सम्मान गरौं, दिवस कुर्नुपर्दैन

युडेन कोइराला
मानव तथा संस्थागत विकास प्रबन्धक, वाटर ऐड नेपाल

तत्कालीन ग्रिनल्यान्ड बैंक हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १० वर्ष, त्यसपछि लक्ष्मी बैंकमा करिब १२ वर्षको बैंकिङ अनुभव लिनुभएकी युडेन कोइराला केही महिनाअघिदेखि विकास साझेदार संस्था वाटर एड नेपालमा मानव तथा संस्थागत विकास प्रबन्धकका रूपमा कार्यरत हुनुहुन्छ। आफूूमा योग्यता, क्षमता र आत्मविश्वास भएपछि कसैको भनसुनविना पनि महिलाले महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न सक्ने उहाँको तर्क छ। यस्तै स्वाभिमानी र आत्मविश्वासी कोइरालासँग नेपाल समाचारपत्रका लागि टीका बन्धनले गरेको कुराकानीको महत्त्वपूर्ण अंश ः

बैंकिङ क्षेत्रमा तपार्इंको प्रवेश कसरी भयो, लामो अनुभवको क्षेत्र छोडेर अर्को जिम्मेवारीमा किन लाग्नुभयो ?

स्ट्यान्डर्ड चार्टर बैंकमा मेरो सेवा टेलरबाट शुरू भएको थियो, पछि विभिन्न महत्त्वपूर्ण पदमा त्यो बैंकमा काम गरेको अनुभव छ। लक्ष्मी बैंकमा पनि विभिन्न पद हुँदै मैले पछिल्लो समयमा ‘हेड अफ अपरेसन्स’ र ‘सर्भिस एक्सिलेन्स’ जस्तो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेकी थिएँ। त्यस्तो महत्त्वपूर्ण जिम्मेवारीमा काम गरिरहँदा म खुसी थिएँ, तर अब मैले केही परिवर्तन गर्नुपर्छ भन्ने महसुस गरें। मैले बैंकिङ सेवा छोड्नु र अहिले वाटर एडको यो जिम्मेवारीमा हुन धेरै समय कुर्नु परेन। भगवानको कृपाले भनौं वा छोटो अवधिमा यस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने मौका मिल्यो।

बैंकिङ क्षेत्र परिवर्तन गर्दा आफन्त र साथीहरूले के कस्तो प्रतिक्रिया जनाउनुभयो ?

धेरैले सोध्नुभयो, के समस्याले किन छोडेको भनेर आफन्तहरूले चासो दिनुभयो। बैंकिङ सेक्टरमा अनुभव भएको मान्छे यही सेक्टरमा रहनुपर्छ भनेर धेरैले सुझाव पनि दिनुभयो। तर रहर र चाहनाले अहिले डेभलपमेन्ट सेक्टरमा आएकी छु।

दुई दशक लामो बैंकिङ अनुभव लिएर फरक जिम्मेवारीमा आउँदा केही गाह्रो भएन ?

पक्कै पनि केही समय अलि फरक महसुस भयो। जीवन परिवर्तन नै भएजस्तो लाग्यो। हामी महिलाहरू संयम र परिस्थितिअनुसार नयाँ जिम्मेवारी पनि सम्हाल्न सक्छौं भन्ने कुरा मैले महसुस गरें। महिलाका रूपमा हामी छोरी हो, श्रीमती, आमा हो। जसरी समयअनुसार हामी महिला फरक भूमिकामा हुन्छौं, त्यसै गरी कार्यालयको काममा पनि परिवर्तन हुन सक्छौं। यस्तै कुरा सोचेर मैले, मलाई परिवर्तन गर्न सकेंजस्तो लाग्छ।

तपाईंले यस्तो भन्दा र गर्दा उच्च शिक्षा हासिल गरेका धेरै महिला एउटै जिम्मेवारी र क्षेत्रमा मात्र पनि सीमित रहेको अवस्था पनि त छ ?

मेरो व्यक्तिगत विचारमा महिला मात्र होइन सबै मानव समुदाय नै ‘कम्फोर्ट जोन’ खोज्छौं, कुनै काम गर्दै गर्दा सजिलो महसुस गर्छांै। तर एउटै अफिसको कुरामा पनि कसैको डिपार्ट परिवर्तन भयो अथवा नयाँ काम थपियो भने तर्किन खोज्छौं। महिला मात्रै होइन सबैलाई यस्तो हुन्छजस्तो लाग्छ। मेरो अनुभवमा महिलालाई सफल बन्न, महत्त्वपूर्ण जिम्मेवारी र भूमिका सम्हाल्न धेरै चुनौती छन्। हामीले नारी दिवस मनाउँछौं, महिला अधिकार र महिलालाई समानताको कुरा गर्छौं। तर म महिलालाई समानता र अधिकार दिनुपर्छ भन्ने कुरामा विश्वास गर्दिनँ। हामी नारी दिवस मनाउँछौं किनकि हामी पुरुषहरू जस्तै चुनौतीपूर्ण ढंगले काम गर्न सक्दैनौं, उस्तै तह र अवसरमा रहेर काम गर्न खोज्छौं। कतिपय अवस्थामा महिला नै म्यानेजर भएर धेरैलाई आफ्नो मातहतमा राखेर काम गर्नुपर्ने अवस्था र अवसर पनि छ। तर फरक यो पनि छ कि हामी कार्यालयबाट फर्किंदै गर्दा राम्ररी ब्यागसमेत थन्क्याउन नपाई घरायसी कामकाज र किचेनमा व्यस्त हुन्छौं।

अफिसमा रहेको महत्त्वपूर्ण जिम्मेवारीलाई बिर्सिएर घरको कामकाजमा व्यस्त बन्नुपर्छ, बच्चाको हेरचाहमा जुट्नुपर्छ, गर्नैपर्छ। डेभलपमेन्ट सेक्टरमा मैले त्यस्तो कुरा अझै अनुभव गर्न पाएको छैन, तर कर्पोरेट सेक्टरमा चाहिँ त्यस्तो धेरै छ।


घर बाहिर व्यस्त रहने महिलालाई समाजले फरक ढंगले हेर्ने चलन अझै छ, समाजको त्यस्तो सोच बदल्न अझै कति समय लाग्ला ?

केही उदाहरणीय परिवर्तन त भइरहेकै देखिन्छ, खास गरी शहर बजारमा परिवर्तन देखिँदै गएको छ। तर ठूलो जनसंख्या त गाउँ र पिछडिएको क्षेत्रमा पनि छ। त्यहाँ पनि सचेतना भन्ने कुरा त आइरहेको छ। महिलाहरू समानता र अवसरका कुरा गर्छन्, केहीले सानोतिनो भए पनि जागिर खाइरहेका छन्। शहरकै कुरा गर्दा पनि पहिलाको महिलाहरूको आत्मविश्वास र ड्रेसअपको शैलीमा धेरै परिवर्तन आइरहेको छ। हाम्रो सामाजिक र सांस्कृतिक परिवेशले हामी तत्कालै समाज पूरै बदल्न सक्दैनौं, तर समयअनुसार केही परिवर्तन भने पक्कै हुन्छ। रुढिवादी सोच र अभ्यास अपनाउने परिवार र समाजमा कहीं कतै त्यस्तो समस्या होला।

यससँगै महिलाहरूले घर बाहिर आफू स्थापित हुन घरबाटै संघर्ष गर्नुपर्ने अवस्था पनि छ, बुबा–आमा, दाजु–भाइ र आफन्तहरूसँग प्रत्यक्ष⁄अप्रत्यक्ष संघर्ष गर्नुपर्ने अवस्था पनि हुन्छ। तर सत्य यो पनि छ कि महिलाले घर र पुरुषको साथ र सहयोगविना एक्लै अघि बढ्न सम्भव पनि हुँदैन। मैले भन्न खोजेको पुरुषहरूले घरको काममा केही सघाउँदैनन् भन्ने होइन, धेरैले श्रीमतीको काममा सघाउ पुर्याइरहेका छन्। तर स्वभावैले महिलाहरूले केही बढी गर्नैपर्छ, एकातिर चाहिँ केही बढी सम्झौता गर्नैपर्छ, त्यो मैले पनि गर्नुपर्छ अरूले पनि। उदाहरणका लागि घरमा कुनै एउटा पूजा छ, कुनै कार्यक्रम छ वा बच्चा बिरामी छ भने छुट्टी कसले लिने भन्दा आमा भएकाले, बुहारी भएकाले श्रीमतीले नै बिदा लिनुपर्ने हुन्छ।

महिलाहरूले कामको सिलसिलामा धेरै प्रकारका चुनौती सामना गर्नुपर्छ भनिन्छ, तपाईंलाई त्यस्तो केही अप्ठ्यारो परेको छ ?

मलाई त्यस्तो अप्ठ्यारो परेको अनुभव त छैन, कामको सिलसिलामा धेरै ठाउँमा पुग्दा त्यस्तो समस्या हुन्छ भन्ने सुनेको चाहिँ छु। पक्कै पनि एउटा पुरुषलाई बाहिर गएर काम गर्न जति सहज हुन्छ त्यस्तो महिलालाई हुँदैन। जस्तै फिल्डमा गएको बेला बस्नुपर्ने होटल कति सुरक्षित हो, त्यहाँ कस्तो मान्छेहरूको चहल–पहल हुन्छ होला भन्ने सोचाइ महिलालाई हुन्छ। आफूले काम गरिरहेको संस्थामा जाने आउने क्रममा महिलाहरूले सावधानी अपनाउनुपर्छ।

मेरो बैंकिङ अनुभवकै क्रममा पनि धेरै महिलाहरू पढाइमा योग्य भएको पाएँ। तर जिम्मेवारी लिने कुरामा धेरैले आँट पनि नगर्ने पनि देखेकी छु। आत्मविश्वासको कमी, घरपरिवारसँग जोडिएको जिम्मेवारी, ‘अड आवर’ मा पनि काम गर्नुपर्ने बाध्यता हुन सक्ने भएकाले धेरै महिला क्षमता हुँदाहुँदै पनि पछि पर्नुपर्ने अवस्था छ। जस्तै २⁄४ दिन अफिस बाहिर ट्रेनिङ वा फिल्डमा जानुपर्ने अवस्था आयो भने धेरै महिलाले पहिला घरमा सोध्नुपर्ने, घरबाट हुन्छ भन्ने जवाफ आयो भने मात्र जान मिल्ने हुन्छ। कतिपयको त बच्चालाई माइत र आफन्तकोमा पुर्याउनुपर्ने बाध्यता पनि छ। फिल्डको कुरा यदि पुरुष कर्मचारीलाई पर्यो भने उसले कसैलाई सोधिरहनु पनि पर्दैन, घरपरिवारले पनि आपत्ति जनाउँदैन।

कतिपय अवस्थामा महिलालाई अघि बढ्न र महत्त्वपूर्ण जिम्मेवारी दिन हुँदैन, दिइयो भने पुरुष आफैं पछि पर्छ भन्ने पनि छ। महिलाले कुनै ठाउँमा आफ्नो विचार राख्दा किचकिच गरी, धेरै जान्ने भई भने जस्तो हुन्छ तर त्यही ठाउँमा पुरुषको कुरा आयो भने पक्कै पनि केही महत्त्वपूर्ण कुरा भन्छ है भने जस्तो हुने, पुरुषको कुरालाई प्राथमिकता दिनुपर्ने जस्तो पनि हुन्छ। तर मेरो सवालमा त्यस्तो भएन, मलाई लागेको कुरा प्रस्ट रूपमा भन्ने मेरो बानी छ।

नारी दिवसको अवसरमा समग्र नेपाली नारीलाई के सन्देश दिन चाहनुहुन्छ ?

आफू महिला भएको नाताले म अहिले जुन जिम्मेवारीमा छु, मेरो आफ्नो प्रयासबाट यो ठाउँमा आएको छु, कसैको भनसुनविना यो ठाउँसम्म आएकी छु।

कुरा मेरो मात्र होइन, अन्य महिलाहरूले पनि प्रयास गर्दा महत्त्वपूर्ण जिम्मेवारी र ठाउँमा पुग्न सकिन्छ। तर भित्रैदेखिको आत्मविश्वास र दृढ इच्छाचाहिँ हुनुपर्छ। हामी महिला भएको नाताले के गर्व गर्नुपर्छ हामीमा पुरुषको तुलनामा धेरै तनाव र समस्या सामना गर्ने क्षमता हुन्छ। त्यसै गरी घर र अफिसको कामलाई सन्तुलित र राम्रो ढंगबाट अघि बढाउन सक्ने क्षमता पनि हुन्छ। यस्ता कुराहरू मनन गर्दै, स्मरण गर्दै नारी दिवस मनाऔं।

प्रायः महिला दिवसको आसपासमा मात्र महिला अधिकारलगायतका कुरा स्मरण गर्ने चलन पनि छ नि ?

मलाई त्यस्तो लाग्दैन। महिला दिवसमा चाहिँ हामी महिलाले विशेष रूपमा मनाउने गर्छौं, हाम्रा लागि स्मरण गराउने दिन पनि हो। तर दिनमा पनि हामीले आफ्ना स्टाफहरूलाई कामको जिम्मेवारी दिने क्रममा तपार्इंमा त्यो सम्भावना छ, भन्ने कुरा स्मरण गराउँछौं, उत्साह दिन्छौं। तर दिवसमा मात्र यस्तो कुरा स्मरण गर्नुपर्छ, गरिन्छ भन्ने कुरा मलाई लाग्दैन। एकआपसलाई सम्मान गर्न सिकौं, जानौं दिवस कुरी रहनुपर्दैन। भएको क्षमता र योग्यतालाई हामी आफैंले अवमूल्यन गर्नु भएन, तपार्इंहरूमा त्यस्तो धेरै सम्भावना छ, जुन अरूले गर्न सकेका छन् भन्ने कुरा बिर्सनु हुँदैन।

LEAVE A REPLY