९ औँ जिल्ला बाल भेला सुरु



बिष्णुप्रसाद भण्डारी,अछाम
९ औँ जिल्ला बाल भेला आज देखि मंगलसेनमा सुरु भएको छ । जिल्ला बाल सञ्जाल अछामका अध्यक्ष अस्मिता अधिकारीको अध्यक्षतामा भएको भेलाको उद्घाटन समारोहका प्रमुख अतिथी जिल्ला न्यायधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पंगेनीले बालबालिकाका सवालमा सबै सरोकारवाला गम्भिर बन्नु पर्नेमा जोड दिनुभयो । बाल अधिकार हनन् भयो भनेर मात्र नपुग्ने भन्दै उहाँले बाल अधिकार हनन्का मुद्दा अदालत सम्म पनि पुग्नु पर्ने बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट र स्थानीय बिकास अधिकारी तयोयानाराण सुवेदी रहनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि टक्कर ताम्राकार, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा माओबादी केन्द्रका लक्ष्मण परियार, राप्रपाका दिपेन्द्र खत्री, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष झंकर बहादुर शाही, नेकपा माओबादी क्रान्तिकारीका जिल्ला सचिव खडकसिंह भण्डारी, नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक पवित्रा तिमिल्सेना, अन्तरपार्टी महिला सञ्जाल अछामका सदस्य बिन्दु रावल, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष रामबहादुर कुँवर लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांशले बालबालिकाका मुद्दा अझै पनि समोचित ढंगले सम्बोधन हुन नसकेको गनुसो गरेका थिए । लोकतन्त्र स्थापीत भैसक्दा समेत अझै बालबालिकाहरु आफ्नो अधिकार पाउनबाट बञ्चित हुनु पर्ने अवस्था बिद्यमान रहेको भन्दै सहभागी सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला बाल सञ्जालका सचिव पुजा रावलले गर्नुभएको थियो भने स्वागत मन्तव्य बाल सञ्जालका जिल्ला सदस्य ईश्वर ढुंगानाले राख्नुभएको थियो ।

जिल्ला बाल कल्याण समिति अछामको आयोजना तथा जिल्ला स्थित बिभिन्न साझेदार निकायसंगको सहकार्यमा बाल भेला भएको हो । भेलाको बन्दसत्रले नयाँ नेतृत्व समेत चयन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्