तिला–१ मा सर्वसाधारणलाई एक⁄एक लाखको शेयर



ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई तिला जलविद्युत आयोजना–१ मा कम्तिमा एक–एक लाखको शेयर दिलाउने निर्णयसँगै कर्णालीका स्थानीयबासी उत्साहित भएका छन्। कर्णालीमा ठूलो जलविद्युत् आयोजना बन्न लागेको र कर्णाली स्थानीयलाई शेयर दिने सरकारी निर्णयले यहाँका स्थानीयबासी उत्साहित भएका हुन्।

तिला आयोजना बनाउन झण्डै ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। ऊर्जा मन्त्रालयको निर्णयले स्थानीयबासी उत्साहित हुनुका साथै जलविद्युत् आयोजना चाँडो बनाउन स्थानीयबासीको माग रहेको तिला कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक एससी पावर कम्पनीका फिल्ड प्राविधिक दर्बबहादुर शाहीले बताउनुभयो। ‘ऊर्जा मन्त्रालयको निर्णयले स्थानीयबासी निकै उत्साहित भएका छन्। उहाँले भन्नुभयो–‘ जलविद्युत् आयोजनाको काम छिटो अगाडि बढाउन स्थानीयले माग समेत गरेका छन्।

कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका सबै परिवारलाई एक⁄एक लाख रुपियाँको शेयर दिने निर्णय कर्णालीबासीका लागि निकै उत्साहपूर्ण रहेको कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सूर्यबहालुर शाहीले बताउनुभयो। ‘तिला जलविद्युत्मा स्थानीयको लागनी बन्न लागेको छ। उहाँले भन्नुभयो–‘लामो समयदेखिको हाम्रो मागलाई सरकारले सम्बोधन गरेको छ।तिला–१ मा ४ सय ४० मेगावाटको विद्युत् उत्पादन हुने अनुमान गरिएको एससी पावर कम्पनीका फिल्ड प्राविधिक दर्बबहादुर शाहीले बताउनुभयो। ‘कम्पनीले कालिकोटमा २ वटा आयोजना निर्माण गर्ने अनुमति पाएको छ। उहाँले भन्नुभयो–‘सरकारी निर्णयले अब चाँडै काम शुरु हुनेछ।

कर्णालीका अति गरिब घर परिवारलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराएर शेयरमा राख्ने सरकारका निर्णयले यहाँको गरिबीमा न्यूनीकरण आउने नेकपा एमालेका कालिकोटका अध्यक्ष नगेन्द्र शाहीले बताउनुभयो। ‘कर्णालीको जलविद्युत्, पर्यटन, जडिबुटीमार्फत देशको मुहार फेर्न सक्नेछ। उहाँले भन्नुभयो–‘आयोजनामा कर्णाली बिपन्न परिवारलाई ऋण दिएर शेयर लगानी गर्न पाएमा गरिबीमा न्यूनीकरण समेत हुनेछ। तिला–१ र २ को पीपीए सम्झौता भइसकेको र पीडीए सम्झौता हुन केही ढिलाई भएका कारणले काम अगाडि बढ्न नसकेको एसी पावर कम्पनीले जनाएको छ।

यसैबीच दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ। आयोजनाको कुल ४ दशमलब ६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो।

साँघुरिएको दुई सय ३२ मिटर सुरुङ खोल्न सन् २०१६ सेप्टेम्बर २८ देखि शुरु भएको र शनिबार सम्पन्न भएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिनुभयो।

सन् २०१७ को डिसेम्बरसम्म परीक्षण गरी विद्युत् सञ्चालन गरिने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुत गतिमा भइरहेको पनि उहाँले जानकारी दिनुभयो। आयोजनाको एक सय ३२ किलोभोल्टको प्रसारणलाइन दार्चुलादेखि अत्तरियासम्म निर्माण भइसकेको छ।

कालीबहादुर मल्ल, कालिकोट

प्रतिक्रिया दिनुहोस्