निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुट्दै



पोखरा, २५ फागुन । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय कास्की भने आन्तरिक तयारीमा जुटेको छ ।

आगामी वैशाख ३१ गतेको निर्वाचनका लागि कार्यालयले जनशक्तिको प्रारम्भिक अनुमान सुरु गरेको छ । निर्वाचनका लागि आवश्यक कर्मचारीका लागि सरकारी कार्यालय, संस्थान, संस्था र सामुदायिक विद्यालयका शिक्षकको नाम सङ्कलन गर्न सुरु गरेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले बताउनुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदन निर्वाचन आयोगलाई प्राप्त नभइसकेकाले जिल्लामा के कति मतदान केन्द्र रहने भन्ने निक्र्यौल भइनसके पनि यसको पूर्वतयारीका लागि कार्यालय लागिरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

मतदातालाई मतपत्रबारे जानकारी गराई निर्वाचनमा बदर मतको सङ्ख्या न्यून बनाउन मतदाता शिक्षाका लागि सबै नगरपालिका, गाउँपालिका र वडामा स्वयम्सेवक पठाउन पनि आन्तरिक तयारी सुरु गरेको छ । स्थानीय तह पुनःसंरचना आयोगले पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई समेटेर पोखरा–लेखनाथ महानगरपालिका तथा जिल्लाका ३२ वटा गाविसलाई समेटेर रुपा, मादी, माछापुच्छरे र अन्नपूर्ण गाउँपालिका बनाउन सिफारिश गरेको छ ।

कार्यालयले गत पुस १० देखि माघ १५ गतेसम्म सबै नगरपालिका र गाविसमा मतदाता नामावली सङ्कलन टोली खटाई चारहजार तीनसय ८५ नयाँ मतदाताको नाम सङ्कलन गरिसकेको छ भने निर्वाचनका लागि विभिन्न २३ दलले नाम दर्ता गराएका छन् । चार निर्वाचन क्षेत्र रहेको कास्कीमा मतदाताको सङ्ख्या दुई लाख २७ हजार पाँचसय चार रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्