लगानी बढाउन बैक तथा वित्तीय क्षेत्रलाई आग्रह



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको आर्थिक वृद्धिदर र औद्योगिक विकास गर्नका लागि बैक तथा वित्तीय क्षेत्रहरूलाई ऊर्जा, यातायात र पर्यटनका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ।

ग्लोबल एलायन्स फर बैंकिंङ अन् भ्यालुज (जिएबिभि) को ९औ वार्षिक सम्मेलन काठमाडौंमा उद्घाटन गर्दै दाहालले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। उहाँले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो। सरकारले केन्द्रीय बैंकमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी प्रवद्र्धन गर्न पहल गरेको बताउँदै प्रधानमन्त्रीले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। नेपाललाई २०२२ सम्ममा विकोसोन्मुख मुलुकबाट विकासशील मुलुकमा लैजानका लागि प्राकृतिक स्रोतको अधिकतम् उपयोग गर्न अन्तर्राष्ट्रियस्तरका ठूला आयोजनामा लगानी गर्नुपर्ने दाहालले बताउनुभयो।

उहाँले ठूला आयोजनाले नेपालमै रोजगारी सिर्जना गरी विदेशिने नेपालीको संख्यामा कमी आउने उहाँले बताउनुभयो। हालै सम्पन्न भएका दुई ठूला सम्लेलन नेपाल भौतिक पूर्वाधार विकास सम्मेलन र लगानी सम्मेलन भएको र देशको विकाशमा सबै पार्टी र दल पनि सकारात्मक भएर लागेकाले लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न मद्दत पुगेको प्रधानमन्त्री दाहालले बताउनुभयो।
सम्मेलनमा विभिन्न २८ राष्ट्रका १ सय २० जना प्रतिनिधिको सहभागिता रहेको थियो। उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ। उक्त सम्मेलनमा सहभागीहरूले दक्षिण पूर्वी एसियामा मूल्य मान्यतामा आधारित बैंकिङको उपलब्धि र चुनौतीका बारेमा जानकारी लिनेछन्। सम्मेलनमा एनएमबी बैकले जिएबिभिसंग आबद्ध बैकहरू कसरी नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व पनि बहन गरिरहेका छन् भन्ने विषयमा सहभागी वित्तीय संस्थालाई जानकारी गराएको थियो। सम्मेलनले सहभागीहरूका लागि स्थानीय समुदायका मूल्य मान्यतामा आधारित बैंकिङको सफलताको बारेमा जानकारी प्रदान गर्न सजिलो हुनेछ। विभिन्न संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू बीचको छलफल, नियमनकारी संस्था, मानव संशोधन विकास समुह, सल्लाहकार समितिको र लिडरसिप एकेडेमीका युवा बैंकरहरूको समुहका सम्बन्धमा समानान्तर गोष्ठी, प्रेरणादायी सिकाई यात्राहरू र कार्य सम्पादन प्रयोगशाला जस्ता विषयले हाल वित्तीय क्षेत्रका समस्या, चुनौती र अवसरका बारेमा बुझ्न सहयोगी भूमिका खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्