म्याग्दीको आगलागीबाट रु एक करोडको क्षति



बेनी (म्याग्दी), २६ फागुन । म्याग्दीको बेनी नगरपालिका–१४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा बुधबार राति आगोलागी हुँदा करिब रु एक करोडको क्षति भएको छ ।

आगलागीबाट विद्यालयको दशकोठे दुईतले भवन जलेर ध्वस्त भएको छ । आगलागी भएको भवनको भुईंतलामा कक्षा सञ्चालन र माथिल्लो तलामा प्रशासन, कम्प्युटर ल्याब र पुस्तकालय रहेको थियो । प्रशासनका कागजात, कम्प्युटर, पुस्तकालयका करिब सातहजार पाठ्यपुस्तक, नौवटा कम्प्युटरसहित विद्यालयका महत्वपूर्ण दस्तावेजसहितको करिब रु एक करोड मूल्य बराबरका भवन, फर्निचर र शैक्षिक सामग्री जलेर नष्ट भएको विद्यालयका शिक्षक रामप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

केही दिन अगाडि विद्युतीय पुस्तकालय समेत जडान गरिएको थियो । कक्षा ८ सम्मको पाठनपाठन हुने विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । साँझ सवा पाँच बजेदेखि सुरु भएको आगलागी राति करिब ९ बजेपछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी पाएलगत्तै डाँडाखेत र भिरमुनिका करिब ४०० जना स्थानीय घटनास्थलमा पुगेका थिए ।

त्यस्तै, अर्थुङ्गेस्थित श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय र तातोपानी प्रहरी चौकीको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेका थिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्रहरीले सङ्कलन गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्