२५ मिटरका नाउँमा सरकारी आतंक



हेटौंडा,(नेस)÷मकवानपुरका सांसद्हरुले २५ मिटरको नाउँमा जनताको घरमा डोजर चलाएर राज्यले अपराध गरेको बताएका छन् । सडक विस्तारका नाउँमा निजी सम्पत्तिमा डोजर चलाउनु अपराध भएको भन्दै सरकार यस विषयमा जवाफदेही हुनुपर्ने उनीहरुको भनाइ छ ।

मकवानपुर उद्योग वाणिज्य संघको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) समारोहमा मकवानपुरकी सांसद् तथा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले राज्यले गरेको अत्याचारको डटेर सामान गर्ने बताइन् । राज्यले न्याय गर्नुपर्ने भन्दै उनले अन्यायमा पारिएकालाई उचित क्षतिपूर्ति र राहत दिन आग्रह गरिन् । उनले राज्य गैरजिम्मेवार बन्दा हेटौंडाका हजारौं नागरिक पीडामा परेको बताइन् ।

कार्यक्रममा मकवानपुर क्षेत्र नं ३ का सांसद् अनन्त पौडेलले राज्यले हेटौंडाका जनतालाई दमन गरेको बताए । जग्गाधनी प्रमाणपत्र भएकाको घरमा डोजर चलाउन राज्यलाई अधिकार नभएको भन्दै सरकारले अपराध गरेको उनको भनाइ थियो । सडक बन्नु पहिले बसेको बस्तीमा जग्गा अधिग्रहणका नाउँमा सरकारले अत्याचार गरेको भन्दै तत्काल यस्ता क्रियाकलाप रोक्न उनले सरकारलाई चेतावनी दिए ।

सांसद् गणेश थापाले जनतालाई अन्याय हुने गर सरकारले कुनैपनि काम गर्न नहुने बताए । जनताको निजी सम्पत्तिमा डोजर चलाउने कसैलाई अधिकार नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्