संयमता अपनाऔँः इन्सेक



काठमाडौं, नेस ।

सप्तरीको राजविराजमा सोमबार साँझ भएको घटनामा ३ जनाले ज्यान गएकोमा दुःख व्यक्त गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले संयमता अपनाउन सरकारसँग माग गरेको छ ।

इन्सेकले मंगलबार विज्ञप्ती जारी गर्दै भनिएको छ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा मृत्यु भएको मृतकका परिवारलाई राहत र घाइते भएकाहरूलाई उपचारको निःशुल्क व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछौँ ।
मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८, राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र १९६६ तथा नेपालको संविधानको भाग ३ धारा १७ को उपधारा २ ‘क’, ‘ख’ र ‘ग’ ले शान्तिपूर्ण जुलुस, सभा र सङ्गठन गर्न पाउने अधिकार प्रदान गरेको छ ।

यस्ता किसिमका हिंसात्मक आन्दोलनका क्रममा मानवीय क्षति हुन नदिन भिड नियन्त्रण गर्ने कलामा प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्न, भिड नियन्त्रण गर्ने स्रोत साधनको उपयुक्त व्यवस्था गर्न तथा भिड नियन्त्रण गर्ने कार्यमा पर्याप्त सावधानी अपनाउने दिशातर्फ केन्द्रित हुन हामी नेपाल सरकारसँग माग गर्दछौँ ।

यसैगरी, विगतमा झैँ हामी फेरि पनि दोहो¥याउँछौँ निषेधको राजनीतिले देशलाई अगाडि बढाउँदैन । वार्ता र सम्वादका माध्यमबाट हरेक समस्या र असन्तुष्टिको समाधान खोज्न सकिन्छ । जिम्मेवार राजनीतिक दल र तिनको नेतृत्वले यसतर्फ तुरुन्त पहलकदमी अगाडि बढाउन् भनी माग गर्दै घटनाको छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गर्छौँ ।

प्रतिक्रिया दिनुहोस्