अर्थतन्त्रका सबै चक्का सँगै अगाडि बढ्नुपर्छ

अनिलकेशरी शाह
अध्यक्ष,
नेपाल बैंकर एसोसिएसन

लगानीयोग्य पुँजीको अभाव हुँदा बैंकिङ क्षेत्रमा एक किसिमको तरङ उत्पन्न भएको छ। आम सर्वसाधारणमा विभिन्नखाले आशंका देखिएको छ। बैंकिङ क्षेत्रमा देखिएको समस्याको बास्तविकता के हो, यो कति संवेदनशील छ भन्ने विषयमा नेपाल बैंकर एसोसिएसनका अध्यक्ष एवम् मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहसँग नेपाल समाचारपत्रले गरेको कुराकानी।

अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्याको यथार्थ के हो ?

अहिले तरलताको अभाव होइन, ऋण प्रवाह गर्ने फन्डको अभाव हो। त्यो भनेको हामीले सय रुपियाँ निक्षेप संकलन गर्छाैं भने ८० रुपियाँ ऋण दिन सक्छौं। २० रुपियाँमध्ये ६ रुपियाँ हामीले राख्नुपर्छ भने १४ रुपियाँ सरकारी सुरक्षामा राख्नुपर्छ।

निक्षेपकर्ताले जतिखेर पनि बैंकबाट पैसा निकाल्छु भन्दा अहिले कुनै असर छैन। तर, जुन ८० प्रतिशत लगानी गर्न पाउने पैसा हो त्यसमा हामीले धेरै लगानी गरिसकेका छौं। ७९ प्रतिशतभन्दा बढी गइसकेको थियो। सीसीडी रेसियोमा अहिले मिडट्रम मल्टिपलमा स्टेप्स राष्ट्र बैंकले लिइसकेपछि अलि सजिलो भएको छ। यो भन्दैमा ऋण दिन युद्धस्तरमा अगाडि बढेको भने होइन, निक्षेप परिचालन गर्न अलिकति समय पाएका छँैं।

भनेपछि बैंकहरुले सिमाभन्दा बढी लगानी गरेका हुन् ?

कुनै दिन ८० प्रतिशतभन्दा बढी गएको होला। तर, त्यतिमा नै बैंकहरूले मेन्टन गरी सकेको अवस्था छ।

बैंकहरूले पुँजी वृद्धिका लागि दौडधुप गरे तर निक्षेप बढाउनेतर्फ ध्यान नदिँदा समस्या भएको हो पनि भन्छन् बास्तविकता के हो ?

पुँजी वृद्धिमा दौडधुप बैंकमा काम गर्नेले गर्दैनन्। त्यो पुँजी वृद्धिमा दौडधुप गर्ने भनेको बैंक सञ्चालक, शेयर होल्डरहरुले हो। उहाँहरू दौडधुप गरिराख्नुभएको छ, गर्नु पनि पर्छ। बैंकको निक्षेप, ऋण, निक्षेप फिर्ता गर्ने भनेको व्यवस्थापकको काम हो। गरी पनि राखेको छौं। सरकारले ल्याएको बजेट कार्यान्वयन हुन्छ भनेर लागेका थियँैं, त्यो बजेट कार्यान्वयन भएन। दोस्रो नेपाल लाइभ इन्स्योरेन्समा यत्रो लगानी हुन्छ भनेर कसैलाई पनि लागेको थिएन, तेस्रो ऋण पनि युद्धस्तरमै बढेकै हो। पछिल्लो ४⁄५ वर्षमा एकदमै ऋण बढेको हो।

नेपालको कुनै पनि तथ्यांक हेर्दा आर्थिक वृद्धि यति भएको छ, पहिला वर्षभन्दा राम्रो छ भनेर कहाँबाट आएको होला ? आकाशबाट पक्कै झरेन होला, निजी क्षेत्रले काम गरेर ग्रोथ भएको हो। निजी क्षेत्रले काम गर्दा अधिंकाश काममा ७० प्रतिशत बैंकको र ३० प्रतिशत काम गर्ने हो पैसा हुन्छ, त्यही कर्जा बढेर भएको हो। अहिले कर्जाको रफ्तार कम भएको छ। अब राजस्व पनि घटेर जान्छ, ग्रोथ पनि घट्छ। अर्थतन्त्रका सबै चक्का सँगै बढ्यो भने राम्रोसँग अगाडि बढ्छ, यहाँ हाम्रो चक्काको रफ्तारमा अगाडि बढ्यो अरु चक्काको रफ्तारमा नबढेपछि समस्या भएको हो।

बैंकहरूले कर्जामा गरेको ब्याज दर वृद्धि कारण व्यवसायी टाट पल्टिने स्थिति आएको भन्छन् के हो ?

मलाई लाग्दैन त्यो सत्य हो, किनभने अहिलेसम्म कुनै व्यवसाय टाट पल्टिएको छैन, न त कुनै वित्तीय संस्था नै टाट पल्टेको छ। धेरै नेपालीले मोटर चढ्न पाएका छन्। व्यवसायीले रियल स्टेट होस् वा होटल आफ्नो कारोबार गर्न पाएका छन्। त्यो बैंकले कर्जा दिएर भएको हो। मैले अघि नै भने रफ्तारमा अलि बढी भयो होला तर अहिलेर रफ्तार कम गरेका छँैं।

निक्षेप बढाउनका निम्ति मुद्दती बचतको ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएको देखिएको छ, यसले बैंकहरू आफैंले समस्या निम्त्याइरहेका छन् भन्छन् कुरा के हो ?

जुन देशमा हामी पेट्रोलको लागि, एक किलो आलुको लागि कति पैसा तिर्यौं ? तपाई पनि जीवित हुनुहुन्छ म पनि जीवित छु। आलु पनि खाइरहेका छौं, मोटर पनि चढिरहेका छौं। कुनै पनि वस्तु वा सेवाको अभाव हुँदा त्यसको मूल्य बढ्छ। अब फेरि वस्तुको माग घटिसकेपछि मूल्य पनि घट्छ। बैंकहरूलाई सीसीडी रेसियो मेन्टन गर्नलाई बचत चाहिएको हो पछि ब्याजदर घटिहाल्छ, आत्तिनुपर्ने अवस्था छैन। यसबाट अरुले सिके कि सिकेन तर वित्तीय क्षेत्रले रामै्र सिकेका छौं ।

राष्ट्र बैकले निक्षेपको ब्याजदर समान गर्ने भनिरहेको छ। यसो गर्दा बैंकहरूलाई असर गर्दैन ?

यो कस्तो भयो भने सय बोरा चामल एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा दुई जना कामदारलाई दैनिक ५ सय रुपियाँ दिन्छु भनेको छ भने पहिलो दिन ‘कु भन्ने कामदारले २० वटा बोरा बोक्यो र ‘खु भन्ने कामदारले ५ बोरा बोक्यो। अन्तिममा पाँच⁄पाँच सय रुपियाँ दिँदा भोलि के हुन्छ ? २० बोरा बोक्नेले ५ बोरा बोक्छ कि ५ बोरा बोक्नेले २० बोरा बोक्छ ? सबैलाई जति काम गरेर पनि उही कमाउने हो भने मानिस कम काम गरेर बराबर रकम कमाउने तिर लाग्छन्। त्यही भएर राष्ट्र बैंक त्यतातिर फर्किन्छजस्तो मलाई लाग्दैन।

बैंकहरू बढी नाफामुखी भए अरु उनीहरूले सोच्दै सोचेनन् भन्ने आरोप छ यसमा यहाँको भनाइ के छ ?

नाफामुखी भएको ‘इफिसेन्सी प्रोडक्टिभिट इन्ह्यान्सु गरेको भएर पनि हो। हाम्रो बैंकिङ इतिहासमा हेर्नुहुन्छ भने ठूला सरकारी बैंक नाफामुखी नभएको भएर घाटामा जाँदा हरेक नेपालीको काँधमा कति ऋण लागेर त्यस्ता वित्तीय संस्थालाई हटाएका छौं। त्यो इफिसेन्सी, प्रोडक्टिभिटि, कानुनको शासन नल्याएर भएको हो। कुनै पनि संस्था नाफामुखी भयो भने त्यो नराम्रो चिज होइन। नाफामुखीमात्रै भयो भने नराम्रो चिज हो। एक करोड ३० लाखभन्दा बढी जनताको निक्षेप खाता रहेछ, १९ सयभन्दा बढी शाखा छन्। वित्तीय क्षेत्रको देशभर फैलिएको सञ्जाल प्रहरीबाहेक अरु कसैको छैन।

दोहाबाट डोल्पामा तीन मिनेटमा पैसा पुर्याउन सक्छौं। करदाताबाट पैसा लिएको होइन, हामी आफैं अघि बढेको हो। नेपाल राष्ट्र बैंकले ५ प्रतिशत स्प्रेड तोकेको छ। त्योभन्दा बढी हामी पैसा कमाउन सक्दैनौ। कुनै पनि होटेलमा जानुस् तपाईले कोकाकोला बाहिर किन्ने मूल्यभन्दा बढी हुन्छ। बैकिङ क्षेत्रमा पनि त्यही लागू हुन्छ। अरुभन्दा ५ प्रतिशत बढी कर पनि तिर्छौ हामी त्यही भएर यो नाफामुखी भयो भनेर लजाउदैनौं। भूकम्प जाँदा आर्मी र प्रहरीपछि बैंकिङ क्षेत्रले सेवा दिएको थियो, त्यो नबिर्सौ। आज बैक र वित्तीय क्षेत्रले जति कर धेरै कम क्षेत्रले तिर्छन्। यो क्षेत्रमा कार्यरत मान्छेले जति अरु नेपालीले कर तिर्छन् जस्तो मलाई लाग्दैन।

साधारण बचत खातामा वर्षौदेखि ब्याज नबढ्नुको कारण के हो?

मलाई एउटा संस्थाको नाम भन्नुस् जसले बचत खातामा पैसा राख्नुभएको मानिसलाई तपाईले मुद्दती खाता खोल्न पाउनुहुँदैन भनेर बन्चित गरेको छ। जसले १२ प्रतिशत पाएको छ उनीहरुले पनि १ वर्षको मुद्दती खोलेर नै पाएका छन्। तर, दुइटै हातमा लड्डु हुन सक्दैन। चाहिएपछि निकाल्न पनि पाउने र मुद्दती जत्तिकै ब्याज पाउन सकिँदैन।

निक्षेप र कर्जाबीचको ब्याज अन्तर धेरै भयो भन्दै राष्ट्र बैंकले दबाब दिइरहेको छ, यसमा बैंकरहरूको धारणा के छ ?

त्यो अन्तरभित्र हाम्रो सबै खर्च पर्छन्। यसमा हाम्रो भाडादेखि कम्युटरसम्मका खर्च हुन्। यो ५ प्रतिशत अन्तर सबै बैंकले पालना गरेका छन्। म त भन्छु अलिकति अनुसन्धान गरेर कुन–कुन क्षेत्रमा ५ प्रतिशत मात्र अन्तर छ भन्ने बुझ्नुपर्छ। उत्पादन, निर्माण, होटलमा ५ प्रतिशत अन्तर कायम गरियोस्। हामी होटलमा गएर केही खाँदा सर्भिस ट्याक्स भनेर खाएको बिलको १० प्रतिशत पैसा लिन्छ। सरकारले हामीले कुनै वस्तु वा सेवा प्रयोग गरेवापत भ्याट भनेर १३ प्रतिशत लिन्छ। उहाँहरूले पनि ५ प्रतिशतमा घटाउनु नि।

हामीले ५ प्रतिशतमा काम गर्दा सबैको आँखा लागिरहेको छ भने भ्याट किन १३ प्रतिशत त ? भ्याट पनि ५ प्रतिशतमा घटाउँ न त। यो पनि त जनताबाटै लिइरहेको हो। सरकारले बसी–बसी नाफा कमाउँदा कसैको आँखा नलाग्ने। बैंकले ५ प्रतिशत ब्याज अन्तर राख्दा किन सबैले औंला उठाउने ? तसर्थ, सबै बैंक त्यही ५ प्रतिशतमा बसेर काम गरिरहेका छन्।

कर्जाको तुलनामा निक्षेपको ब्याजदर किन नबढाउनु भएको हो ?

हामीले बढाइरहेका छौं। त्यो नबढाएको भए ५ प्रतिशत स्प्रेडमा हामी बस्नै सक्दैनौं। मान्छेहरुले कर्जाको ब्याजदर बढ्यो तर निक्षेपको बढेन भन्ने गर्छन्। त्यो भएको भए त हाम्रो स्प्रेड ५ प्रतिशतबाट बढेर ७⁄८ प्रतिशत भइसक्ने थियो।

गत आर्थिक वर्षको अन्तिम ५ महिनामा कर्जा ब्याजदर अहिलेको जत्ति नै थियो।

कर्जा लिनेलाई व्याजदर घटेकाले नाफा धेरै भयो। अहिले ब्याजदर बढ्दा उहाँहरूको नाफा घट्यो। यस अर्थमा उहाँहरूलाई घाटा भने भएको होइन, नाफा घटेको हो। ब्याजदर बढे मूल्यवृद्धि बढ्छ भन्ने मानिसको बुझाइ छ। तर, तपाईं सोच्नुस् त ब्याजदर घटेको समयमा मूल्य घटेको थियो त ?

बैंकिङ क्षेत्रमा देखिएको समस्या अब कसरी कम गर्न सकिन्छ ?

समस्या समाधान गर्न बैंकहरूले गर्न सक्ने भनेको कर्जाको रफ्तार कम गर्ने हो, जुन हामीले गरिरहेका छौं। अर्काे सरकार, राष्ट्र बैंकले उत्पादक क्षेत्रमा लगानी गर्नु भनेर दिएको ऋणलाई उचित क्षेत्रमा फोकस गर्न सकिन्छ। जुन क्षेत्रलाई राष्ट्र बैंकले अनुत्पादक भनेको छ, जस्तै अटो, रियल स्टेट, ओभरड्राफ्ट आदि हामीले त्यस क्षेत्रमा उल्लेखित रुपमा कमी गर्नुपर्ने हुन्छ। तर, यसको असर अर्कोतिर हुन्छ। राज्यको ढुकुटीमा जम्मा हुने रकमको ४० प्रतिशत त मोटरबाट आउँछ, त्यसमा कमी भने हुन सक्छ। अर्को भनेको निक्षेप परिचालनमा हामी युद्धस्तरमा लागेका छौं। हामीले घरदैलोसम्म बैंकलाई लगेका छौं। घरमै पुगेर खाता खोल्न, निक्षेप जम्मा गर्न सिकाएका छौं, यसले निक्षेप बढेको छ।

अब चुनावी खर्च हुनसक्छ। सरकारको विकास खर्च, राहत कार्यक्रम आदिभन्दा यो खर्च कयौं गुणा हुने निश्चित छ। यो खर्च प्रत्यक्ष खर्च हो जुन छरिएर अन्तिममा जालमा परेको माछाजस्तै जम्मा भएर वित्तीय क्षेत्रमा आईपुग्छ। यसले गर्दा तरलताको समस्या समाधान हुन्छ।
सबै विवरणलाई ट्रयाकिङ गर्न राष्ट्र बैंकले सफट्वेयर बनाएको छ, त्यो सफट्वेयरअन्तर्गत एक ठाउँमा फारम भरेपछि अर्को ठाउँमा भर्न मिल्दैन यस्तो भयो भने सबै रकम जफत हुन्छ। साथै पैसाको स्रोत आवश्यक पर्यो भने उपलब्ध गराउँछु भन्ने प्रतिबद्धता पनि त्यहाँ हुन्छ।

LEAVE A REPLY