सञ्चारमा सुप्रिया



मेहनती र इमानदार भएर यस क्षेत्रमा काम गर्ने हो भने यो फिल्डबाट आफ्नो इमेज बनाएर स्वतन्त्र भई बाँच्न सकिन्छ

रश्मी थापा
चर्चित, भीजे, आरजे तथा मिस नेवाः २००७ सुप्रिया तुलाधरले मिस नेवाःमा भाग लिनुभन्दा पहिले आफू के बन्छु भन्ने सोचेकी थिइनन्। जब उनले नेवार सुन्दरीबीचको प्रतियोगितामा प्रतिस्पर्धा गरेर मिस नेवाः २००७ को उपासध चुमिन्, उनले केही सोच्नै परेन। एकाएक आरजे र भीजे बन्न पुगिन्। मिस नेवाःको एउटै ताजले उनको करियरको पाइला अगाडि बढ्न पुग्यो। त्यो चुमेपछि सुप्रियालाई इमेज च्यानलले आफ्नो मिडियामा काम गर्न अफर गर्यो र उनले पनि सहर्ष स्वीकार गरिन्। इमेज च्यानलबाट प्रसारण हुने म्युजिक अफ योर च्वाइस, अन द रोड, पार्टी सेन्ट्रल, ई–म्याग, ई–सेलेब्सजस्ता कार्यक्रमकी प्रस्तोता भएर लोकप्रिय हुँदै जाँदा उनले अन्य इभेन्टहरूमा पनि आफूलाई उभ्याउने मौका लगातार पाइरहिन्। भर्खरै चीनबाट परराष्ट्र मामिला र कूटनीतिक सम्बन्धमा मास्टर गरेर फर्केकी उनले हाल इमेज च्यानलबाट बिदा लिएकी छिन्।

‘म मिस नेवाः हुँदा भर्खर १७ वर्षको थिएँ। त्यो बेला म के बन्ने भन्ने निर्णय नै गरेको थिइनँ। त्यो भन्दा पहिले मिडियाप्रति अलिअलि इन्ट्रेस्ट थियो। इमेजमा काम गर्न थालेपछि आफ्नो काममा इन्जोए गरेँ। लगभग १० वर्षको अवधिमा मैले धेरै नेसनल र इन्टरनेसनल लेभलका कार्यक्रमहरू चलाएको छु। यो फिल्डमा काम गर्दा धेरै मानिससँग घुलमिल होइन्छ, साथी सर्कल बढ्छ र नयाँनयाँ विषयबारे ज्ञान बढ्दै जान्छ। नयाँ नयाँ क्रियसन गर्न सकिन्छ। त्यो कारणले गर्दा पनि यो क्षेत्रप्रति आकर्षित भएँ’ –सुप्रियाले सुनाइन्। आफू मिडियामा आउँदा टेलिभिजन रेडियोको संख्या सीमित देखेकी उनले अहिले सञ्चार क्ष्ोत्र र सञ्चारमाध्यम निकै बढेको अनुभव गरेकी छिन्। ‘त्यो बेलामा त इमेज, कान्तिपुर नेपाल टेलिभिजनजस्ता ३⁄४ वटा मात्र टिभी र त्यस्तै केही रेडियोहरू थिए। अहिले मिडियाको संख्या पनि बढ्यो भने कम्पिटिसन पनि बढ्दो छ। यस क्षेत्रप्रति आकर्षित हुनेहरूको संख्या पनि धेरै छ’ –उनले उत्साहित हुँदै भनिन्।

मिस नेवाः घोषित भएको केही समयमै सञ्चारमाध्यममा काम गर्न थालेकी उनी आफ्नो घरपरिवारको साथ र सपोर्ट पाएकै कारण आज यो स्थानमा पुगेको बताउँछिन्। ‘मलाई घरपरिवारबाट निकै सपोर्ट थियो। मैले त्यो बेला टिभीमा काम गर्छ्रु भन्दा आफन्तहरूले मिडियामा काम गर्ने रे। छोरी मान्छेका लागि टिभीमा काम गर्नु ठीक हो र भनेर कुरा गरेको पनि फिल गरेँ। तर एक दुई जनालाई हेरेर सबैलाई जेनेरलाइज गर्नु हुँदैन। लेडिज भएर इमिडियामा काम गर्दा अप्रत्यक्ष रूपमा रिलेटिभ्सहरूले नै कुरा काट्ने गरेको पाउँथें। तर मलाई त्यसले कुनै असर गरेन। किनभने म सही छु र मैले रोजेको फिल्ड सही छ भन्ने मलाई थाहा थियो। त्यसैले पनि मलाई त्यस्तो कुराहरूले असर गरेन’, सुप्रियाको अनुभव छ– ‘मिडियामा काम गर्ने भएपछि कहिले कहाँ कहिले कहाँ पुगिरहनुपर्ने हुन्छ।

कार्यक्रमहरूमा जाँदा कहिलेकाहीं घर जान पनि ढिला हुन्छ। तर त्यस्तो बेला मलाई परिवारबाट कुनै अब्जेक्सन भएन। म कहाँ छु र कस्तो कार्यक्रममा छु भन्ने कुरा घरमा थाहा हुन्थ्यो। मैले टेलिभिजनमा मात्र होइन, अन्य ठूलाठूला कार्यक्रममा पनि एमसी गरेको छु। नेसनल र इन्टरनेसनल लेभलको कार्यक्रमदेखि लिएर सिंहदरबारमा भएका कार्यक्रममा पनि एमसी गरेको छु। यी सबैका कारण मेरो कामहरू देखेर पहिले कुरा काट्ने मानिसले पनि यो फिल्ड ठीक रहेछ भन्ने कुरा बुझ्दै गएका छन्।’ कामको सिलसिलामा महिला र पुरुष दुवै सहकर्मीबाट उत्तिकै सपोर्ट हुने गरेको अनुभव उनलाई छ।

महिलाहरू आत्मनिर्भर हुनुपर्छ भन्ने कुरामा उनी जोड दिन्छिन्। ‘मानिस भएर जन्मिएपछि महिला होस् या पुरुष आत्मनिर्भर त हुनैपर्छ। शहरमा त त्यस्तो कुनै समस्या छैन। यहाँका महिला तथा पुरुष आत्मनिर्भर नै छन्। तर दुर्गम ठाउँका कतिपय दिदीबहिनीको आर्थिक स्वतन्त्रता शहरका दिदीबहिनीको जस्तो छैन। उहाँहरू पनि आत्मनिर्भर हुन जरुरी छ। आर्थिक स्वतन्त्रताले गर्दा मानिसलाई धेरै फाइदा पुग्छ’, भन्छिन्– ‘हामीले आआफ्नो क्षेत्रबाट विषेष गरी महिलाले महिलालाई माथि उठाउनका लागि केही न केही गर्नुपर्छ। म कार्यक्रमको सिलसिलामा धेरै ठाउँहरू पुगेको छु। दुर्गमका कतिपय ठाउँमा महिलाको अवस्था निकै दयनीय छ। त्यस्ता ठाउँमा पुग्दा विभिन्न घटना देखेको छु। यस्तो बेला उनीहरूलाई सपोर्ट हुने गरी बोलिदिएर हुन्छ या केही हेल्प गरेर हुन्छ, केही न केही सपोर्टिभ काम गरिरहेको हुन्छु। साथै टिभी रेडियोमाका विभिन्न कार्यक्रममार्फत् पनि महिलाका लागि आवाज उठाउन सकिन्छ। परिवर्तनका लागि आफू पनि त्यसको पार्ट बन्न सक्नुपर्छ।’

सञ्चारकर्मलाई मूल पेसा बनाई जीविकोपार्जन गर्न गाह्रो नभएको उनी बताउँछिन्। ‘मेहनती र इमानदार भएर यस क्षेत्रमा काम गर्ने हो भने यो फिल्डबाट आफ्नो इमेज बनाएर स्वतन्त्र भई बाँच्न सकिन्छ भन्ने कुरा माल्भिका सुब्बा, सुगरिका केसी दिदीहरूले पनि प्रमाणित गरिसक्नुभएको छ। यो क्षेत्रले महिलाहरूलाई आत्मनिर्भर बनाएको छ’, उनी भन्छिन्– ‘म यही क्षेत्रबाट आत्मनिर्भर छु। केही समयअघि मात्र म चाइनाबाट परराष्ट्र मामिला र कूटनीतिक सम्बन्धमा मास्टर्स सकेर आएँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको यो कोर्सको चार सेमेस्टरमध्ये एक सेमेस्टरका लागि चीन गएको थिएँ। मैले यो कार्स स्कलरसिप पाएर गरेको थिएँ। हाल म इमेज च्यानलबाट बिदा लिएर बसेकी छु। पढाइको कारण विभिन्न अवसरहरू आइरहेका छन्। मैले पढेको विषयअनुसारको काम पाएँ भने म अन्तर्राष्ट्रिय स्तरमा महिलालाई सजिलो हुने महिलामैत्री व्यवस्थाहरू निर्माण गर्न पहल गर्नेछु।’

कुनै पनि क्षेत्रमा महिलालाई आरक्षण दिनु आवश्यक भएको सुप्रिया बताउँछिन्। ‘शहरका महिलाका लागि त आरक्षणको व्यवस्थाले केही फरक पार्दैन। किनभने अधिकांश महिला पुरुषसरह नै सक्षम छन्। यसको मतलब शहरमा आरक्षणको व्यवस्था जरुरी छैन भन्न खोजेको होइन, तर हाम्रो सामाजिक चालचलन, रीतिरिवाज र सामाजिक सोचका कारण अझै पनि धेरै महिला खुलेर बाहिर आउन सकेका छैनन्। यसका लागि पनि विभिन्न क्षेत्रमा महिला सहभागिता बढाउनका लागि पनि महिला आरक्षण हुनु राम्रो कुरा हो। यसले महिलाको अवस्था र विकासमा सकारात्मक भूमिका खेल्छ। आधुनिक नेपालका महिला आर्थिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रताको उपभोग गर्दै समाजमा आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छन्’ –उनको भनाइ छ।

लामो समयसम्म काम गरेको सञ्चार संस्थाबाट बिदा लिएकी उनी आगामी दिनमा पनि यही क्षेत्रमा आबद्ध हुने बताउँछिन्। ‘मैले एक दशकदेखि इमेज च्यानल र इमेज एफएममा लगातार काम गर्दै आएकोमा हाल इमेज च्यानल छोडेको छु। तर आगामी दिनमा पनि म सञ्चारकर्ममै हुनेछु। केही दिनमै मलाई विभिन्न कार्यक्रममा होस्ट गरिरहेको देख्न सक्नुहुनेछ’ –सुप्रियाले सुनाइन्।

प्रतिक्रिया दिनुहोस्