दुई विद्यालयलाई ३२ लाख सहयोग



सुर्खेत, (नेस)
सुर्खेतमा क्रियाशील कोपिला भ्याली सेवा समाजले दुईवटा विद्यालयको भौतिक संरचना निर्माण गर्न ३२ लाख हस्तान्तरण गरेको छ। वीरेन्द्रनगरमा सोमबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा उक्त परिणामको चेक हस्तान्तरण गरिएको छ।

२०७० सालमा सुर्खेतमा गएको बाढीले ठूलो मात्रामा क्षति पुर्याएको र शैक्षिक संस्थाहरूसमेत पालमुनि सञ्चालन गर्नुपरेको सन्दर्भमा सुर्खेतको वीरेन्द्रनगर–१५ स्थित कोपिला माध्यमिक विद्यालयलाई २ कोठे पक्की भूकम्प प्रतिरोधी भवन बनाउन ३० लाख हस्तान्तरण गरिएको हो। समाजका सञ्चालक समितिका अध्यक्षटोप बहादुर मल्लका अनुसार समाजले अनुगमन समिति बनाएको, जिल्ला शिक्षा कार्यालयका प्राविधिकहरूको डिजाइनअनुसार नै उक्त भवनको ३० लाख लागत लाग्ने देखिएकोले आफूहरूले सो रकम सहयोग गरेको बताए। उनका अनुसार पहिरोमा परी ध्वस्त भएको लेख पराजुल–३ स्थित निमाविलाई फर्निचर बनाउन भन्दै २ लाख हस्तान्तरण गरिएको छ।

बाढीबाट क्षतविक्षत बनेको मध्यपश्चिमको राजधानी वीरेन्द्रनगर–१५ स्थित कोपिला माविका विव्यस अध्यक्ष रवीन्द्रजंग शाहीले राज्यको नजर आफूमाथि नपरेको भन्दै कोपिला भ्याली सेवा समाजले गरेको सहयोगको उच्च मूल्याकंन गरेको जानकारी दिए। शाहीले प्राविधिकको डिजाइनअनुसारै भवन निर्माण गर्ने प्रतिबद्वता समेत व्यक्त गरे।

यता जनज्योति निमावि लेखपराजुलमा कक्षा १ देखि ८ सम्मका लागि ४ ओटा कोठा मात्रै उपलब्ध देखिएका छन्। २०७० सालमा पहिरो आएको र उक्त पहिरोले सबै विद्यालयलाई आहारा बनाएको, तत्पश्चात १ वर्ष छिन्चुस्थित माविमा विद्यार्थी राखेर अध्यापन गराएको विद्यालयका सअ पूर्णबहादुर शाहीले जानकारी दिए।

उनले १ वर्ष पालमै राखेर अध्यापन गरिरहे पनि अहिले भने आफूहरूसँग ४ ओटा कोठा मात्रै रहेको र थप ५ कोठाको तत्काल आवश्यकता रहेको जनाए। ‘बल्लतल्ल राज्यले ४ कोठे भवन दियो, अब त्यो भवन बनिसकेपश्चात समाजले प्रदान गरेको २ लाखबाट फर्निचर बनाउँछौं’ –उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्