कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारीको अन्त्य : प्रधानमन्त्री



काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताउनुभएको छ ।

प्रधानमन्त्रीले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सम्मान गर्न आज बिहान बालुवाटार पुगेको राष्ट्रिय पशुपालक दुग्ध कृषक समाजको प्रतिनिधिमण्डलसँग उहाँले कृषि क्षेत्रको महत्वलाई भुल्न नहुने बताउनुभएको हो ।

कृषि क्षेत्र देशको मेरुदण्ड भए पनि राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रको प्रवद्र्धन र विकासमा सरकारले विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा कृषक समाजले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकता दिएको र राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गरेको थियो ।

कृषक समाजका अध्यक्ष आनन्दप्रसाद न्यूरेले प्रधानमन्त्रीको कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा राम्रो प्रोत्साहन भएको तथा सरकारले पहिलोपटक राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको बताउनुभयो ।

समाजले सहुलियत कृषक कर्जाको व्यवस्था गर्न, पशु बीमा कार्यक्रमलाई किसानको सहभागितासहित व्यवस्थित गर्न, राष्ट्रिय किसान आयोगमा वास्तविक किसानको प्रतिनिधित्व गराउन माग गरेको समाजका केन्द्रीय सदस्य लेखनाथ अर्यालले जानकारी दिनुभयो ।

समाजले चितवनमा धुलो दूध कारखाना स्थापना गर्न, सबै जिल्लामा पशु प्रयोगशाला स्थापना गर्न र कृषिसँग सम्बन्धित ढुवानीका साधनमा भन्सार छुटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्