सहकारी सञ्चालकमा ८९ हजार ६ सय महिला



हेटौंडा,(नेस) । १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघले ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका’ विषयक जिल्ला सहकारी महिला सम्मेलन गरेको छ ।

हेटौंडामा भएको कार्यक्रममा सहभागीले आरक्षणको रुपमा महिलाहरु अगाडि आए पनि व्यवहारिकरुपमा महिला नेतृत्व निकै कम रहेको दाबी गरे । उनीहरुले आरक्षण कोटाले महिलालाई केही नेतृत्व तहमा ल्याउन सफल गरेको भन्दै अझै पनि महिला सहभागिताको विषयमा एकजुट हुनु जरुरी रहेको बताए ।

सांसद् तथा राष्ट्रिय सहकारी संघ उपाध्यक्ष ओमदेवी मल्लले महिलालाई सवलीकरणमा ल्याउन यस्तो कार्यक्रमले मौका दिएको बताउनुभएको छ । २०४८ सालको सहकारी ऐन नै अहिलेसम्म लागु भइरहेको भन्दै उहाँले ऐन निर्माणका लागि काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले सरकारी, सहकारी र निजी भनेर अर्थतन्त्रको खम्बाका रुपमा सहकारीलाई राखिएकाले महिलाको समान सहभागिता आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले महिलाको लागि नीति निर्माणमा पहलकदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
केन्द्रीय बचत तथा ऋण सहकारी संघ लिमिटेडकी सञ्चालक शान्ति अधिकारीले सहकारीमा महिला सहभागिता, अवसर र चुनौतीको विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले आर्थिक, सामाजिक, साँस्कृतिक पक्षको स्वायत्त संस्थाका रुपमा सहकारी रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालमा ३३ हजार ५ सय ९९ वटा सहकारी रहेको भन्दै सहकारीमा महिला सहभागिता ३० लाख ८६ हजार ३ सय रहेको जानकारी दिनुभयो ।

सहकारीको सञ्चालकमा ८९ हजार ६ सय १८ महिला देखिन्छ । सहकारीमा महिला नेतृत्व कम भएको भन्दै संस्थागतरुपमा महिला सहभागिता राम्रो रहेको उहाँले बताउनुभयो । राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता तिमल्सिना भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले दीगो विकास लक्ष्यका लागि सहकारीमा सहभागिता, दीगोपन, पहिचान, वैधानिक व्यवस्था र पूँजीको बारेमा जानकारी दिनुभएको थियो ।

संघकी सचिव कल्पना श्रेष्ठले जिल्लाको सहकारीको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार जिल्लाका सहकारीमा ४७ हजार ४ सय महिला सदस्य छन् । संघमा २ हजार १ सय ९४ वटा समूह निर्माण गरी कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका सहकारीमा शेयर पूँजी ४० करोड ३० लाख, बचत १ अर्ब ९३ करोड ३२ लाखँ, ऋण लगानी २ अर्ब २९ करोड ९६ लाख रहेको बताइएको छ ।

जिल्लाका सहकारीमा तरलता १८ दशमलव ९४ प्रतिशत रहेको बताइएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष राधा सिन्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघ अध्यक्ष बद्री लम्साललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्