फोन ट्याप आरोप प्रकरण एफबीआई प्रमुख कोमीद्वारा ट्रम्पको आरोप अस्वीकार



वासिङटन, (एजेन्सी)
अमेरिकी संघीय गुप्तचर निकाय एफबीआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको फोन ट्यापिङ आरोपलाई अस्वीकार गरेका छन्।

राष्ट्रपतिले शनिबार ट्विटमा आफू राष्ट्रपति चुनावमा विजयी हुनु एक महिनाअगाडि ओबामा प्रशासनले उनको फोन ट्यापिङ गराएको आरोप लगाएका थिए।

कोमीले अमेरिकी न्याय विभागसँग गत वर्षको चुनाव अभियानका क्रममा बाराक ओबामाको तर्फबाट फोन ट्यापिङको आरोप अस्वीकार गर्न भनेका छन्। उनले उक्त आरोपको बयानले एफबीआईले कानुन तोडेको संकेत गर्ने भएकाले त्यसमा सुधार हुनुपर्ने बताए।

कोमीको उक्त खण्डनको विषयमा न्युयोर्क टाइम्सले समाचार सामग्री प्रकाशित गरेको थियो र त्यसलाई एनबीसीले त्यसको पुष्टि गरेको हो।

ओबामाविरुद्ध ट्रम्पको आरोपको विकसित घटनाक्रमलाई लिएर पछिल्लो समाचारमा न्याय विभागले अहिलेसम्म कुनै बयान जारी गरेको छैन। ट्रम्पले गत वर्ष उनको ट्रम्प टावरको टेलिफोन ट्याप गरिएको लगाएको आरोपका विषयमा कुनै प्रमाण पेस गरेको छैन।

ओबामाले आफ्नो कार्यकारी शक्तिको दुरुपयोग गरेको छ वा छैन जाँच हुनुपर्नेसमेत ट्रम्पले संसद्सँग आग्रह गरेका थिए। ट्रम्पका प्रेस सचिवले चुनावमा रुसी हस्तक्षेपको आरोपको पनि जाँच हुनुपर्ने उल्लेख गर्दै यो अत्यन्त गम्भीर आरोप भएको बताए।

राष्ट्रपति चुनावमा रुसी समर्थनलाई लिएर ट्रम्प जाँचको घेरामा छन्। यसबीच ट्रम्पले गत सप्ताहन्तमा फ्लोरिडास्थित आफ्नो रिसोर्ट निवासबाट उक्त आरोपसहितको ट्विट गरेका थिए।

उनले उक्त फोन ट्यापिङको तुलना निक्सको वाटरगेट काण्डसँग गरेका थिए। वाटरगेट अमेरिकामा सन् १९७२ को प्रमुख राजनीतिक काण्ड हो। वाटरगेटका कारण राष्ट्रपति रिचर्ड निक्सनले पद छोड्नुपरेको थियो।

ट्रम्पको उक्त सनसनीपूर्ण दाबीपछि अमेरिकाका दुवै प्रमुख पार्टी रिपब्लिकन तथा डेमोक्र्याटले विस्तृत जानकारी मागेका छन्। फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले आइतबर यस मामिलामा राष्ट्रपतिको आरोपको सत्यताका विषयमा ह्वाइट हाउसले जवाफ दिनुपर्ने बताएका थिए।

मार्को रुबियो राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको राष्ट्रपतीय उम्मेदवार चयन चरण प्राइमरीमा ट्रम्पका कडा प्रतिद्वन्द्वी रहेका थिए। उनी ट्रम्प नीतिका कट्टर आलोचक हुन्। तर, उनी आफ्नै गृहराज्यमा ट्रम्पभन्दा पछि परेपछि उनले उक्त दौड परित्याग गरेका थिए।

यसअघि बाराक ओबामाका प्रवक्ता केविन लुइसले भनेका थिए– ‘न त ओबामाले न त ह्वाइट हाउसको कुनै अधिकारीले कुनै अमेरिकी नागरिकको जासुसीका लागि आदेश दिएका थिए। उनले डोनाल्ड ट्रम्पको आरोप गलत भएको बताए।

प्रतिक्रिया दिनुहोस्