उफ् ! राजधानीको धुवाँ, धूलो र सवारी



रमेशकेसरी वैद्य

मानिसहरू राम्रो लुगा लगाएर हिँड्नु नै सभ्यताको पहिचान ठान्दछन्, तर जथाभावी फ्याँकेको फोहोरमैलाले उनीहरूको सभ्यताको वास्तविकरुपमा परिचय दिइराखेको हुन्छ। तैपनि यो तथ्यलाई उनीहरूले बिर्सेका हुन्छन्। काठमाडौंजस्तो शहरमा फोहोरमैलाको उचित व्यवस्थापनका निमित्त सरकारी प्रयास जति आवश्यक हुन्छ त्यति नै जनचेतनाको पनि जरुरत पर्दछ। अहिले आएर नगरपालिकाले यस सन्दर्भमा जे–जस्तो गरी आएको छ, त्यो प्रशंसनीय नै छ, तर यति मात्र भएर पुगेन, फोहोरमैला गर्नेहरूमाथि कडा कारबाही नहुनु अझै पनि सरकार तथा नगरपालिकाको नै कमजोरी मान्न सकिन्छ। यसका लागि सार्वजनिक महत्वका स्थानमा फोहोरमैला गर्नेमाथि कडा कारबाही हुने कुराको प्रावधान छ।

यसबाहेक सर्वसाधारण व्यक्तिहरूको लागि फोहोर संकलन गर्ने कन्टेनर र सार्वजनिक शौचालयहरूको आवश्यक छ, जुन नपुग छ। यसै सन्दर्भमा शहरहरूमा फोहोरमैला व्यवस्थापनको उचित प्रबन्ध हुन नसक्नु जनचेतनाको अभाव, गल्ती गर्नेमाथि कडा कानुनी कारबाहीको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्र, खानेपानी तथा ढल निकास संस्थान, सडक विभाग, विद्युत् प्राधिकरण र दूरसञ्चारजस्ता सरकारी निकायहरूको आपसमा समझदारीको अभाव हुनु हो।

वास्तवमा भन्ने हो भने, फोहोरबाहेक पनि सवारी समस्या, धूलो, धुवाँ र प्रदूषणले गर्दा सर्वसाधारणहरू यो नगरीबाट ज्यादै हैरान भएको आभास हुन्छ। अझै पनि समय–समयमा सडकमा पानी हाल्ने, सार्वजनिक क्षेत्रमा डीडीटी एवं औषधिहरू छर्कने कार्यहरूको अभाव देखिनछ। अभाव र कमजोरीविरुद्ध नगरपालिका तथा यससित सम्बन्धित निकायहरू, स्थानीय क्लबहरू एवं सर्वसाधारण जनताको जागरुकता नै उचित व्यवस्थापन निमित्त अपरिहार्य आधार हो। यी कुराहरू सबै मिली आत्मसात् गर्नु जरुरी छ।

यहाँ एउटा अचम्मको कुरा के छ भने, फुटपाथ पसलेलाई मात्र खेदेर फोहोर समस्याको समाधान हुनेवाला छैन। कारण, फुटपाथ पसलेहरूलाई दिनैपिच्छे प्रहरी लाएर लखेट्नुभन्दा उनीहरूलाई सस्तो र सुलभ तरिकाले व्यापार व्यवसाय गर्न पाउने ठाउँको व्यवस्था गर्नेतर्फ सोच्नुपर्दछ। यसै गरी शहरबजारमा व्यक्तिगत निर्माणको काम गर्नेलाई उचित सफाइको अनिवार्य जिम्मेवारीबोध गराउन सक्ने कानुनी प्रावधान हुनुपर्दछ। यसबाहेक बाटो ओगटेर दोकान खोली बस्नेहरूलाई नगरपालिकाले समय–समयमा कडाइ गरेको देखिन्छ, तर यसले दीर्घकालीन रुप लिन सकेको देखिँदैन।

प्लास्टिक झोला टिपेर हिँड्नेहरूले फोहोर हटाएको देखिन्छ, तर त्यस प्लास्टिकभित्र रहेको फोहोर जथाभावी खन्याई फोहोर झन् बढाइदिएका पनि हुन्छन्। यसमा पनि नगरपालिकाले केही कदम चाल्नु जरुरी छ। साथै हरेक व्यक्तिले आफ्नो घरको फोहोरका पोका राति आफ्नै घरअगाडि राख्दा राम्रो होला जस्तो लाग्छ। किनकि बिहान नगरपालिकाले वा अन्य फोहोर उठाउने ठेक्का लिएकाहरूले ती सबै फोहोर लगिहाल्छन्। यस किसिमको व्यवस्था गर्नुपर्ने देखिन्छ।

नगरपालिकाहरूले जतिसुकै हामी नगर सफा गरिरहेका छौं भनेर दाबी गरे पनि जबसम्म फोहोर गर्नेलाई जरिबाना र कडाइका साथ अघि बढ्दैनन् तबसम्म फोहोर समस्याको समाधान हुन गाह्रो छ,। मुलुकमा फोहोर फाल्ने ठाउँको समस्या त छँदै छ, फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्ने कुराहरू पनि गफमा मात्र सीमित भएका छन्।

यदि फोहोरलाई मल बनाउने प्रक्रियाको थालनी गर्ने हो भने फोहोरमैलाको समस्या समाधान हुँदै जाने कुरामा दुई मत हुन सक्दैन। अझै पनि नगरमा चौपाया गाई, गोरु, भुस्याहा कुकुरहरू छ्यापछ्याप्ती देखिन्छन्। यसलाई पनि फोहोरमैलाको संकेत मान्न सकिन्छ। समग्रमा भन्नुपर्दा जबसम्म फोहोर गर्नेहरूलाई फोहोरमैलासँग सम्बन्धित निकायहरूले मादक पदार्थ सेवनमा जस्तै कडा रुप लिन सक्दैनन् अर्थात् यसको विरुद्ध प्रहरी प्रचालन गरिँदैन तबसम्म मुलुकको फोहोरको समस्या ज्युँका त्युँ रहन्छ। जनता र सरकार दुवैले यस क्षत्रमा व्यापक ध्यान दिएमा फोहोरमैलाको समस्या समाधान हुन सक्ने तथ्यलाई पनि अस्वीकार गर्न सकिँदैन। नत्र उफ् ⁄ राजधानीको धुवाँ, धूलो, सवारी भनेर नाक–मुख थुन्दै हिँड्नुको विकल्प छैन।

प्रतिक्रिया दिनुहोस्