महिलाले चाहे केही असम्भव छैन भन्ने सन्देश दिएका छौं : श्री तारा ब्यान्ड



नेपाली सांगीतिक फाँटमा महिला प्रतिनिधित्व पनि उस्तै दरिलो खम्बा सावित भएको छ। आफूलाई नेपाली मौलिक सांगीतिक धुनको अब्बल ब्यान्ड सावित गर्न सफल भएको छ, महिलाको सांगीतिक समूह श्री तारा ब्यान्ड।

सन् २००९ मा स्थापना भएको महिला सांगीतिक समूह श्री तारा ब्यान्ड ८ वर्षको दौरानमा लोकप्रिय र आकर्षक ब्यान्ड बन्न सफल भएको छ। यो ब्यान्डको गठनमा लोकप्रिय गायिका आनी छोइङ डोल्माको विशेष हात रहेको ब्यान्डका सदस्यहरुले खुलाए। आनीले महिलाको सांगीतिक समूह बनाउने भए सहयोग गर्ने भन्दै हौस्याएपछि ३ महिला मिलेर यो समूहको गठन गरेका हुन्। यो सांगीतिक समूहको नाम पनि गायिका डोल्माले नै जुराइदिएकी रहिछन्।

नेपाली लोकबाजामा धुन प्रस्तुत गर्दै लोकप्रियता कमाउन सफल यो समूहले आफ्नो स्थापनाकालदेखि नै महिला सदस्यलाई मात्र लिएर अघि बढिरहेको छ। ब्यान्डमा हाल शारदा डंगोल मादल, रोजिना डंगोल बाँसुरी र सुजिना वज्राचार्य सारंगीमा रहेका छन्। आवश्यक परेको खण्डमा भने उनीहरुको यो समूहमा अन्य दुई जना सदस्य पनि थपिने गरेको छ। उनीहरुमध्ये ३० वर्षीया शारदा मात्र विवाहित हुन्। शारदा फार्मेसी सञ्चालन गर्छिन् भने २५ वर्षीया रोजिना महर्जन मिलन क्लब नेपाल–जापान नामक गैरसरकारी संस्थामा कार्यरत छिन्। त्यस्तै २२ वर्षीया सुजिना विद्यालयमा पढाउँछिन्। उनी नृत्य पनि सिकाउँछिन्। यो सांगीतिक समूहले नेपालको विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिइसकेको छ भने केही समयमा हुन लागेको श्री तारा नेपाल टुर नामक सांगीतिक यात्राको तयारी गरिरहेको छ। महिलाका लागि प्रेरणादायी सावित ब्यान्डका सदस्यहरुसँग अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ :


ब्यान्डमा कहिलेदेखि हुनुहुन्छ ?

शारदा : म त स्थापना कालदेखि नै यो ब्यान्डमा सक्रिय छु। पहिलेका अन्य साथीहरुले भने विभिन्न कारणले ब्यान्ड छोड्नुभयो। कोही बिहे गरेर घरजममै व्यस्त हुनुभयो भने कतिले घरायशी र अन्य कारणले समय दिन नसकेकाले ब्यान्ड छोड्नुभयो।

रोजिना : मचाहिँ यो ब्यान्डमा ३ वर्षदेखि सक्रिय छु, इन्जोय गरिरहेकी छु।

सुजिना : म पनि ब्यान्डमा आएको ३ वर्ष भयो ।

स्टेज प्रस्तुति दिँदा कस्तो अनुभव हुन्छ ?

शारदा : निकै गर्व र रमाइलो अनुभव हुन्छ। हामीभन्दा पहिले पनि अरू लेडिज ब्यँन्ड छ भनेको सुनेको थिएँ, तर मौलिक बाजामा धुन मात्र प्रस्तुत गर्ने हामी नै पहिलो ब्यान्ड भएका छौं।

रोजिना : हाम्रो पर्फमेन्सबाट दर्शकले इन्जोए गरिरहेको देख्दा आफूलाई पनि इन्जोए हुन्छ। झन् इन्करेज मससुस हुन्छ।

सुजिना : म्युजिकमा इन्ट्रेस्ट भएको र यही क्षेत्रमा केही गर्छु भनेर नै यो ब्यान्डमा लागेको हो। त्यसैले कार्यक्रममा पर्फमेन्स गर्दा रमाइलो महसुस हुन्छ।

महिला समूह भएकै कारणले केही समस्या भएको छ ?

शारदा : हामी जस्तोसुकै कार्यक्रममा जाँदैनौं। बाहिरको कार्यक्रममा जानुपर्दा राम्रोसँग बुझेर मात्र जान्छौं। त्यसैले अहिलेसम्म हामीले त्यस्तो केही समस्याको सामना गर्नुपरेको छैन।

रोजिना : त्यस्तो समस्या छैन। बरु धेरै ठाउँबाट पर्फमेन्सका लागि अफर आइरहेका हुन्छन्। तर, बोलाइएको सबै ठाउँमा पुग्न सम्भव भइरहेको छैन।

सुजिना : केही गर्छु भनेर आएपछि स–साना समस्या त आइपरिहाल्छन्, तर त्यसलाई समस्याको रूपमा लिनुहुँदैन।

कार्यक्रमको सिलसिलामा विभिन्न स्थानमा गइरहनुपर्ने तथा घर पुग्न ढिला हुने गर्छ। यस्तो अवस्थामा महिला भएकै कारण केही अप्ठेरो हुन्छ कि ?

शारदा : त्यस्तो केही समस्या छैन। पहिलेभन्दा निकै सजिलो छ। पहिले–पहिले त घरबाट गाली गर्नुहुन्थ्यो। तर, पछि राम्रो काम रहेछ भनेर बुझ्दै जानुभयो।

रोजिना : त्यस्तो केही मान्नुहुन्न राम्रँे छ। सबैले बुझ्नुहुन्छ।

सुजिना : घर–परिवार बुझ्ने र ममी ड्याडीको सपोर्ट भएकाले गर्दा नै ब्यान्डमा आएको हो। त्यसैले त्यस्तो केही समस्या छैन।

आफ्नो क्षेत्रबाट महिलाहरुलाई माथि उठाउन कस्ता कामहरु गर्न सकिन्छ जस्तो लाग्छ ?

शारदा : महिलाले पुरुषसरह काम गर्न सक्दैनन् भन्ने सोचाइ हाम्रो समाजमा छ। केही गर्न खोजे पनि कुरा काट्ने चलन अझै छ। त्यसमा पनि हामीले ब्यान्ड शुरु गर्ने बेलासम्म महिलाले बाजा बजाउन हुन्न भन्ने चलन थियो। केही काम गर्छु, कुनै ठाउँमा जान्छु भन्दा नजा, नगर भन्ने चलन थियो। तर, अहिले त्यस्तो छैन। अहिले महिला पनि यस्ता बाजा बजाउन सिक्ने, सिकाउने गरिरहेका छन्। यसो हुनुमा हाम्रँे ब्यान्डको पनि केही भूमिका छजस्तो लाग्छ। त्यस्तै राम्रो पर्फमेन्स देखेर समाजमा महिलाले गर्न चाहे केही पनि असम्भव छैन भन्ने सन्देश दिएको छ। यो सन्देश दिन सफल हुनु पनि एउटा राम्रो कदम होजस्तो लाग्छ।

रोजिना : संगीतमार्फत् पनि केही गर्न सकिन्छ। केटाले यही काम गर्न सक्छ भने केटीले किन नसक्ने भनेर अरू लेडिजलाई इन्सपाएर गर्न सकिन्छ र हामीले गरेका पनि छौं।

सुजिना : महिलाले घरदेखि अफिससम्मका कामहरु गरिरहेका छन्। त्यतिमा मात्र सीमित नभएर महिलाले चाह्यो भने कुनै पनि काम गर्न सक्छन्, उनीहरु हरेक कुरामा छोरा मान्छेजस्तै काम गर्न सक्छन् भन्ने मेसेज समाजलाई दिन सकिन्छ।

कहिलेकाहीं आफ्नो समूहमा पुरुष सदस्यको अभाव महसुस हुन्छ ?

शारदा : हामीलाई कहिले पनि त्यस्तो लागेन। कुनै कार्यक्रममा सामानहरु बोक्न र लैजान पर्छ। त्यो पनि हामी आफैं गर्छौं। कतिपय अवस्थामा गाह्रो परे आयोजकले पनि व्यवस्था गरिदिनुहुन्छ। शुरुमा नै केटीको ब्यान्ड भनेर खोलेपछि केटा भएको भए हुने भनेर कहिल्यै सोचिएन। हामी केटाहरुको ब्यँन्डजस्तै सक्षम छौं। उनीहरुले गर्ने काम र हामीले गर्ने काममा केही फरक नै छैन भने किन ब्यान्डमा केटा चाहियो ?

रोजिना : त्यस्तो लाग्दैन। त्यस्तो लाग्न पनि भएन नि। काम गर्दा सजिलो, अप्ठेरो त भइहाल्छ नि। तर, त्यो पनि हामी आफैं सम्हाल्न सक्छौं।

सुजिना : लाग्दैन त्यस्तो त।

विभिन्न क्षेत्रमा महिलालाई आरक्षण जरुरी छ कि छैन ?

शारदा : महिलाको विकासका लागि आरक्षण जरुरी छ। किनभने महिलाहरु हरेक क्षेत्रमा पछि परेका छन्। यो युरोपियन कन्ट्री भएको भए आरक्षण चाहिँदैन भन्न सकिन्थ्यो। किनभने त्यहाँ महिला र पुरुषमा कुनै भेदभाव नै छैन। महिला हरेक क्षेत्रमा पुरुषसरह सक्षम र स्वतन्त्र छन्। तर, नेपालमा त्यस्तो छैन। यहाँ त अति सामान्य कारणहरुमा पनि महिलालाई दोष दिइन्छ। महिला राम्रो कामले घर ढिला आए पनि किन ढिला आइस् भन्ने प्रश्न हुन्छ। महिलालाई पनि पुरुषसरह अधिकार दिन र उनीहरुलाई पुरुषसरह सक्षम बनाउन आरक्षण जरुरी छ।

रोजिना : आरक्षण त एकदमै चाहिन्छ। किनभने हाम्रो सोसाइटीमा मेललाई भन्दा फिमेललाई कम अपच्र्युनिटी दिइएको छ। हाम्रो समाज नै कन्टेमप्रोपरी सोचको छ। हरेक कुरामा मेललाई मात्र अगाडि आउन दिइएको छ। खाली मेललाई मात्र फोकस गरेको छ। त्यसैले पनि महिला आरक्षणले गर्दा महिलालाई नै फाइदा पुग्ने भएकाले आरक्षण जरुरी छ।

सुजिना : कतिपय ठाउँमा आरक्षण मानसिकतामा भर पर्ने कुरा हो। तर, आरक्षण भनेको महिला कमजोर छन् भनेर दिनुचाहिँ ठीक होइन। कतिपय ठाउँमा भने महिलाले सक्षम भएर पनि अवसर पाइरहेका छैनन्। त्यस्तोमा चाहिँ महिला आरक्षण जरुरी छ। तर, नुहनुभन्दा आरक्षण त भएकै ठीक हो।

ब्यान्डको अबको योजना के छ ?

शारदा : केही दिनमा हाम्रो ब्यान्डले श्री तारा टुरमार्फत् देशका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदै छ। विदेशमा पनि यस्तै खालको कार्यक्रम गरी श्री तारा ब्यान्डलाई संसारभरि चिनाउने मन छ।

रोजिना : धेरै ठाउँमा पर्फमेन्स गरेर श्री तारा ब्यान्डलाई सबै माझ चिनाउने सोच छ।

सुजिना : संगीतमै केही गरेर आफ्नो र ब्यान्डको नाम राख्ने रहर छ।

प्रतिक्रिया दिनुहोस्