पवन प्रकृति च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
पवन प्रकृतिले ललितपुर जिल्लाव्यापी नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लगातार चौथोपटक टिम च्याम्पियनको उपाधि बुधबार जितेको छ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा सर्वाधिक २ सय २७ अंकसाथ पवन प्रकृति समग्रमा टिम च्याम्पियन बनेको हो। १ सय ४० अंकसाथ सेन्ट जेभियर्स स्कुल, गोदावरी दोस्रो तथा १ सय ६ अंकसहित वज्र एकेडेमी तेस्रो भए। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १२ हजार र ९ हजार नगद पुरस्कार हात पारे।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको छात्र भलिबलमा गम्भीर समुद्र सेतु उमावि पहिलो भयो। फाइनलमा गम्भीरले फुलचौकीलाई २५–१८, २१–२५ र २५–१३ ले पराजित गर्यो। छात्रामा आदर्श सौल पहिलो स्थानमा रह्यो। आदर्श सौलले उपाधि भिडन्तामा पवन प्रकृतिलाई २५–२० र २५–८ ले हरायो।

प्रतियोगितामा भलिबलसहित एथ्लेटिक्स, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल समावेश छन्। कराते भने फागुन २७ गते हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलमा हुनेछ। भलिबल, एथ्लेटिक्स र कबड्डीको पदकलाई मात्र अंक प्रदान गरी टिम च्याम्पियनको घोषणा गर्ने प्रावधान छ।

एथ्लेटिक्समा सेन्ट जेभियर्स स्कुल, गोदावरी, तेक्वान्दोमा पिस प्वाइन्ट, इमाडोल, उसुमा प्रेरणा विद्याश्रम तथा कबड्डीको छात्र र छात्रा दुवैमा पवन प्रकृतिले उपाधि जितेका थिए। विजेतालाई ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डे, ललितपुर जिल्ला युवा समितिका अध्यक्ष रमेशचन्द्र घिमिरे र आयोजक समितिका अध्यक्ष हेराकाजी महर्जनले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रतिक्रिया दिनुहोस्