गाई काटेको आरोपमा ५ जना थुनामा



पर्वत, (नेस) ।

राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा ५ जना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ गाविस ८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले गौवद मुद्धामा पाँच आरोपितलाई पक्राउ गरी १९ फागुनमा पर्वत जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । मुद्धाका आरोपितलाई थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश मोहनराज भट्टराइको एकल इजलासले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले स्थानीयबासीहरुको सुचनाका आधारमा घटना स्थलको मुचुल्का सहित पक्राउ गरी आरोपितलाई मुलुकी ऐन चौपाय महलको १ नम्बर विपरित कसुर गरेको भन्दै सोही महलको ११ नम्बर बमोजिम कार्बाहीको माग दावी गरेको थियो । उक्त महलमा कसुर ठहरिएमा १२ बर्ष सम्म कैद हुने कानुनी व्यवस्था छ ।

पर्वत जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँचै जना आरोपितलाई पर्वत जिल्ला कारागारमा थुनामा राख्ने आदेश दिएको हो । यस अघि गौबदकै आरोपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका पर्वतको चित्रे गाविस ५ का रामबहादुर आइते र चित्रे ९ का मिल्के दर्जीलाई कसुर नठहरेपछि सफाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्