हेलिकोप्टर दुर्घटना तीनको मृत्यु



टोक्यो,(एजेनसी)
नौ जना सरकारी प्राविधिक कर्मचारी सवार रहेका एउटा सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको क्यादो समाचार निकायले जनाएको छ । यस दुर्घटनामा परी तीनजना व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीन जनाको भने मृत्यु भएको सरकारी सुत्रले जनाएको छ । अन्य दुई जना भने अचेत अवस्थामा रहेका स्थानीय प्रहरी अधिकारीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार आइतबार अपराह्न ३ बजेर १० मिनेट जाँदा प्रहरीले दुर्घटनाग्रस्त सो विमान फेला परेको जनाएको छ । सोही हेलिकोप्टरमा सवार अन्य चार जना व्यक्तिको पनि प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ ।
स्थानीय सरकारको स्वामित्वमा रहेको यो हेलिकोप्टर नागानोको पहाडी इलाकामा दुर्घटना भएको र उद्धारकार्यमा कठिनाई भइरहेको स्थानीय पत्रकारहरुले बताएका छन् । त्यसमा एक जना चालक, सात जना अग्नी नियन्त्रक र एक जना मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी चढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्