाममा ४२ जनाको सफल शल्यक्रिया गरिएको पनि मल्लले बताउनु भयो ।

बाजुरा र अछामको तुलनामा डोटीमा जनचेतनाको स्तर बढी रहेकाले पिडित महिलाहरु शल्यक्रिया गर्न खुलेर आएको हुनसक्ने फिल्ड संयोजक मल्लले बताउनु भयो । पाठेघर खस्ने समस्या सुदूरपश्चिमका महिलाहरुमा पुरानो तथा गम्भीर समस्या हो । बिशेषगरी गर्भाबस्था तथा सुत्केरी अबस्थामा कडा काम गर्ने, सानै उमेरमा बिवाहमा सन्तान पाउने, पोषणको कमी तथा धुम्रपान जस्ता कारणहरुले यहाँका महिलाहरुमा यो समस्या रहदै आएको छ ।

डोटी जिल्लामा शल्यक्रिया गर्ने महिलाको संख्या एक सय ५० भन्दा बढी पुग्न सक्ने अस्पताल स्रोतले जनाएको छ । डोटीमा समस्या लुकाएर बसेका महिला खुल्न थालेको संकेत हो सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक सुशिलनाथ प्याकुरेलले भन्नु भयो,‘अछाम बाजुरा जिल्लामा झनै धेरै पाठेघर खस्ने समस्या भएपनि खुलेर उपचार गराउने आउने महिलाको कमी छ ।’

 

प्रतिक्रिया दिनुहोस्