विप्लवको चन्दाले सचिवहरू त्रासमा



मोतीराम तिमल्सिना, काभ्रे
नेकपा कम्युनिस्ट पार्टी माओवादी विप्लव समूहका नाममा जिल्लाका अधिकांश सचिवहरूलाई चन्दाको पत्र र फोनबाट दिएको धम्कीका कारण अधिकांश सचिवहरू त्रासमा परेका छन्। सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेला दिइएको धम्कीले सचिवहरूले असुरक्षाको महसुससमेत गरेका छन्।

विप्लव समूहका नाममा जिल्लाका ठूलाठूला विद्यालय, कलेज र गाउँ विकास समितिमा सचिवहरूलाई चन्दा आतंक मच्चाइएको छ। आठौं महाधिवेशनको सहयोगार्थका नाममा उठाइएको चन्दा जबरजस्ती रूपमा असुल गरिएको छ। महाधिवेशन सकिएको झन्डै महिना पुग्न लाग्दा समेत पहिला नै भनिसकेकाले रकम चाहियो भन्दै आतंक मच्चाइएको हो। गाउँ विकास समितिका सचिवहरूलाई तोकेरै ५० हजारसम्म चन्दा मागिएको छ। टेलिफोनमार्फत् मागिएको चन्दा अधिकांश गाविसका सचिवहरूले बार्गेनिङमा बुझाइसकेका छन्। विप्लव माओवादी नेता प्रकाश लामा र शिक्षक नेताका नामबाट चन्दा माग गरिएपछि सचिवहरू आतंकित भएका हुन्। धम्कीपूर्ण भाषामा चन्दा अभियान शुरू गरेको विप्लव माओवादीका कार्यकर्ताहरूले चन्दा नदिए जे पनि हुन सक्ने भन्दै जबरजस्ती गरेका छन्। पटकपटक फोनमा चन्दा माग गरेपछि सचिवहरूले रेकर्ड लगेर सुरक्षा निकायमा बुझाई कडा कारबाहीको माग गरेका छन्।

‘५० हजार एउटा सचिवले कहाँबाट दिन सक्नु ?’ –नाम नबताउने सर्तमा एक सचिवले भने। गाउँ परिषद् सम्पन्न भइसकेको र चालू वर्षका लागि योजनाहरू कार्यान्वयन भइरहेका बेला मागिएको चन्दा कुन शीषर्कबाट उपलब्ध गराउने ? सचिवहरू अन्योलमा परेका छन्। अझ सचिवहरूले पैसा दिन्न सक्दैनौं कहाँबाट दिने भनेपछि जे पनि हुन सक्ने भन्दै दिइएको धम्कीले आतंक मच्चिएको छ।

केही सचिवहरूले ताकेता धेरै भएपछि १ हजार ५ सयदेखि २० हजारसम्म रकम आफ्नै तलबबाट मिलाउने गरी विप्लव माओवादीका कार्यकर्तालाई बुझाएका छन्। केहीले अटेर आएका छन्। फागुन महिना सचिवहरूले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने महिना हो। जिल्लाका केही दुर्गम गाविस छन्। जहाँ बैंक पनि छैन्। अहिलेसम्म बैंकमार्फत् रकम भुक्तानी गर्ने भनिए पनि शुरू गर्न सकिएको छैन। लाखौं रकमको बोरा बोकेर गाउँ जानु पर्दा लुटिने हो कि भन्ने डरमा पर्न थालेका छन्।

सचिवहरूले चन्दा माग्न गरिएको धम्कीको अडियो रेकर्ड बुझाएपछि त्यसकै आधारमा कारबाही गरिदिए सामाजिक सुरक्षा भत्ताको रकम लिएर सहजै गाउँ जान सक्ने आशय व्यक्त गरेका छन्। गाउँ विकास समितिका सचिवहरूको संगठन गाविस सचिव हक हित केन्द्रका अध्यक्ष विश्वनाथ दाहालले सचिवहरूलाई विप्लव माओवादीका कार्यकर्ताले चन्दाका नाममा धम्की दिइरहेको बताए। केही सचिवहरूले मौखिक गुनासो गरिसक्नुभएको छ। ‘हामीले संस्थागत रूपमै चन्दा दिन नसक्ने बताएका छौं, कानुन विपरीत कसैले धम्की दिन्छ भने कारकाही हुनुपर्छ’ –दाहालले भने। उता जिल्लाका प्रमुख कलेज तथा निजी विद्यालयहरूमा एक⁄एक लाख रुपियाँ चन्दा माग्दै विप्लव माओवादीले पत्र पठाएको छ। चन्दा नदिने कलेज तथा विद्यालयका गाडीहरू सडकमा गुड्ने भन्दै धम्की दिन थालिएको छ। ‘माओवादी कार्यकर्तालाई त्यति धेरै रकम दिन विद्यालयहरूले कहाँ कोसँग कसरी लुटेका छन् र ? चन्दा भने जति दिनुपर्ने’ –एक विद्यालय सञ्चालकले भने।

प्रतिक्रिया दिनुहोस्