अपहरण गर्न खोज्ने चारजना पक्राउ



विदुर, २४ फागुन । दुईपिपल–७ महादेवखर्क घर भएर दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

निर्माणाधीन घरका लागि महादेवखर्कबाट दुईवटा मिनीट्रकमा काठ लिएर आउँदै गर्दा सोमबार बिहान चेपिनेबाट अपहरण गरी रु १५ लाख फिरौती माग्ने प्रयास गरेका दुईपिपलका सन्तबहादुर तामाङ, कृष्णराज श्रेष्ठ, मकवानपुर टिस्टुङका वाङ लामा र सूर्यबहादुर स्याङताङलाई नियन्त्रणमा लिइएको नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहराले जानकारी दिनुभयो ।

बिहान १ बजेको समयमा दुईवटा मिनीट्रकमा राखेर सल्ला र सालको काठ लिएर कोल्पुटार आउँदै गर्दा तीनवटा मोटरसाइकलमा चेपिने भन्ने स्थानमा सडकमा बसेका चारजनाले आफूहरुलाई राष्ट्रिय अनुसन्धान ब्युरोको एसपीले पठाएका प्रहरी भन्दै रु १५ लाख माग गर्दै अपहरणको प्रयास गरेको प्रहरी प्रमुख बोहराले बताउनुभयो ।

“अपहरणकारीले रु १५ लाख मागेको र रकम दिन नसक्ने बताएपछि अज्ञात स्थलतर्फ लैजाँदै गर्दा दाहाललाई स्थानीयवासीले प्रतिकार गरी मुक्त गरेका छन्,” प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहराले भन्नुभयो, “अपहरण गर्न खोजेको अभियोगमा पक्राउ परेका चारजनालाई अपहरण तथा शरीर बन्धक शीर्षकमा नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही सुरु गरेका छौँ ।”

घटनामा दाहालले ओसारपसार गरेको काठ समेत अवैध रहेको र दुईवटा काठ तस्करबीचको विवादले घटना भएको हुनसक्ने उहाँको अनुमान रहेको छ ।

दुईपिपल गाविसका विभिन्न स्थानमा रहेका सामुदायिक जङ्गलबाट अवैध काठ तस्कर मौलाउँदै गएपनि नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्