महिला क्षमता अभिबृद्घि कार्यक्रम संचालन



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल महिला संघ जिल्ला कार्य समिति भक्तपुरले नारी दिवसको अवसरमा महिला क्षमता अभिबृद्घि कार्यक्रम संचालन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले देशका सबै क्षेत्र र तहमा महिलाको सहभागिता बढाउनुपर्ने बताउनुभयो ।

उहाँले ज्ञान र धन, तपस्या र मेहनत नगरी प्राप्त नहुने भन्दै प्रशिक्षणले महिलालाई बाटो देखाउने बताउनुभयो । महिलालाई प्रतिष्ठापुर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नु पर्नेमा जोड दिंदै अबका महिला देशको नेतृत्व लिन सक्षम रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका पुर्व अध्यक्ष तथा युवा नेता बिनोद कायस्थले कांग्रेसले नेपाली महिलाको हक हितका लागि अग्रणी भूमिका खेलेको बताउँदै अवसर प्राप्त गरेको खण्डमा महिला पनि मुलुकको नेतृत्व लिन सक्षम रहेको बताउनुभयो । उहाँले महिला सशीक्तकरणका लागि सभा र गोष्ठी भन्दा क्षमता अभिबृद्घि कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस भक्तपुरका पुर्व जिल्ला सभापति गणेशमान चक्रधरले आधा आकाश ढाकेका महिलाको बिकास बिना देशको बिकास नहुने बताउनुभयो ।उहाले राजनीतिक परिवर्तनसँगै महिलाको आर्थिक, सामाजिक बिकास र न्याय र समानतालाई पनि सँगै अघि बढाउनुपनै बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चाँगुनारायण नगर समिति सभापति शिबहरी केसी, स्थानीय नेता उद्घब खड्का, महिला संघ भक्तपुका अध्यक्ष सरु बाँनिया लगायतले संविधानले प्रत्याभूत गरेको महिला सहभागिता कायम गर्न महिला आफैं पनि सकृय हुनु पर्ने बताउनुभयो ।

दुई दिन संचालित कार्यक्रममा भक्तपुरका ४० जना महिलाको सहभागिता रहेको संघका अध्यक्ष बानियाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्