७० प्रतिशत मजदुर कृषि क्षेत्रमा



नेपाल समाचारपत्र
हेटौंडा
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र उपाध्यायले सरकारले कृषि क्षेत्रका मजदुरको ज्याला निर्धारण गर्न नसक्नु गम्भीर विषय भएको बताउनु भएको छ।

नेपालमा काम गर्ने समग्र मजदुरमध्ये ७० प्रतिशत मजदुर कृषि क्षेत्रको हुँदासमेत सरकारले कृषि क्षेत्रका मजदुरलाई बेवास्ता गरेको उहाँले बताउनुभयो। उहाँले सरकारलाई तत्काल कृषि क्षेत्रका मजदुरको ज्याला निर्धारण गर्न आग्रह गर्नुभयो।
संघकोन मकवानपुरको हेटौंडामा भएको अधिवेशनमा अध्यक्ष उपाध्ययले मजदुरलाई पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। जीवनभर मजदुरी गर्नेको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताउँदै उहाँले श्रमको मूल्यांकन गर्न सुझाव दिनुभयो।

पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाली कृषि क्षेत्रमा ठूलो असर परेको र यसले साना किसान तथा कृषि मजदुरलाई ठूलो नोक्सान पुगेको उहाँको भनाइ छ। संघका मकवानपुर अध्यक्ष शंकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट प्रदेश नम्बर ३ आर्थिक संयोजक अर्जुनप्रसाद ढुंगेल, प्रदेश सदस्य गीता कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

संघको फापुन अध्यक्षमा पुनः न्यौपाने चयन भएका छन्। अधिवेशनले न्यौपानेको अध्यक्षतामा १० सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। कमिटी उपाध्यक्षमा कृष्ण वाइबा, सचिवमा मन्दिरा देवकोटा, सहसचिवमा सरिता सिग्देललाई चयन गरिएको छ। समिति सदस्यमा सावित्री न्यौपाने, कृष्ण लामिछाने, मिनप्रसाद दाहाल, शान्ति महर्जन, राधिका सापकोटा तथा सुनकाजी बलामी छन्।

प्रतिक्रिया दिनुहोस्