कारागारका कैदीबन्दीका लागि पुस्तक



खोटाङ, २६ फागुन । खोटाङको दिक्तेल इग्लिस बोर्डिङ स्कुलले जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक प्रदान गरेको छ ।

विसं २०४८ मा स्थापना भएको बोर्डिङ स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा जिल्ला कारागारका कैदीबन्दीका लागि रु २१ हजार बराबरको पुस्तक प्रदान गरेको हो ।

कारागार परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले कारागार शाखाका प्रमुख चित्राखर आचार्यलाई पुस्तक हस्तान्तरण गर्नुभयो । स्थापना भएको २५ वर्ष पुगेको अवसरमा विद्यालयले बुधबार ४६ थान पुस्तक हस्तान्तरण गरेको हो ।

कैदीबन्दीको ज्ञान र चेतना अभिवृद्धिका लागि कारागारलाई पुस्तक प्रदान गरिएको सञ्चालक समितिका अध्यक्ष नुरकाजी सैंजूले बताउनुभयो । स्कुलसँगै दिक्तेलस्थित सैंजू पुस्तक पसलले पनि कारागारलाई २४ थान पुस्तक हस्तान्तरण गरेको छ ।

गत सोमबारदेखि विभिन्न कार्यक्रम गर्दै रजत जयन्ती मनाउन सुरु गरेको स्कुलले जिल्ला अस्पताललाई १५ थान ब्ल्याङ्केट पनि प्रदान गरेको छ । रजत जयन्तीका विभिन्न कार्यक्रम गर्दै शनिबार समापन गर्ने कार्यक्रम रहेको रजत जयन्ती प्रचारप्रसार समितिका संयोजक धनकर्ण श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्